पीडित महिलाको पक्षमा मधुरानी
वीरेन्द्रनगर–१२, सुर्खेतकी मधुरानी ढकाल सानैदेखि दयालु स्वभावकी थिइन् । धेरै नबोल्ने एकान्तप्रेमी भए पनि उनलाई नेतृत्वको हुटहुटीले सताउँथ्यो । समाजका कतिपय पारिवारिक घटनालाई उनले नियाल्ने गर्थिन् । बुवा नामराज पाण्डे र आमा विष्णुदेवी पाण्डेको कोखबाट वि.सं. २०२७ सालमा जन्मिएकी उनी घरकी साइली छोरी हुन् । एसएलसीसम्मको शिक्षा भारतमा गरेकी उनले प्रविणता प्रमाण–पत्र तह, स्नातक र स्नातकोत्तर तहको शिक्षा भने सुर्खेत क्याम्पस शिक्षा, सुर्खेतबाट हासिल गरिन् ।
वि.सं. २०४६ सालमा विवाह गरेकी ढकाल विवाहको एक दशक पार गरेपछि मात्रै सामाजिक क्षेत्रमा सानो समूहको नेतृत्वबाट प्रवेश गरेकी हुन् । समाज जागरण केन्द्र (स्याक) नेपालले गठन गरेको एक समूहको अध्यक्षबाट नेतृत्व गरेकी उनी सिमान्तकृत महिलाहरूका लागि महिला संस्था (वाम)को संस्थापक हुन् । जीवनमा सफल हुनको लागि पहिलो संघर्ष आफैबाट गर्नुपर्ने बताउने ढकालले हाम्रा सहकर्मी सीता वलीसँग आफ्नो पेसागत जीवनको संघर्ष यसरी साटिन्ः
मेरो बुवाआमा भारतमा बस्न थाल्नु भएको ५० वर्ष भन्दा पनि बढि भयो होला । मेरो बाल्यकाल भारतमै बित्यो । एस.एल.सी.सम्मको शिक्षा पनि मैले भारतमै लिएँ । हामी सात भाइ–बहिनीमा म साइली छोरी हुँ । बुवाले भारतमा जागीर गर्नुहुन्थ्यो । उहाँहरू परम्परावादी समाजमा हुर्किनु भएपनि त्यो बेलामा छोरीहरूलाई एस.एल.सी. सम्मको शिक्षा दिनु कम चुनौतिपूर्ण अवस्था थिएन । एस.एल.सी. सम्म पढेपछि मेरो दिदीलाई भने बुवाले पढाउनु भएन तर मेरो पढाई राम्रो भएकोले बुवाले मलाई थप पढाउन राजी हुनुभयो ।
वि.सं. २०४४ सालमा एस.एल.सी. पास गरेकी मलाई २०४६ सालमा विवाह गरी नेपाल पठाईयो । वीरेन्द्रनगर–१२ , सुर्खेतमा मेरो विवाह गोपिकृष्ण ढकालसँग गरिदिनु भयो । उहाँ शिक्षक, त्यो बेलामा गतिलो इष्ट पाएपछि छोरीको विवाह गरिदिनुपर्छ भन्ने सोच बुवाआमामा थियो । विवाहपछि म करिब दश वर्ष छोराछोरी जन्माउन र हुर्काउनमा लागें । वि.सं. २०५२ सालमा स्याक नेपालले एउटा समूह गठन गरिदिएको थियो वीरेन्द्रनगर, १२ मा । त्यसको म अध्यक्ष भए । विस्तारै आफूलाई घरबाट बाहिर निकाल्न थालें । विधिवत रूपमा वि.सं. २०५४ सालमा सिमान्तकृत महिलाहरूका लागि महिला संस्था (वाम) गठन गरी म पुर्ण रूममा सामाजिक अभियानमा लागेकी हुँ । सुरुमा मेरो परिवारबाट खासै सहयोग थिएन । तर विस्तारै परिवारको मन जित्दै गएपछि भने ठुलो सहयोग प्राप्त गरेँ ।
मैले गाउँघरमा विभिन्न अभियानहरू सञ्चालन गर्ने क्रममा घरेलु मदिरा नियन्त्रण, घरेलु झै–झगडा मिलाउने काम गर्थें । कतिपय महिला दिदीबहिनीहरूलाई साथ लिएर राती छोराछारी सुताएर मदिरा नियन्त्रणमा हिडिन्थ्यो । त्यो बेलामा धेरै पुरूषहरूले ‘पोथि बासेको ठिक हुन्न’ भनी ज्यानै मार्नेसम्मको धम्की दिन्थे । तर म कत्तिनि विचलित भईनँ । निरन्तर अभियानमा लागिरहेँ ।
मैले महिला दिदीबहिनीहरूलाई अभियानमा लगाउनकै लागि उहाँहरूलाई सहज हुने कामहरू पनि गर्थें । सुर्खेत विमानस्थल पहिले खुल्ला थियो । तारबार नभकोले उडान भर्न समेत समस्या हुन्थ्यो । महिला दिदीबहिनीहरूलाई घाँस काट्न समेत टाढा जानुपर्ने भएकोले मैले विमानस्थललाई रोक्का गराउने सोच बनाएकी थिएँ । विस्तारै त्यसलाई रोक्नुपर्छ भन्ने कुरा मैले उठाएपछि धेरैले मलाई प्रहरीले नसकेको काम यसले के गर्ली जस्तो गर्नुभयो । तर मैले त्यसलाई सफल बनाएँ । दिदीबहिनीहरू त्यसबाट पनि प्रभावित हुनुभयो ।
विस्तारै गाउँघरका सानातिना झै–झगडा मिलाउने क्रम बढेपछि मेरो घरमा अदालतजस्तै बन्थ्यो । त्यसबाट पनि म अब सामाजिक अभियानमै लाग्छु र महिलाहरूकै क्षेत्रमा काम गर्छु भन्ने मलाई प्रेरणा मिलेको हो । केही प्रेरणा स्याक नेपालबाट समेत मैले पाएकी हुँ । वाम संस्थालाई स्थापना गर्ने कुरामा स्याक नेपालले समेत सहयोग पु¥याएको हो ।
जबसम्म मनदेखि नै अभियानमा मान्छे लाग्छ उसलाई कुनैपनि चुनौतीले अगाडि बढ्नमा रोक्दैन भन्ने मेरो जीवन भोगाई छ । सुर्खेतमा एकल महिलाहरूका लागि रातो कपडा अभियान मैले नै सुरु गरेकी हुँ । त्यो बेलामा म तीन महिलासम्म डिप्रेसनको सिकार भएकी थिएँ । धेरैले अझै भनौ एकल महिला समूहकै साथीहरूले समेत मधुरानी बहुलाई भन्थे तर पनि मैलै धेरै बाधा अड्चनका बाबजुद अभियान सफल पारें । विवाह गर्ने बेलामा जम्मा एस.एल.सी. पास गरेकी मलाई आफ्नो शिक्षाको लागि समेत आफै संघर्ष गर्नु प¥र्यो । आफैले कमाएको पैसाले पढाई खर्च गरेर शिक्षा क्याम्पस सुर्खेतबाट नेपालीमा स्नातकोत्तर गरेकी छु । सामाजिक अभियान सुरु गरेपछि मैले पढाइलाई निरन्तरता दिएकी हुँ । हाल कानुन समेत अध्ययन गर्दैछु ।
पढ्नलाई उमेरले छेक्दैन भन्ने कुरालाई मैले मनन गर्दछु । हाल म वामको निर्देशक पदमा रहेर काम गर्दै आएकी छु । महिलाहरूलाई सामाजिक क्षेत्रमा काम गर्दा त थुपै्र चुनौती छन् ति चुनौतीहरूलाई चिर्दै अगाडि बढ्नु पर्छ । कुनै कार्यक्रममा जाँदा छोराछोरी कँहा छोड्नेदेखि खानाकोसम्म महिलालाई चिन्ता हुन्छ । तरपनि व्यवहार मिलाउँदै अगाडि बढ्नुपर्छ । काम गर्ने क्रममा जती चुनौती आएपनि मैले कहिल्यै हार खाईन किनभने म मनदेखि नै महिला हिंसा विरूद्धको अभियानमा लागेको थिएँ । कसैको आग्रहमा म लागेकी भए बीचैमा अभियान तुहिन्थ्यो ।
अझै मेरो परिकल्पनाहरू छन् । टुहुरा सडक बालबालिका तथा वृद्धहरू जसको कोही आफन्त छैनन् उनीहरूलाई व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता छ । सरकारको यतातिर ध्यान गए हुन्थ्यो जस्तो लाग्छ । सामाजिक अभियन्ता आर्थिक रूपमा पनि समृद्ध हुनु जरुरी छ । पीडितको मनको चोट सँग–सँगै बाहिरी चोट निको पार्नलाई समेत पैसाको आवश्यकता पर्छ । कतिपटक मैले हिंसा पीडित दिदीबहिनीहरूलाई ट्याक्सी भाडादेखि मुद्धा लेख्ने पैसासम्म दिएकी छु । आश्वासन मात्रै दिएर कसैको समस्या समाधान हुन्छ जस्तो मलाई लाग्दैन । परेको बेलामा सहयोग गर्न सके पीडितको समस्या समाधान हुन्छ ।
गाउँघरमा कती दिदीबहिनीहरू श्रीमान् तथा घरपरिवारको पीडाबाट मृत्युको बाटो रोज्न खोजेको अवस्थमा सहि बाटो देखाएकी छु । धेरैलाई हिंसाबाट समेत बचाएकी छु । मेरो पेशाबाट म यसकारण खुशी छु की दिदीबहिनीहरूले तपाईको कारण आज मेरो जीवन छ भन्नुहुन्छ ।
काम गर्ने क्रममा जती उतातचढाव आएपनि मैले अभियान छोडिनँ । अब झन् छोड्ने कुरै भएन । आज पनि महिलालाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छैन । तरपनि आफुभित्रै प्रतिवद्धता भए जुनसुकै क्षेत्रमा टिक्न सकिन्छ । मेरो पारिवारीक अवस्था मध्यम खालको छ । श्रीमान् शिक्षक, तीन जना छोराछोरी छन् । मलाई दिदीबहिनीको हिंसामुक्त अवस्था देख्दा खुशी लाग्छ । मेरो पेशालाई म मनैदेपख सम्मान गर्छु । आज यही पेशाबाट कसैको लागि जीवनदाता, कसैको लागि अभियान्ता, कसैको लागि मनोविमर्शकर्ता बनेको छु । साँच्चै मनैदेखि मैले यही पेशामा लागेर पनि होला मलाई अरूपेशाप्रति त्यति रूचि जागेन ।
सीता वली ।