पेट्रोलियम पदार्थ अन्वेषण

धमाधम सर्भे हुँदै

दैलेख : चिनियाँ प्राविधिक टोलीले पेट्रोलियम पदार्थको अन्वेषणका लागि दैलेखका चार स्थानमा सर्भे सुरु गरेको छ । नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार, चिनियाँ प्राविधिक टोलीले अन्वेषण गरिरहेको छ । अहिले दैलेख सदरमुकामको चारैतर्फका अग्ला र होचा स्थानमा सर्भे सुरु गरेको खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत गणेशनाथ त्रिपाठीले बताए । विभिन्न भू–भागमा ड्रिलिङ र माटो परीक्षण पनि चलिरहेको जनाएको छ । दैलेखका तीन हजारभन्दा बढी स्थानमा ड्रिलिङ गरिने भएको छ । अहिले चिनियाँ प्राविधिक टोलीले दैनिक १५ स्थानमा काम गरिरहेको जनाएको छ । खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत त्रिपाठीका अनुसार, भू–सतहभन्दा तल पेट्रोलियम पदार्थ भएकाले अहिले ‘साइटिफिक सर्भे’का चलिरहेको छ । ‘चारवटा विषयगत अध्ययनको काम प्रारम्भ गरिएको छ ।

‘जमिनमुनीको संरचना पत्ता लगाउने तयारी पूरा भएको छ’, उनले भने, ‘जियोेलोजिकल सर्भे दुई सातादेखि चलिरहेको छ । भौतिक सर्भे र जियोकेमिकल सर्भे पनि भइरहेको छ ।’ अन्वेषणका लागि आवश्यक पर्ने सामानसँगै चीनको अन्वेषण टोली र अन्य कामदारका लागि क्याम्प पनि निर्माण गरिएको छ । डुङ्गेश्वर गाउँपालिका–१ चुप्रा बजारनजिक क्याम्प निर्माण गरिएको छ । अन्वेषणका लागि सामान ल्याउन क्रम जारी रहेको छ । त्यस्तै दुल्लूमा पनि क्याम्प निर्माण गरिएको जनाएको छ । पेट्रोलियम पदार्थ अन्वेषणको काम संवेदनशील भएकाले खोज र अनुसन्धानका विभिन्न प्रक्रिया सुरक्षितरूपमा गर्नुपर्ने भएकाले क्याम्प निर्माण गरिएको जनाएको छ । अन्वेषणमा संलग्न चिनियाँ टोलीलाई सघाउने ८७ कामदार पनि खटिएका छन् । जसमा ७० जना दैलेखकै र १७ जना भोजपुरका रहेका छन् । जमिनभित्र पाँच किलोमिटरसम्म ड्रिलिङ गर्नका लागि ५० जना कामदारलाई क्याम्पमै राखेर तालिमसमेत दिइएको छ । उनीहरूलाई मेसिन चलाउनेलगायतका प्रशिक्षण दिइएको हो ।

प्रकाशित मितिः   २५ कार्तिक २०७६, सोमबार ०९:१८