नीति निर्माणमा युवाको चासो

सुर्खेत : नेत्रहिन संघ सुर्खेतकी सोमना खड्काले सरकारले पनि कुनै पनि नीति निर्माण गर्नुभन्दा पहिले युवाहरूसँग समन्वय गर्नुपर्नेे बताइन् । नेपाल युवा संस्था (आयोन) नेपालद्वारा आयोजित कर्णाली प्रदेशले निर्माण गरेको प्रदेशमा स्वास्थ्य सेवा प्रवाह सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७६ माथिको समीक्षा कार्यक्रममा उनले वास्तविक आवश्यकताको विषयमा युवाहरूले मात्रै बोल्न सक्ने बताइन् । विद्यालयका बालबालिकाहरूलाई समेत समेटेर कानुन निर्माण गर्नुपर्नेमा उनको जोड थियो ।

‘विद्यालय समयमा विद्यालय हाताभित्रै बालबालिकाहरूलाई स्वास्थ्य सेवा प्रदान गर्नुपर्छ’ उनले भनिन् ‘कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले निर्माण गरेको विधेयकले विद्यालय समयका बालबालिकाहरूलाई समेटेको छैन । जसका कारण उपचारको लागि विद्यालय छोड्नुपर्ने बाध्यता छ ।’ त्यस्तै अर्की युवा विनिता बोगटीले समेत युवाहरूलाई सहभागी नै नगराई कानुन निर्माण गर्दा दिगो विकासको परिकल्पना गर्न नसकिने बताइन् । उनले आजको आवश्यकता युवाहरूले जानकारीमा राख्ने समेत बताइन् । त्यस्तै वीरेन्द्रनगर–९ का टम चौधरीले विधेयकले समेटेको एक वडा–एक स्वास्थ्य संस्थाले नागरिकलाई असहज हुने बताए । ‘धेरै वडाहरू विकट छन्’ उनले भने ‘एक वडा–एक स्वास्थ्य संस्था अवधारणाले सबै नागरिकलाई पायक नपर्न सक्छ ।’ उनले एक वडाको साटो आवश्यकता अनुसार शब्द राख्नुपर्ने बताए । कार्यक्रममा सहभागी अधिकांशहरूले नीति निर्माणमा युवाहरूलाई सहभागी गराउनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा बोल्दै गैसस महासंघ सुर्खेतका अध्यक्ष घनश्याम केसीले कर्णालीका अधिकांश स्वास्थ्य संस्थाहरू कार्यालय सहयोगीको भरमा भएकोले यस विषयमा सरकारले चासो राख्नुपर्ने बताए । त्यस्तै नागरिक अगुवा पीताम्बर ढकालले कर्णालीको स्वास्थ्य सेवा प्रवाह सम्बन्धी विधेयक उत्कृष्ट बने पनि युवाहरूलाई समेट्न नसकेको बताए । कर्णालीको सबै जिल्लाहरूमा पर्याप्त औषधि नपुग्ने समस्या भएकोले यसलाई समेत कानुनले समेट्नुपर्ने बताए । कर्णाली प्रदेशसभा सामाजिक विकास समितिका अध्यक्ष राजु नेपालीले विधेयकको दफावार छलफलमा युवाहरूका कुरालाई समेट्ने गरी छलफल अगाडि बढाउने बताइन् । उनले युवाहरूलाई हरेक क्षेत्रमा सहभागिता गराउने कुरामा आफूहरू लाग्ने बताइन् । कार्यक्रममा बोल्दै नेपाल युवा संस्था आयोनका महासचिव निरज बागले अझै पनि नीति निर्माणमा राज्यको उच्च पदस्थले युवालाई सम्झन नसकेको बताए ।

प्रकाशित मितिः   २५ कार्तिक २०७६, सोमबार ०९:१५