कालापानीमा बढ्यो भारतीय सैन्य गतिविधि

दार्चुला : भारतले सार्वजनिक गरेको नक्सामा कालापानी र लिपुलेकलाई पारेको भन्दै नेपालमा विरोध भइरहँदा भारतले कालापानी क्षेत्रमा सैनिक गतिविधि बढाएको छ । सुरुमा नेपालबाट पाकिस्तानी आतंकारीको घुसपैठको शंका गरेर सीमा क्षेत्रमा सैनिक गतिविधि बढाएको भारतले पछिल्लो पटक सैनिक संख्या थप्ने, हतियार थप्ने र हवाइ गतिविधि बढाएको हो ।

भारतीय सुरक्षा स्रोतका अनुसार सीमावर्ती बजार धार्चुलामा पृतनास्तरको सैनिक क्याम्प राख्ने तयारी गरिएको छ । त्यसका लागि कुमाउ स्काउट राखिएको ठाउँमा क्याम्पहरू थप्ने काम भएको छ भने कुमाउको प्याराबटालियनमा पनि सैन्य संख्या बढाइएको छ । त्यसैगरी भारतीय सेनाले पिथौरागढको ठूलीगाढबाट धार्चुलास्थित कुमाउ स्काउट बटालियनमा आर्टिलरी हतियार थपेको छ भने यो क्षेत्र (धार्चुलादेखि कालापानीसम्म) दैनिक गस्तीसमेत बढाएको छ ।

भारतीय प्रहरीले नेपाली भूमिमै बन्दोबस्ती र हातहतियारसहित सेना खटाएको छ । भारतीय सेनाले यो क्षेत्रमा हवाइ गस्ती पनि बढाएको छ । अन्य कुरा भारतीय सञ्चार माध्यमले पुष्टि गरेको नभए पनि पिथौरागढको नैनीसैनी विमानस्थलबाट १५ किलोमिटर हवाइ रेन्जमा भारतीय वायु सेनाका लडाकु विमानले उडान गरिरहेको भारतीय पत्रिका हिन्दुस्तान दैनिकले अक्टुबर २३ (कार्तिक ६ गते) नै समाचार प्रकाशित गरेको थियो । त्यसयता वायु सेनाका लडाकु विमानले यो क्षेत्रमा गस्ती नगरेको भए पनि नियमित सैनिक हेलिकोप्टरको उडान भने रोकिएको छैन । पछिल्लो समय कार्तिक ५ गते भारतीय सेनाका लेफ्टिनेन्ट जरनल आइएस घुमानले कालापानी क्षेत्रको भ्रमणसमेत गरेका थिए । सदरमुकाममा सीमित नेपाली सुरक्षा सीमावर्ती क्षेत्रमा भारतले सैनिक गतिविधि बढाइ रहँदा नेपालतिर भने उल्लेखनीय सुरक्षा गतिविधि हुन सकेको छैन । करिब चार हजार मिटरको उचाइमा तिंकरको छियालेकमा रहेको प्रहरी चौकी कार्तिक ५ गते तीन हजार मिटरको उचाइमा रहेको छाङ्गरुमा सारिएको भने सो क्षेत्रमा १४ जना प्रहरी मात्रै राखिएको छ । सञ्चार अभाव हुँदा प्रहरीसँग पनि नियमित सम्पर्कसमेत हुने गरेको छैन । सञ्चार भएको बेला चौकीसँग सम्पर्क हुने गरेको र भारतीय थप सैनिक गतिविधि नदेखिएको जिल्ला प्रहरी कार्यालय निमित्त प्रमुख सुरेन्द्रप्रसाद जोशी बताउँछन् ।

प्रकाशित मितिः   २५ कार्तिक २०७६, सोमबार ०९:१२