ब्राउनसुगरसहित दुईजना पक्राउ
बिसौनी संवाददाता
सुर्खेत, १९ चैत ।
अवैध लागूऔषध ब्राउनसुगरसहित सुर्खेतमा दुईजना पक्राउ परेका छन् । बिहीवार राती ब्राउनसुगरसहित पक्राउ परेका उनीहरूलाई प्रहरीले शुक्रवार सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर–७ का शिव बस्नेत र निरोज बस्नेत लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका हुन् ।
नेपालगन्जबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेका उनीहरूलाई सुब्बाकुनामा रहेको प्रहरी चेकपोष्टमा पक्राउ गरिएको हो । सुर्खेतका प्रहरी प्रवक्ता डीएसपी बहादुरजंग मल्लको नेतृत्वमा खटिएको प्रहरीको टोलीले उनीहरूको साथबाट जिल्लामा अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाणमा ब्राउनसुगरसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकलमा सवार उनीहरूलाई आशङ्काको आधारमा चेकजाँच गरिएको र सोहीक्रममा उनीहरूको साथमा ब्राउनसुगर भेटिएको प्रहरीको भनाइ छ ।
डीएसपी मल्लका अनुसार पक्राउ परेका बस्नेतद्वयको साथबाट अहिलेसम्मकै ठूलो परिमाणमा लागूऔषध ब्राउनसुगर बरामद भएको छ । उनीहरूको साथबाट ५० पोका अर्थात् ३८ ग्राम ९ सय ४० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको प्रहरीेले जानकारी दिएको छ । यस्तै ९ थान नाइट्रोसन नामक लागूऔषधको ट्याब्लेट समेत बरामद गरिएको मल्लले बताए । उनीहरूबाट बरामद भएको ब्राउनसुगरको बजार मूल्य साढे सात लाखसम्म हुने बताइएको छ । डीएसपी मल्लका अनुसार मोटरसाइकलमा रहेको पेट्रोल ट्याङ्कीमुनी लुकाएर ल्याउँदै गरेको अवस्थामा
उक्त लागूऔषध फेला परेको हो । भारतबाट नेपालगन्ज हुँदै उनीहरूले ब्राउनसुगर सुर्खेतसम्म ल्याएको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालयले पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको जनाएको छ । पछिल्लो समय जिल्लामा लागूऔषधको अवैध ओसारपसार तथा प्रयोग बढ्दै गएको छ । लागूऔषधको प्रयोग बढेको पाइएपछि आफूहरूले विशेष अभियान सुरु गरेको डीएसपी मल्लको भनाइ छ । उनका अनुसार जिल्लामा अहिले लागूऔषध ओसार्ने गिरोह सक्रिय भएको छ । तस्करहरूले भारतबाट सुर्खेत हुँदै यसक्षेत्रका अन्य पहाडी जिल्लाहरूमा समेत आगूऔषधको ओसारपसार गर्ने गरेको प्रहरीको दाबी छ ।
साझा बिसौनी संवाददाता ।