सुर्खेतका सांसदको २० लाख : शौचालयदेखि मन्दिरसम्म

बिसौनी संवाददाता
सुर्खेत, २० चैत ।
निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत सुर्खेतका पाँच जना सांसदले यस वर्ष भौतिक पूर्वाधार निर्माणका योजनालाई प्राथमिकता दिएका छन् । चालु आर्थिक वर्ष २०७२÷०७३ का लागि छनौट गरिएको योजनामध्ये अधिकांश भौतिक पूर्वाधार निर्माणका छन् । सांसदहरूले छनौट गरेका योजना शौचालय निर्माणदेखि मन्दिर निर्माणसम्मका छन् ।
क्षेत्र नंं. १ बाट निर्वाचित सांसद पूर्णबहादुर खड्काले भने निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गतको रकम एकमुष्ट छात्रवृत्ति कल्याण कोषमा जम्मा गर्ने गरेका छन् । उनले हरेक वर्ष नै निर्वाचन विकास कार्यक्रमका लागि आएको बजेट निर्वाचन क्षेत्र नं. १ मा गरिब छात्रवृति कल्याण योजनामा हाल्ने गरेका 
छन् । उक्त योजनाबाट प्रत्येक वर्ष क्षेत्र नं. १ का विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गर्ने गरिएको छ । खड्काबाहेक प्रत्यक्षतर्फका २ र समानुपातिकतर्फका ३ सांसदले भने विकास निर्माणका योजनाहरूमा नै बजेट खर्च गर्ने गरेको पाइएको छ । 
क्षेत्र नं. २ का सांसद हृदयराम थानीको नाममा निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत यस वर्ष आएको २० लाखमध्ये सबैभन्दा बढी मन्दिरमा छुट्याइएको छ । वीरेन्द्रनगरका ३ वटा वडा र काफलकोट गाविसमा मन्दिर निर्माण तथा मर्मतका लागि तीन लाख ५० हजार विनियोजन गरिएको पाइएको छ । त्यसैगरी तुसारेखोला खानेपानी आयोजना रजेनाका लागि २ लाख, सङ्गीत सामग्री तथा फर्निचर खरिदका लागि एक लाख, गर्पन ४ मा सडक निर्माणका लागि एक लाख ५० हजार, सामुदायिक उच्च मावि करैखोलाका लागि एक लाख ३० हजार, विभिन्न संघसंस्थाको फर्निचर खरिदका लागि एक लाख २० हजार, साटाखानीमा रहेको महिला सहकारीको सामग्री खरिदका लागि ५० हजार, विभिन्न विद्यालय फर्निचर खरिदका लागि चार लाख २५ हजार, नवजीवन बालसंरक्षण केन्द्रका लागि एक लाख तथा विभिन्न संस्थामा खेलकुद सामग्री खरिदका लागि ९५ हजार छुट्याइएको छ । २० लाखमध्येबाट ३० हजार रूपैयाँ जिल्ला विकास समितिले कट्टी 
गर्ने गरेको छ भने ५० हजार 
रूपैयाँ सांसदको प्रतिनिधिका लागि प्रशासनिक खर्च भनेर छुट्याइएको छ ।
क्षेत्र नं. ३ का सांसद तप्तबहादुर विष्टले भने सबैभन्दा बढी औषधि तथा पाइप खरिदमा छुट्याएका छन् । यसका लागि पाँच लाख २० हजार रूपैयाँ छुट्याएको जिल्ला विकास समिति सुर्खेतले जानकारी दिएको 
छ । त्यसैगरी सडक निर्माण, तथा महिला सशक्तीकरण तालिमका लागि पनि उनले बजेट छुट्याएका छन् । विभिन्न सडक निर्माणतर्फ चार लाख छुट्याइएको छ । जसमा हरीडिलभूमि जाने सडक निर्माणका लागि दुई लाख, वीरेन्द्रनगर–१९ को चौधरी टोलदेखि रास्कोटीको घरसम्म जाने सडकका लागि एक लाख र धमिरेखोला–सल्लेरी घारेटो बाटो निर्माणका लागि एक लाख विनियोजन गरिएको छ । त्यसैगरी हरियो हिरा सहकारीको शौचालय निर्माणका लागि एक लाख, गढीमा रेडक्रसको भवन निर्माणका लागि एक लाख, लेखगाउँमा सिँचाइ कुलो निर्माणका लागि एक लाख, पोखरीकाँडामा देउती मन्दिर निर्माणका लागि एक लाख, बावियाचौरमा विद्यालय तारबारका लागि दुई लाख, महिला सशक्तीकरण तालिमका लागि दुई लाख र महिला नेतृत्व विकास तालिमका लागि एक लाख छुट्याइएको छ । 
समानुपातिकतर्फका सांसदहरूले पनि पूर्वाधार निर्माणमा नै जोड दिएका छन् । नेपाली कांग्रेसबाट समानुपातिक सांसद बनेका खड्गबहादुर बस्यालले प्राप्त २० लाख सबै क्षेत्र नं. ३ का लागि छुट्याएका छन् । लगाममा इचला सडक निर्माण, नेपाल प्राथमिक विद्यालय खरापु बेतान, उच्च माध्यमिक विद्यालय तोस्रा बिजौरा, गुटुमा चौतारो निर्माण, घाटगाउँमा प्रतिक्षालय निर्माण, तातापानीमा मन्दिर निर्माण, कुनाथरीमा महिला भवन निर्माण, सालकोटमा वीपी स्मृति भवन निर्माण, विद्यापुरमा सिँचाइ कुलो निर्माण र छाप्रेमा प्रतिक्षालय निर्माण र खानेपानी पाइप खरिदका लागि एक÷एक लाखका दरले बजेट छुट्याइएको छ । त्यसैगरी तरंगामा केउडी कुटा सडक निर्माणका लागि तीन लाख तथा विभिन्न स्वास्थ्य चौकीहरूमा औषधि खरिदका लागि भनेर ६२ हजार रूपैयाँ छुट्याएको पाइएको छ । समानुपातिकबाट सभासद् भए पनि निर्वाचन क्षेत्र 
नं. ३ मा घर भएका उनले सोही निर्वाचन क्षेत्रमा मात्र बजेट खर्च गरेका छन् ।
यसैगरी कांग्रेसकै समानुपातिक सांसद लालबहादुर घलेले भने तीन वटै क्षेत्रलाई समेटेर योजना छनौट गरेका छन् । उनले सबैभन्दा बढी बजेट पोखरीकाँडास्थित बिउरेनीदेखि बुटी जोड्ने सडकका लागि पाँच लाख रूपैयाँ छुट्याएका छन् भने खानीखोलाको नाउलाचौर खलडाँडा पिपलचौतारी सडक निर्माणका लागि दुई लाख ५० हजार बजेट छुट्याएको पाइएको छ । त्यसैगरी डाँडाखालीमा रहेको शिवमन्दिर जिर्णोद्धार, काप्रीचौरमा सालघारी कुलो मर्मत, आग्रीगाउँमा औलझ्यामा मन्दिर मर्मतका लागि एक लाख पचास हजारको दरले रकम प्रस्ताव गरिएको छ । खानीखोलाको मन्दिर मर्मतका लागि र सुभाघाट गंगामाला नगरपालिकामा सामुदायिक स्वास्थ्यचौकी मर्मतका लागि एक लाख १५ हजारको दरले बजेट छुट्याइएको छ । बाँकी बजेटबाट रजेनामा मन्दिर जिर्णोद्वार, धारापानीमा खानेपानी योजना मर्मत, आग्रीगाउँमा खानेपानी आयोजना निर्माण र राकममा सिँचाइ योजना निर्माणका लागि एक लाखको दरले छुट्याइएको छ । बजेडीचौरमा सडक मर्मतका लागि ९० हजार छुट्याइएको जिल्ला विकास समिति योजना शाखाका चन्द्र कँडेलले जानकारी दिए । 
एकीकृत नेकपा माओवादीबाट समानुपातिक सांसद बनेकी सीता नेपालीले पनि जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा बजेट छुट्याएकी छिन् । नेपालीको निर्वाचन क्षेत्र विकास 
कार्यक्रम अन्तर्गत आएको २० लाखबाट सबैभन्दा बढी विकास तालिम कार्यक्रमको नाममा वीरेन्द्रनगर–३ मा रहेको उज्यालो युवा क्लबलाई दिइएको छ । जिल्ला विकास समितिले उपलब्ध गराएको विवरणअनुसार उक्त क्लबलाई २ लाख ९० हजार दिइएको छ । त्यसैगरी विभिन्न विद्यालयमा फर्निचर खरिदका लागि दुई लाख, बावियाचौरमा युवा सशक्तीकरण कार्यक्रमका लागि सामुदायिक अध्ययन केन्द्रलाई दुई लाख ४० हजार, छापे्रमा मालिका माविका लागि फर्निचर खरिद गर्न दुई लाख ५० हजार, उच्च मावि करैखोलाका लागि एक लाख ५० हजार, बिजौरामा खानेपानी पाइप खरिदका लागि एक लाख ६० हजार छुट्याइएको छ । त्यस्तै घाटगाउँमा दलित जाती र राजी जाती प्रवद्र्धनका लागि भनेर एक लाख ५० हजार, दशरथपुरमा सिँचाइ मोटर खरिदका लागि एक लाख ५० हजार तथा पाम्कामा खानेपानी मर्मत र मटेलामा बाटो निर्माणका लागि एक÷एक लाख छुट्याइएको हो । गढीमा सडक निर्माणका लागि ७० हजार र काप्रीचौरमा बाख्रापालन समूहलाई खोर निर्माणका लागि ५० हजार समेत छुट्याइएको पाइएको छ । 
प्रकाशित मितिः   २० चैत्र २०७२, शनिबार ०६:३६