बुलबुले विस्तार

कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल हो, बुलबुले । ताल र सँगसँगै उद्यान यसको प्रमुख विशेषता हुन् । जसको अवलोकनका लागि जिल्लाभित्र तथा जिल्लाबाहिरका पर्यटकहरु बुलबुले पुग्ने गर्दछन् । यसले राष्ट्रिय रुपमै ख्याती कमाएको छ । तर प्रदेश राजधानी वीरेन्द्रनगरमा अवस्थित बुलबुले जति व्यवस्थित हुनुपर्ने हो त्यति हुन भने सकेको छैन । आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गरेर धेरैभन्दा धेरै पर्यटकहरु भिœयाउन सकिने प्रशस्त सम्भावना हुँदा–हुँदै पनि बुलबुले त्यसबाट वञ्चित छ ।

बुलबुलेको विकास र विस्तारका लागि योजना नै नबनेका भने होइनन् । तर बनाइएका योजना कार्यान्वयन हुन सकेका छैनन् । बनाइएको योजना अनुसार काम अघि बढेको भए बुलबुले आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास भइसक्थ्यो । तीन वर्षअघि मात्रै विभिन्न २२ वटा योजना समावेश गरेर तत्कालिन सुर्खेत उपत्यका नगर विकास समितिले बुलबुले विकासको गुरुयोजना बनाएको थियो । जसमा निकै राम्रा योजना समावेश गरिएका छन् । ठूलो पार्किङ क्षेत्र, पक्की बाटो सँग–सँगै रिङ्गरोड । छुट्टै स्वीमिङ पुल, सुविधा सम्पन्न रेष्टुरेन्ट, ग्रीन हाउस, विश्राम कक्ष, चिन्ड्रेन्स पार्क, महिला र पुरुषलाई छुट्टाछुट्टै बाथ स्पोर्ट, सोलार बत्ति र अहिलेको भन्दा करिब तीन गुण ठूलो ताल । तर ति योजना हालसम्म पनि कार्यान्वयनमा आउन सकेका छैनन् । सरोकारवालाहरुको वेवास्ताको कारण नगर विकास समितीले निर्माण गरेको उक्त गुरुयोजना कार्यान्वयनमा ढिलाई भएको छ ।

सम्बन्धित सरोकारवालाहरुले गम्भीरतापूर्वक लिने हो भने बुलबुले विकासमा समस्या छैन । बुलबुले किन पनि बढी सम्भावना बोकेको पर्यटकीय स्थल हो भने यो वीरेन्द्रनगरभित्रै अवस्थित छ । अन्य कामविशेषले सुर्खेत आउने जोकोही पनि बुलबुले सहजै पुग्न सक्दछन् । जसबाट आर्थिक स्रोत बढ्छ । यसले कर्णाली प्रदेशकै समग्र पर्यटन विकासमा सघाउ पुर्याउँछ । उसो त बुलबुले रहेको वीरेन्द्रनगर नगरपालिकादेखि कर्णाली प्रदेश सरकारले समेत पर्यटन विकासलाई उच्च प्राथमिकतामा राखेका छन् । तर नगर र प्रदेश दुवैको नजिकै रहेको बुलबुले भने वेवास्ताको सिकार बनिरहेको छ ।

बुलबुलेको विकास गर्न आर्थिक अभाव भएको पनि होइन । जस्तो कि गत आर्थिक वर्षमा बुलबुले ताल विस्तारका लागि भनेर छुट्याइएको पाँच करोड रुपैयाँ खर्च नै हुन सकेन । यो वर्ष पनि तीन करोड रुपैयाँ छुट्याइएको छ । तर अहिलेसम्म खर्च हुन सकेको छैन । यही अवस्था रहे यो वर्ष पनि खर्च नभई फिर्ता हुनेछ । एकातर्फ यसरी भएको बजेट खर्च नहुने र अर्कोतर्फ बुलबुलेको विकास पनि नहुने अवस्थाको अन्त्य गर्न जरुरी छ ।

प्रकाशित मितिः   २४ कार्तिक २०७६, आईतवार १२:२७