एकादशीः निर्जला र हरिबोधिनी
विषय प्रवेश
एकादशी भगवान श्रीहरी अथवा भगवान विष्णुको सर्वप्रिय तिथी मानिन्छ । यस दिन भगवान विष्णु अथवा भगवान नारायणको पूजा आराधना गरिन्छ । हिन्दू सम्प्रदायमा एकादशीलाई भगवान विष्णुको उपासना गर्ने पर्वको रूपामा नै लिइन्छ । एक वर्षमा सामान्य वर्षमा २४ वटा र अधिक वर्षमा थप दुई वटा एकादशी रहेका हुन्छन् । एकादशीको महिमालाई नेपाल, भारत लगायत हिन्दूहरूको वर्चस्व रहेको ठाँउमा व्रत र उपासना गरी व्यवहारमा उतारेको पाइन्छ । ती मध्ये मैले यस लेखमा निर्जला र हरिबोधिनी एकादशीको प्रसङगलाई विशेष रूपमा प्रस्तुत गर्ने प्रयास गरेको छु ।
एकादशीकी रानी निर्जला एकादशी र हरिबोधिनी
एक वर्षमा विभिन्न नामका एकादशीहरू रहेका हुन्छन् । बरूथिनी एकादशी, शयनी एकादशी, पद्मा एकादशी, पापांकुशा एकादशी, प्रबोधिनी एकादशी, उत्पत्तिनामक एकादशी, मोहिनी एकादशी, पुत्रदा एकादशी, जया एकादशी, विजया एकादशी, कमला एकादशी, अपरा एकादशी, निर्जला एकादशी, हरिबोधिनी एकादशी, योगीनी एकादशी, देवसयनी एकादशी, कामिका एकादशी, अजा एकादशी, इन्दिरा एकादशी, रमा एकादशी, मोक्षदा एकादशी लगायतका करीब २४ वटा एकादशीहरू रहेका हुन्छन् । यी एकादशीहरू शुक्ल र कृष्णपक्षमा पर्ने गर्दछन् । दुबै पक्षका एकादशीहरूको पाक्षिक रूपामा समान महत्व रहेको मानिन्छ ।
ती एकादशीहरूमध्ये निर्जला एकादशीको छुट्टै र रोचक महत्व रहेको छ । यसलाई जलविनाको एकादशी पनि भनिन्छ । कतै कतै यस एकादशीलाई पाण्डव एकादशी पनि भनेको पाइन्छ । धार्मिक विधानमा उल्लेख भएअनुसार नै जल समेत त्यागेर एक थोपा पनि पानी नपिएर गरिने वर्त र उपासना भएको हुनाले यसको नाम नै निर्जला एकादशी भएको भन्ने परम्परागत भनाई रहेको छ । त्यसैले पनि यसलाई निर्जल र सुख्खा एकादशी मानिन्छ । निर्जला एकादशीलाई भीमसेनी एकादशी वा हरिसयनी एकादशी पनि भनिन्छ । यस एकादशीको महिमा पाण्डव र महाभारतसँग पनि जोडिएको मानिन्छ । द्वापरयुगमा पञ्चपाण्डव र द्रौपतीले एकादशीको व्रत बस्ने गर्दथे । तर भीम भने खानाका सौखिन र भोकै बस्न नसक्ने हुनाले उनले यो व्रत लिएका थिएनन् । पछि भीमलाई सबैले व्रत लिइरहने तर आफू भोकप्यास खटाउन नसकी त्यसमा समावेश हुन नसक्नुबारे हीनताबोध भयो । भीमले एक दिन गुरू व्यासकोमा गएर आफ्नो समस्या सुनाए । पछि गुरूले भीमलाई वर्षभरीका २४ वटै एकादशीको सट्टा विधिपूर्वक निर्जला एकादशीको व्रत लिन भने । निर्जला एकादशीको दिन एक दिन जल पनि ग्रहण नगरेर व्रत लिएपछि वर्षभरी पाइने फल यही एकादशीबाट पाइने कुरा व्यक्त गरेपछि भीमले पनि गुरु व्यासको आज्ञा बमोजिम त्यही गरे । उनले आफ्नो सम्पूर्ण भोजन आशक्तिलाई काबुमा राख्न खोजे । निर्जला एकादशीको दिन व्रत बसे । तर भोलिपल्ट विहान भोक र प्यासले अर्धचेतन अवस्थामा पुगे । पछि भीमलाई गंगाको पवित्र पानी र तुलसीपात दिएर उठाइयो । एकादशीको प्रारम्भ कसरी भयो भन्ने सन्दर्भमा एउटा धार्मिक प्रसंग रहेको छ । मुर नाम गरेको राक्षसले भगवान नारायण सुतिरहेका बेला आक्रमण गर्न खोज्दा भगवान नारायणकै शरिरबाट एक एकादशी नाम गरेकी कन्या उत्पत्ति भइ त्यो राक्षसलाई पछारेको प्रसंग छ । पछि भगवान नारायणले ती कन्याको नामबाट उपासना र भक्तिपछि शक्ति आर्जन गर्न सकिने वर दिएको मानिन्छ । ती एकादशी नाम गरेकी कन्यालाई नै लोकले मानोस् भन्ने नारायणको वरबाट नै यसको प्रारम्भ भएको मान्न सकिन्छ ।
यदि एक वर्षमा पर्ने अरू एकादशीको उपवास गर्न असमर्थ व्यक्तिले पनि कमसेकम यस एकादशीको दिन अन्नको त्याग गरेमा पनि फल मिल्ने विश्वास गरिन्छ । अन्य एकादशीको व्रत गर्न असमर्थ हुनेहरूको लागि पनि यो एकादशीमा व्रत गरेमा पूर्ण फलदायी हुनुको साथै आँटेसोचेको पुग्ने मानिएको छ । निर्जला एकादशीको दिन सूर्य उदाएपछि र द्वादशीको दिन सूर्य उदाउनु भन्दा अघि नै स्नान गरी भगवान विष्णुको पूजा गरिन्छ । निर्जला एकादशीको अघिल्लो दिन सन्ध्या वन्दनम् गर्ने चलन रहन्छ । यसो गर्दा पवित्र जल लिएर हत्केलामा राखी पवित्रताका साथ आरती र वन्दना गरिन्छ । आफूले भोजन नगर्ने तर अरुलाई यस दिन भोजन गराउनाले फल प्राप्त हुने कुरा विश्वासमा रहेको छ । निर्जला एकादशीको दिन सनातन धर्मालम्बीहरूले घरघरमा रहेको तुलसीको मठलाई सरसफाई गरी पूराना विरुवाहरू उखेली नयाँ दल राख्ने प्रचलन पनि छ । निर्जला एकादशीको दिन उपासना गरी भगवान विष्णुको पूजा गरेमा आफ्ना जीवनका कष्टबाट मोक्ष प्राप्त गर्ने कुरा शास्त्रहरूमा पनि उल्लेख रहेका वाणीहरू सुनिन्छ । विष्णुको शालीग्रामको स्वरूपलाई स्नान गराइन्छ । अभिषेक गराइन्छ । यसैगरी पञ्चामृत अर्पण पनि गरिन्छ । र शुद्ध कपडामा बेरेर राख्ने चलन रहेको छ ।
घर, आँगन र तुलसीको मठ वा चौका निर्माण गरी भगवान विष्णुको प्रतिमा स्थापना गरी पूजा गरिन्छ । निर्जला एकादशीका दिन गाई दान गरेमा पूण्य प्राप्त हुने विश्वास पनि रहेको छ । गाईका अतिरिक्त माटोको भाँडो, बाँसले बनाएको हाते पंखा, अन्न, बस्त्र, छाता, जुत्ता, फलफूल, चीनी, दक्षिणा अन्य चीज ब्राहमणलाई दान दिएर भोजन गराएमा आफ्ना कालकष्ट सबै हट्ने विश्वास गरिन्छ । यतिमात्र होइन, निर्जला एकादशीको दिन जलले भरेको कलस ब्राहमण, योगी, चेलीबेटी, भान्जा वा जुँवाइलाई दान गरेमा वर्ष भरिका अरू एकादशीमा कुनै प्रकारको दान नगरे पनि हुने धार्मिक विश्वास रहेको छ । यस एकादशीको व्रतले सबै प्रकारका पापबाट मुक्त हुने विश्वास पनि रहेको छ । यतिमात्र होइन बैकुण्ठ नै प्राप्त हुने कुरा उल्लेख रहेको छ ।
एकादशी व्रतसँगै तुलसीको महत्व
हिन्दूहरू तुलसी, पीपल, दूवो र शालिग्रामलाई भगवान विष्णुको प्रतीकको रूपमा मान्छन् । सबैभन्दा बढी अक्सिजन प्रदान गर्ने वनस्पती पिपललाई मानिन्छ भने तुलसीलाई रातादिन अक्सिजन दिइरहने वनस्पतीको रूपमा पनि लिइन्छ । तुलसीलाई एक बहुउपयोगी वनस्पती मानिन्छ । एकजना चिकित्सकको टेलिभिजन अन्तर्वातामा आधारित भनाईलाई आधार मान्ने हो भने यसमा १८ भन्दा बढी रोगको उपचार गराउन सक्ने क्षमता रहेको हुन्छ । यसको वातावरणीय महत्व पनि त्यत्तिकै रहेको छ । मुखमा दुर्गन्ध हुनेहरूले तुलसीको पात खाए दुर्गन्ध केही हदसम्म कम हुन्छ । यसको अरू कुनै साइड इफेक्ट पनि नहुने भनाई छ । यसै गरी चोट लागेर घाउ भएको व्यक्तिलाई पनि तुलसीको पातको फिट्किरीसँगको सेवनले घाउ छिटो निको हुन्छ भन्ने कुरा मैले एक स्वास्थ्य सम्बन्धि पुस्तकको अध्ययनबाट थाहा पाएको थिएँ । तुलसीको बिउ क्यान्सरको विरामीको लागि पनि लाभदायक नै मानिन्छ । यतिमात्र होइन, महिनावारीमा गडबडी भएको महिलाको लागि पनि तुलसीको बिउ र पातको सेवनले महिनावारी नियमित गराउन सहयोग पुग्ने भनिएको छ । रूँघाखोकी लागेको बेला मरिच, मिश्री र तुलसीको पात खाएमा यसबाट निको हुने भनिएको छ । भोक जगाउन, खाना पाचन गराउन र झाडा –वान्ता कम गराउन पनि यसको उपयोग गरिन्छ ।
एकादशीको महत्व
एकादशीलाई हरिदिवसको रूपमा पनि मनाउने गरिन्छ । वातावरणमा विष्णु तत्वको स्पन्दन बढी मात्रामा भएकोले पनि एकादशीको महिमा बढी भएको मानिन्छ । यसै गरी व्रत सम्पादन गर्न पनि सजिलो भएको हुनाले । नियमित एकादशी व्रत लिनेहरूले आफ्नो शरिर र चित्त दुवैलाई विश्राम दिन्छन् । दशै इन्द्रिय र तिनका स्वामी मनलाई आहार, निन्द्रा, भय, मैथुनका पाशविक वृत्तिभन्दा माथि उठाएर स्वयं आफ्ना बारेमा बिचार गर्न सक्छन् । धेरै यज्ञहोम तथा तिर्थाटनहरूभन्दा पनि एकादशीको व्रतले मोक्ष प्राप्त गर्न सकिन्छ भन्ने विश्वास रहेको छ । यसको व्रतले कार्यक्षमता बढ्छ, दत्तचित्त भएर काम गर्न सकिन्छ भन्ने मान्यता रहेको छ । मानसिक सामथ्र्य र शक्ति बढ्छ । आयु वृद्धि हुन्छ र आत्मिक उन्नतीमा शीघ्रता हुन्छ । एकादशीको महत्वलाई पद्मपुराणमा हजारौँ अश्वमेघ यज्ञ र सयकडौँ राजसूय यज्ञको महत्व एकादशी व्रतको सोह्रभागको एकभाग जति पनि हुदैन भनिएको छ । हरेक वर्तको शुभारम्भ र समापनको लागि संकल्प गर्ने विधान रहेको हुन्छ । तर एकादशी व्रत लिनको लागि संकल्प लिनुपर्दैन । यो वर्त जसले पनि विष्णुको भक्तिभावले जुनसुकै एकादशीमा पनि गर्न सक्ने हुन्छ । शुरूवात गरेपछि सांग्य गर्नैपर्छ भन्ने पनि छैन । त्यसैले पनि सबै गरीव, धनी सबैको साझा र सरल पर्वको रूपमा लिन सकिन्छ ।
उपसंहार
जेष्ठशुक्ल एकादशीमा पर्ने निर्जला एकादशी र कार्तीकमा पर्ने हरिबोधिनी एकादशीको आफ्नै रोचक धार्मिक महŒव रहेको छ । यसले मानव जातिलाई बढी भोग, विलास र उपभोगमुखी संस्कारबाट उम्कन प्रेरणा दिन सक्छ भन्ने मान्यता छ । अलि त्यागी बन्न सिकाउँछ भन्ने भनाइपनि छ । यति मात्र होइन, मानव र प्रकृतिबीचको सम्बन्ध सुमधुर बनाउन पनि सहयोग पुर्याँउछ नै । शालीग्राम, तुलसी, पीपल लगायतका बस्तु र बनस्पतिसँग साइनो गाँस्न अभिप्रेरित गराउँछ । भक्तिभाव जगाउँछ । नेपाली संस्कृति, संस्कार र मौलिकतालाई पनि प्रतिविम्बित गराउँछ । आध्यात्मिक चिन्तन गर्नेहरूको लागि पनि प्रेरणाको स्रोत बन्छ । दान र पूण्य तथा असहायलाई सहयोग गर्नुपर्छ भन्ने भावना जागृत गराएर लोभ र लालचबाट टाढा जान पनि सिकाउँछ भनिन्छ । शाकाहारी र फलफूलसँगको सामिप्यता बढाउँछ । निर्जला एकादशी सरह पापनासक वर्त अरू कुनै पनि मानिदैन । यसको महिमा बढेको देखिन्छ । श्रद्धाको भाव पनि बढाउन सहयोग पु¥याएको मानिन्छ । मोक्ष प्राप्तीको आधार मानिएको छ । यसलाई एक श्रद्धा र करुणाको रूपमा विकास गर्नु सार्थक हुन जान्छ ।
(बाँकी समय सन्दर्भ मिलाएर हरिबोधिनी एकादशीको विशेष व्याख्यासहित अर्को लेखमा पाठकले पढ्न पाउनुहुनेछ । लेखक अमरज्योति नमूना माध्यमिक विद्यालय नेवारेमा कार्यरत छन् ।)
प्रकाशित मितिः २४ कार्तिक २०७६, आईतवार १२:३१
ध्रुवकुमार अधिकारी ।