धनन्जयको १३औं साधारणसभा

सुर्खेत : धनन्जय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारणसभा शनिवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । संस्थाले आर्थिक वर्ष २०७४÷०७५ मा एक करोड ९४ लाख ५६ हजार रूपैयाँ बराबरको कारोवार गरेको छ । साथै आर्थिक वर्ष २०७५÷०७६ मा ५२ प्रतिशतले वृद्धि भइ दुई करोड ९५ लाख रूपैयाँ कारोवार गरेर एक करोड चार लाख बराबरको कारोवार भएको संस्थाका अध्यक्ष भलाराम पंगालीले जानकारी दिए । यस अवधिमा संस्थाले कुल १९ लाख ७० हजार रूपैयाँ आम्दानी गरेको र १७ लाख ५५ हजार ६ सय ७६ रूपैयाँ खर्च कटाएर एक लाख ८५ हजार आम्दानी गरेको उनले जनाए ।

हाल ४३ लाख ८५ हजार १ सय शेयर पूँजी रहेको संस्थाले युवा स्वरोजगार कार्यक्रम अन्तर्गत युवा तथा साना व्यवसायीहरूको व्यावसायिक क्षमता विकासका लागि माग अनुसारको तालिमको व्यवस्था गरिने जनाएको छ । शेयर सदस्यहरूलाई वित्तीय साक्षरता र सहकारी शिक्षा प्रदान गर्नका लागि कार्यक्षेत्रका सबै वडाहरूबाट समान सहभागिता हुने गरी सहकारी शिक्षा शिविर तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने पनि संस्थाले जनाएको छ । कार्यक्रममा नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका सञ्चालक एवम् बहुउद्देश्यीय सहकारी संघ सुर्खेतका अध्यक्ष चन्द्रप्रसाद थानीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ सुर्खेतका प्रतिनिधि कर्णबहादुर बुढा, सहकारी अधिकृत एवम् पूर्व लेखापरीक्षक फर्सकुमार तिवारी, सहकारी सञ्चालक समितिका पदाधिकारी तथा शेयर सदस्यहरूको सहभागिता रहेको थियो । साधारणसभाको अवसरमा सर्वाधिक बचत गर्ने, सर्वाधिक बाल बचत गर्ने, सर्वाधिक दैनिक बाल बचत गर्ने, सर्वाधिक शेयर खरिद गर्ने तथा सर्वाधिक ब्याज बुझाउने शेयर सदस्यहरूलाई सम्मान समेत गरिएको थियो ।