बुलबुले विस्तारमा ढिलाइ

'गत वर्ष पाँच करोड खर्च हुन सकेन, यो वर्ष तीन करोड विनियोजन'

सीता वली,
सुर्खेत :
ठूलो पार्किङ्ग क्षेत्र, पक्की बाटो सँगसँगै रिङ्गरोड । छुट्टै स्वीमिङ पुल, सुविधा सम्पन्न रेष्टुरेण्ट, ग्रीन हाउस, विश्राम कक्ष, चिन्ड्रेन्स पार्क, महिला र पुरुषलाई छुट्टाछुट्टै बाथ स्पोर्ट, सोलार बत्ती र अहिलेको भन्दा करिब तीन गुणा ठूलो ताल । बनाइएको योजना अनुसार काम अघि बढेको भए बुलबुले उद्यानमा हिजो–आज यस्तो दृष्य देख्न पाइने थियो । तर तीन वर्षअघि विभिन्न २२ वटा योजना समावेश गरेर बनाइएको बृहत् गुरुयोजना कार्यान्वयन नहुँदा बुलबुले उद्यान जस्ताको त्यस्तै छ ।

तत्कालीन उपत्यका नगर विकास समितिले आर्थिक वर्ष २०७३/०७४ मा बुलबुले उद्यानमा विभिन्न कामहरू गर्ने गरी गुरुयोजना निर्माण भएको थियो । तर ती योजना हालसम्म पनि कार्यान्वयनमा आउन सकेका छैनन् । सरोकारवालाहरूको बेवास्ताको कारण नगर विकास समितिले निर्माण गरेको उक्त गुरुयोजना कार्यान्वयनमा ढिलाइ भएको छ ।

सहरी विकास विभागको विभागीय टोलीले अनुगमनपछि बुलबुलेको गुरुयोजना निर्माणका लागि नगर विकास समिति सुर्खेतलाई निर्देशन दिएको थियो । सोही निर्देशन बमोजिम समितिले गुरुयोजना निर्माण गरेको हो । जसमा बुलबुले उद्यानमा रिङ्गरोड निर्माण गर्नेदेखि अहिलेको ताललाई करिब तीन गुणा विस्तार गर्नेसम्मका योजना थिए । ती योजना कार्यान्वयनका लागि ३१ करोड ६३ लाखको लागत अनुमान गरिएको थियो । समितिले योजना बनाए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । त्यतिबेला सहरी विकास विभागको योजना शाखामा उक्त गुरुयोजना पेश गर्ने र केही बजेट विनियोजन गर्ने शर्त थियो ।

हाल कार्यालय समायोजनको कारण स्थानीय तहको प्रमुख नगर विकास समितिको अध्यक्ष हुने व्यवस्था रहेको छ । तर स्थानीय तहमा नगर विकास समिति समायोजन भएपछि बुलबुले उद्यान गुरुयोजना विस्तारको काम अलपत्र परेको हो । बुलबुलेलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित विभिन्न २२ वटा योजना समावेश गरिएको तत्कालीन नगर विकास समितिका अध्यक्ष नारायण कोइरालाले जानकारी दिए । उनका अनुसार गुरुयोजना निर्माणमा आर्किटेक डिजाइन एसोसियट इमाडोल काठमाडौंले काम गरेको थियो । आफूहरूले त्यतिबेलै गुरुयोजना बनाउनुका साथै कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई समेत बुझाइसकिएको कोइरालाले जनाए । प्रारम्भिक परियोजना प्रतिवेदन निर्माण गरी टेण्डर प्रक्रियामा लैजान पठाएको भए पनि मन्त्रालयको बेवास्ताको कारण गुरुयोजनाभित्रका केही काम गर्न ढिलाइ भएको उनले बताए ।

मन्त्रालयले बुलबुले विस्तारका लागि आर्थिक वर्ष २०७५÷०७६ मा पाँच करोड रूपैयाँ विनियोजन गरेको थियो । त्यतिमात्र होइन काम अघि बढाउन टेण्डर समेत भइसकेको छ । तर काम भने अझै अघि बढेको छैन । मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायले भने अघिल्लो आर्थिक वर्षमा बुलबुलेको गुरुयोजना अन्तर्गतको एउटा योजना ताल विस्तार तथा मन्दिर क्षेत्रको विकासका लागि पाँच करोड रूपैयाँ बजेट विनियोजन गरेको भए पनि काम हुन नसकेकोले उक्त बजेटलाई क्रमागत योजनामा राखिएको जानकारी दिए । चालु आर्थिक वर्षमा बुलबुले ताल विस्तारको लागि मात्रै भनेर तीन करोड रूपैयाँ विनियोजन गरेको रोकायले बताए । यद्यपि उक्त बजेट खर्च गर्न अख्तियार भने नआएको जनाइएको छ । ‘बजेटको अख्तियारी नआइसकेको कारण काममा ढिलाइ भएको हो’ उनले भने ‘अबको केही हप्तामा बजेटको अख्तियारी आए काम अगाडि बढाउँछौं ।’

एक आर्थिक वर्षको लागि छुट्याएको बजेट खर्च नभएपछि क्रमागतमा राखिएको उनले बताए । रोकायको अनुसार हाल मन्त्रालयले ताल विस्तारलाई मात्रै प्राथमिकतामा दिएको भए पनि रकम आवश्यक परेको खण्डमा रकमान्तर गर्ने योजना मन्त्रालयले गराएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले कार्यालय समायोजनका कारण काम रोकिएको भए पनि छिट्टै सुरु गर्ने आश्वासन दिएका छन् ।

बुलबले ताल विस्तारका लागि जिम्मा पाएको ठेकेदार कम्पनी अमर/मजदुर जेभी सुर्खेतका नवराज सापकोटाले भने काम अघि बढाउन आफूहरू तयार भए पनि कार्यालयकै कारण ढिलाइ भएको बताए । उनले वन निर्देशनालयले प्राविधिकको कारण देखाई काममा ढिलाइ गराएको उनको भनाइ छ । उनले कार्यालयले काम लगाएको खण्डमा जुनसुकै बेला पनि काम गर्न तयार भएको बताएका छन् ।

प्रकाशित मितिः   २३ कार्तिक २०७६, शनिबार ०८:१६