सीमा मिचिएको विरोधमा कोणसभा

सुर्खेत : भारतले नेपालको भू–भाग आफ्नो नक्साभित्र समावेश गरेको विरोधमा राष्ट्रिय जनमोर्चा सुर्खेतले कोणसभा गरेको छ । शुक्रवार वीरेन्द्रचोकमा विरोधसभा गरिएको जनमोर्चा सुर्खेतका कोषाध्यक्ष विष्णु शर्माले जानकारी दिए । कोणसभालाई जनमोर्चाका केन्द्रीय सदस्य रत्नविक्रम प्यासी, कर्णाली प्रदेश उपाध्यक्ष कमलविक्रम शाही, कोषाध्यक्ष धनप्रसाद देवकोटा, जिल्ला सचिव लालबहादुर नेपाली, अखिल छैठौंका केन्द्रीय सदस्य हरि बुढा लगायतले सम्बोधन गरेका थिए । उनीहरूले भारतले पटक–पटक नेपालको भू–भाग मिचेको भन्दै चर्को विरोध गरेका थिए । साथै सबै मिलेर भारतीय विस्तारवादको विरुद्ध लड्नुपर्नेमा जोड समेत दिएका थिए । भारतीय पक्षले नेपालको ठूलो भूगोल आफ्नो नक्सामा राखेपछि त्यसको चर्को विरोध भइरहेको छ ।

यसैगरी नेकपा क्रान्तिकारी माओवादी निकट देशभक्त जनगणतान्त्रिक मोर्चाले पनि शुक्रवार विरोध ¥यालीसहित कोणसभा गरेको छ । कालापानी हाम्रो हो, लिपुलेक हाम्रो हो, भारतीय विस्तारवाद मूर्दावाद लगायतका नारा लगाउँदै स्थानीय वीरेन्द्रचोकमा कोणसभाको गरिएको हो । कोणसभामा बोल्ने नेताहरूले भारतले मिचेको भूमि फिर्ता नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । भारतले नेपालको लिपुलेक र कालापानी क्षेत्रलाई पनि भारतीय भू–भागमा समावेश गरेको छ । उक्त कार्यले नेपालको राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डतामा ठाडो हस्तक्षेप गर्दै गम्भीर आँच पु¥याउने काम गरेको भन्दै सर्वत्र विरोध भइरहेको छ ।

प्रकाशित मितिः   २३ कार्तिक २०७६, शनिबार ०८:१३