क्याम्पस स्थापना गर्न महायज्ञ
सुर्खेत : चौकुनेमा कृषि तथा वन विज्ञान क्याम्पस सञ्चालनका लागि आवश्यक रकम जुटाउन महायज्ञ सञ्चालन गरिएको छ । महायज्ञको शुक्रवार कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री रावलले चौकुनेमा स्थापना हुन लागेको कर्णाली कृषि तथा वन विज्ञान क्याम्पसलाई प्रदेश सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले गुणस्तरीय र प्राविधिक शिक्षाबाट मात्र समग्र कर्णाली प्रदेशको विकासमा टेवा पुग्ने समेत जनाए ।
पश्चिम सुर्खेत जल, जमिन र जंगलले भरीपूर्ण ठाउँ भएकोले उत्पादनमा आत्मनिर्भर भइ कृषिबाट मात्र परिवर्तन सम्भव रहेको जिकिर मन्त्री रावलको थियो । कार्यक्रममा प्रदेश सभाका सदस्य विन्दमान विष्टले अब चौकुनेबाट शिक्षामा आमूल परिवर्तन आउने गरी काम भइरहेको र आफू पनि सोही अनुसारको काममा लागेको बताए । चौकुने गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले गाउँपालिकाले चौकुनेमा दुई वटा प्राविधिक क्याम्पस सञ्चालनमा ल्याउने निर्णय गरेको र सोही अनुसार काम अघि बढिरहेको बताए । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य नरबहादुर विष्ट, सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसी, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका प्रमुख परीक्षा नियन्त्रक डा. आनन्द सुवेदी लगायतको सहभागिता रहेको थियो ।
महायज्ञ मूल आयोजना समिति एवम् कर्णाली कृषि तथा वन विज्ञान क्याम्पसका अध्यक्ष मोहन बडुवालले कर्णाली प्रदेश शिक्षाको सूचकांकमा पछि परेकोले कर्णाली प्रदेशकै शिक्षालाई माथि उकास्नको लागि चौकुनेमा कृषि तथा वन विज्ञान क्याम्पस सञ्चालनमा ल्याउन लागेको बताए ।
प्रकाशित मितिः २३ कार्तिक २०७६, शनिबार ०८:१०
साझा बिसौनी ।