नेकपा सुर्खेतले टुंग्यायो एकता

भागवण्डा गरेर नेतृत्व छनौट

सीता वली,
सुर्खेत : पूर्व एमाले र माओवादी केन्द्रका प्रतिनिधिहरूबीच भागवण्डा गरेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुर्खेतले स्थानीय तहको एकता टुङ्गो लगाएको छ । वीरेन्द्रनगरमा दुई दिन चलेको जिल्ला कमिटीको बैठकले स्थानीय तहका पदाधिकारी र सदस्यहरूको टुङ्गो लगाउँदै एकतालाई पूर्णता दिएको हो ।

नौ वटा स्थानीय तह रहेको सुर्खेतमा पूर्व एमालेले पाँच वटा स्थानीय तहको नेतृत्व पाएको छ भने पूर्व माओवादी केन्द्रले चार वटाको नेतृत्व पाएको छ । स्थानीय तहको नेतृत्वसहित सदस्यहरूको समेत टुङ्गो लगाइएको नेकपा सुर्खेतका सचिव कृष्णबहादुर जिसीले जानकारी दिए । उनका अनुसार नगरपालिकामा ८१ सदस्यीय र गाउँपालिकामा ७५ सदस्यीय कमिटी गठन गरिएको छ । स्थानीय तहमा सदस्य छनौटसँगै संघीय र प्रदेश निर्वाचन क्षेत्रीय कमिटीको पनि टुङ्गो लगाइएको छ । स्थानीय तहतर्फ सिम्ता गाउँपालिकामा अध्यक्षमा कविन्द्र केसी र सचिवमा झुपबहादुर बुढा चयन भएका छन् । गुर्भाकोट नगरपालिकामा अध्यक्ष देवबहादुर खत्री र सचिवमा मोति वि.क. चयन हुँदा चिङ्गाड गाउँपालिकाको अध्यक्षमा समरबहादुर कामी र सचिवमा हर्कबहादुर राना रहेका छन् ।यस्तै भेरीगंगा नगरपालिकामा अध्यक्ष नन्दबहादुर कार्की र सचिवमा टिकाराम सुवेदी, लेकवेशी नगरपालिकामा अध्यक्ष टिकाराम सोमै र सचिवमा मदन गाहा, वीरेन्द्रनगर नगरपालिकामा अध्यक्ष गंगाराम तिमिल्सेना र सचिवमा गणेश वली, बराहताल गाउँपालिकामा ओमबहादुर महतारा अध्यक्ष र बलबहादुर कठायत सचिवमा मनोनित भएका हुन् । पञ्चपुरी नगरपालिकामा मनबहादुर वि.क. अध्यक्ष र केशबहादुर शाही सचिव तथा चौकुने गाउँपालिकाको अध्यक्षमा गंगाराम वि.क. र सचिवमा हरिप्रसाद अधिकारी मनोनित भएको जिल्ला कमिटी सचिव जिसीले जानकारी दिए ।

निर्वाचन क्षेत्र समन्वय कमिटीतर्फ प्रतिनिधीसभा निर्वाचन क्षेत्र नं. १ को संयोजकमा बखतबहादुर खत्री र सचिवमा गणेश वि.क. रहेका छन् भने निर्वाचन क्षेत्र नं. २ को संयोजकमा गोविन्द तिमिल्सेना र सचिवमा इन्द्र केसी मनोनित भएका हुन् । त्यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (क) मा पूर्व एमालेले संयोजक पाउने भए पनि टुङ्गो लागेको छैन । सचिवमा भने पूर्व माओवादीबाट मनोनित गरिने जनाइएको छ । प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (ख) को संयोजकमा बोधविक्रम जि.सी. मनोनित भएका छन् भने सचिव मनोनित हुन बाँकी रहेको जिसीले बताए । त्यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ (क) को संयोजकमा पूर्व एमालेका टोपबहादुर रास्कोटी र सचिवमा पूर्व माओवादीका रत्नबहादुर गाहा मगर मनोनित भएका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ (ख) मा पूर्व माओवादीका खड्क वि.क. संयोजक र सचिवमा पूर्व एमालेका घनश्याम पाण्डे मनोनित भएका हुन् ।

पदाधिकारीमा महिला शून्य

नेकपाले ६ वटा निर्वाचन क्षेत्रीय कमिटी र नौ वटा स्थानीय तहका पदाधिकारी छनौट गर्दा महिला प्रतिनिधित्व भने शून्य छ । क्षेत्रीय र स्थानीय कमिटीका अध्यक्ष र सचिवमा गरेर ३० जना पदाधिकारी चयन गर्दा एक जना पनि महिला परेका छैनन् । जहिले पनि महिलाहरूलाई पार्टी नेतृत्वले उपेक्षा गरेको गुनासो गर्दै आएका महिला नेतृहरू यो निर्णयबाट पनि असन्तुष्ट बनेका छन् । नेतृत्वमा महिलाहरूलाई ल्याउन पहल नगरिएको भन्दै उनीहरू असन्तुष्ट बनेका हुन् । तर पार्टीले भने सबै प्रमुख पदमा पुरुषलाई राखेर महिलाहरूलाई सदस्यमा सीमित गरेको छ ।
नेतृत्व एकता गर्दा महिलाको विषयमा छलफल भए पनि अन्य भूमिका दिने गरी पुरुष मात्रै नेतृत्वमा ल्याएको पार्टी जिल्ला सचिव कृष्णबहादुर जिसीले बताए । महिलाहरू जिल्ला कमिटीमा पनि भएकोले स्थानीय तहमा अन्य भूमिकामा ल्याउने तयारी पार्टीको भएको उनले बताए ।

उता नेकपा कर्णाली प्रदेशकी सदस्य हरिमाया शर्माले भने एकलौटी रूपमा पुरुषहरूले निर्माण गरेको कमिटीमा महिलाहरू नपर्नु नौलो नभएको बताइन् । उनले विगतदेखि नै महिलाहरूलाई नेतृत्वबाट वञ्चित गरिएको भन्दै त्यसैको निरन्तरता भएको जनाइन् । अखिल नेपाल महिला संघ सुर्खेतकी पूर्व अध्यक्ष लक्ष्मी शर्माले महिलाहरूलाई भोट प्राप्त गर्ने ठाउँमा प्रयोग गरे पनि नेतृत्वमा विश्वास नगर्ने प्रवृत्तिले महिलाहरू नेतृत्वमा आउन नसकेको बताइन् । ‘गुटको कारण महिलाहरू एक ठाउँमा टिक्दैनन्’ उनले भनिन् ‘महिलाहरूलाई विश्वास नगर्ने प्रवृत्तिका कारण यसो भएको हो ।’ विधानमा भएको कुरालाई समेत उल्लंघन गर्दै पार्टी अगाडि बढेको उनले बताइन् ।

प्रकाशित मितिः   २२ कार्तिक २०७६, शुक्रबार ०८:३३