‘दुई वर्षमा कर्णाली उज्यालो बन्छ’

सल्यान :ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आगामी दुई वर्षभित्रमा कर्णाली उज्यालो बनाउने बताए । कर्णाली प्रदेशका सबै बस्तीहरूमा विद्युत पुर्याउनका लागि संघीय सरकारले युद्धस्तरमा काम गरिरहेको उनको भनाइ छ । नेपाल पत्रकार महासंघ सल्यानले बिहीवार बरलामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पुनले सरकारले समृद्धिको सपना बोकेर काम अगाडि बढाइरहेको भन्दै अबको दुई वर्षपछि कर्णाली प्रदेशका कुनै पनि नागरिक अँध्यारोमा बस्नु नपर्ने बताए ।

उनले भने, ‘कर्णाली प्रदेशका ६१ प्रतिशत नागरिक अहिले पनि विद्युतको पहुँचबाट बाहिर रहेका छन् सरकारले नै विद्युतीकरणलाई प्राथमिकता दिएर काम अगाडि बढाइरहेको छ । अब कुनै पनि नागरिक विद्युत सेवाबाट वञ्चित हुनु पर्दैन ।’ विद्युतीकरणमा विगतका वर्षहरूमा बजेट विनियोजन गर्दा रकम फ्रिज भएर जाने गरेको भन्दै अब त्यो वातावरण सिर्जना नगराउन उनले प्रदेश र स्थानीय सरकारलाई आग्रह गरे । आफ्ना नागरिकलाई उज्यालो दिन सबै स्थानीय तहले अभियान सञ्चालन गर्न आग्रह गरे ।

साथै मन्त्री पुनले मंसिर १४ गते हुने उप–निर्वाचन सरकारको परीक्षण भएको बताए । झण्डै दुई तिहाईको सरकार जनतामा कति लोकप्रिय भएछ भन्ने कुराको परीक्षण उप–निर्वाचनले गर्ने उनको भनाइ छ । उप–निर्वाचनलाई मिनी जनमत संग्रहको रूपमा हेरिएको समेत उनको भनाइ छ । वर्तमान सरकारको परीक्षण भएकाले कुनै हिचकिचाहट नगरी सरकार परीक्षणमा जान तयार रहेको मन्त्री पुनले बताए ।

प्रकाशित मितिः   २२ कार्तिक २०७६, शुक्रबार ०८:२६