आलमविरूद्ध जन्मकैदको मुद्दा
काठमाडौं : नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमसहित १० जनालाई जन्मकैदसहित तीन वटा मुद्दा दर्ता भएको छ । सरकारी वकिल कार्यालय रौतहटले सोमवार जिल्ला अदालत रौतहटमा मुद्दा दर्ता गरेको हो । सरकारी वकिल कार्यालय रौतहटले जन्मकैदको माग गर्दै १० जनामाथि जन्मकैदको मुद्दा दर्ता गरेको सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले जानकारी दिएका छन् । आलमसहित १० जनामाथि रौतहट प्रहरीले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी गरी तीनवटा मुद्दा दर्ता गरेको हो । आलमको मुद्दा ९५ नम्बरमा दर्ता गरिएको छ ।
समय अभावका कारण थुनछेक बहस भने सोमवार नभइ मंगलबारबाट मात्रै हुने भएको छ । १२ वर्षअघि रौतहटमा ईट्टा भट्टाभित्र जिउँदै मान्छे जलाएको भन्ने अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा चलाउने निर्णय गरेको हो । सोमवारै आलमलाई जिल्ला अदालत लगिएको छ ।
प्रकाशित मितिः १९ कार्तिक २०७६, मंगलवार १२:०८
साझा बिसौनी ।