खेलकुदमा लगानी

खेल केवल मनोरञ्जनात्मक गतिविधि मात्रै होइन स्वास्थ्यका लागि पनि हितकर छ । यसको सम्बन्ध आर्थिक उपार्जनमा पनि बिस्तार भएको छ । पछिल्लो समय खेलकुद पर्यटन व्यवसायको रुपमा पनि स्थापित हुँदै गएको छ । त्यसैले पनि यो विश्वव्यापी छ । सरकारको प्राथमितामा पर्दै आएको छ । तर नेपालका सन्दर्भमा खेलकुद सरकारको नीतिगत प्राथमिकतामा परेपनि व्यवहारिक रुपमा भने पर्न सकेको छैन । खेलकुदका लागि छुट्याइने बजेट औपचारिकजस्तो मात्रै हुने गरेको छ । यसबाट संघीयता कार्यान्वयनमा आएसँगै बनेका प्रदेश सरकारहरु पनि माथि उठ्न सकेका छैनन् । कर्णालीमा पनि यही दृष्य देखिन्छ ।

कर्णाली प्रदेश सरकारले खेलकुद विकासका लागि यो वर्ष १७ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ । विनियोजन गरिएको बजेटबाट विभिन्न २१ वटा कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । खेलकुद गतिविधि सञ्चालनका साथै पूर्वाधार विकासका लागि सरकारले उक्त रकम खर्चिनेछ । सरकारले खेलकुदमा पनि पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ । सोही अनुसार बजेट बाँडफाँड गरिएको छ । खेलकुद मैदान तथा रंगशाला र कवर्डहल निर्माणका लागि मात्रै १३ करोड २० लाख बजेट छुट्याइएको छ ।

कर्णाली अन्य क्षेत्रमाजस्तै खेलकुदमा पनि पिछडिएको छ । यसको प्रमुख कारण आवश्यक पूर्वाधार नहुनु नै हो । भौगोलिक रुपमा पनि विकट यस प्रदेशमा सबै खेलकुद अनुकुल पूर्वाधार छैनन् । सबै जिल्लामा फुटबलकै रंगशाला समेत नभएको अवस्था छ । पछिल्लो समय निकै चर्चामा रहेको र खेलाडीहरुको आकर्षित भएको क्रिकेटको त प्रदेशभर नै एउटा मैदान समेत छैन । प्रदेश राजधानी वीरेन्द्रनगरमा खाली चौरलाई मैदानको रुपमा उपयोग गरेर खेलाडीहरुले खेल्दै आएका छन् । अन्य खेलका लागि पनि आवश्यक र अनुकुल पूर्वाधार छैन । यस्तो अवस्थामा भने खेलाडीहरु आफ्नै मेहेनतले विभिन्न समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागि भई सफलता हात पार्दै आएका छन् । तर अब खेलाडीहरुको मात्र मेहेनतले खेल क्षेत्रको विकास हुँदैन ।

कर्णालीको खेल क्षेत्रलाई अहिलेको अवस्थाबाट माथि उठाउन सरकारले पनि विशेष ध्यान दिन जरुरी छ । यसका लागि अल्पकालिन र दिर्घकालिन योजनाहरु बनाएर कार्यान्वयन गर्न सकिन्छ । तर हरेक वर्ष अपुग बजेट छुट्याउने र त्यो पनि कार्यान्वयन नभएर फिर्ता हुने अवस्थाको अन्त्य भने गर्नैपर्दछ । अहिले सरकारले पनि पूर्वाधार निर्माणमा जोड दिएको छ । खेल क्षेत्रमा पनि आवश्यक पूर्वाधार निर्माण गरेर खेलाडीहरुको क्षमता विकासमा ध्यान दिन सके खेलकुदमा कर्णाली अझ माथि पुग्ने निश्चित छ ।

प्रकाशित मितिः   १९ कार्तिक २०७६, मंगलवार १२:०४