एमसीसीविरूद्ध नेपालको जीत

काठमाडौं : नेपाल भ्रमणमा रहेको विश्व क्रिकेटको सबैभन्दा पूरानो क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरूद्धको एकदिवसीय क्रिकेटमा नेपालले जीत निकालेको छ ।कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सोमवार भएको खेलमा नेपालले एमसीसीलाई पाँच विकेटले पराजित गरेको हो । एमसीसीले दिएको दुई सय दुई रनको लक्ष्य नेपालले ३७ ओभर तीन बलमा मात्र पाँच विकेट गुमाएर पूरा ग¥यो । नेपालको जीतमा विनोद भण्डारीले अविजीत रहँदै ५२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै पवन सर्राफ ३८ रनमा अविजित रहे । खराब सुरूवात गरेको नेपालले मात्र १८ रन जोड्दा दुई विकेट गुमाएको थियो  । तर, तेस्रो विकेटका लागि शरद भेषवाकर र दिपेन्द्र सिंह ऐरीले ६७ रनको साझेदारी गर्दै नेपाललाई उकासेका थिए । शरद २४ रनमा आउट हुँदा दिपेन्द्रले २३ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्ल १० रनमा आउट हुँदा आरिफ शेखले २३ तथा इशान पाण्डेले चार रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले ३९ ओभर दुई बलमा अलआउट हुँदै दुई सय एक रन बनाएको थियो । एमसीसीका विल रोड्स र विलि गोडलम्यानले अर्धशतकीय इनिङ्स खेले ।

प्रकाशित मितिः   १९ कार्तिक २०७६, मंगलवार १२:०३