कर्णाली बाहिरबाट प्रदेश प्रमुख

सुर्खेत, १९ कार्तिक ।
सरकारले कर्णाली प्रदेश प्रमुखमा गोविन्दप्रसाद कलौनी नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमवार उनलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् । संघीय सरकारको सोमवार बसेको मन्त्रिपरिषद् बैठकले सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्तीका लागि राष्ट्रपति कार्यालयलाई सिफारिस पठाएको थियो ।

निवर्तमान प्रदेश प्रमुख दुर्गाकेशर खनाललाई आइतवार राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेपछि उनको स्थानमा कलौनीलाई नियुक्त गरिएको हो । यद्यपि सपथ ग्रहण आज (मंगलवार) हुने जनाइएको छ ।

यसअघि कर्णालीकै खनाल प्रदेश प्रमुख भए पनि यस पटक भने प्रदेश बाहिरबाट प्रमुख नियुक्त भएका हुन् । कलौनी सुदूरपश्चिम प्रदेश निवासी हुन् । सात जना प्रदेश प्रमुख नियुक्तीको लागि सिफारिस गर्दा कर्णालीबाट एक जनाको पनि नाम परेन ।

यसैगरी मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर १ मा सोमनाथ अधिकारी प्यासी, प्रदेश नम्बर २ मा तिलक परियार, प्रदेश नम्बर ३ मा विष्णुप्रसाद प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश नम्बर ५ मा धर्मनाथ यादव र सुदूरपश्चिम प्रदेशमा शर्मिलाकुमारी पन्तलाई नियुक्त गरिएको छ । नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखहरू नियुक्त गरिएको हो । उक्त धारामा राष्ट्रपतिले प्रत्येक प्रदेशका लागि एक/एक जना प्रदेश प्रमुख नियुक्त गर्ने व्यवस्था छ ।

को हुन् कलौनी ?
कलौनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता हुन् । उनी पार्टी एकीकरण हुनुअघि तत्कालीन नेकपा एमालेमा थिए । पुराना वामपन्थी नेता कलौनी सुदूरपश्चिमबाट अहिलेसम्म ठूलो अवसर नपाएका तत्कालीन एमालेका उच्च तहका नेता मानिन्छन् । उनले डडेल्धुरा, बैतडी र कञ्चनपुरलाई राजनीतिक कर्मथलो बनाएका छन् ।

पार्टीमा जिल्लादेखि केन्द्रीय कमिटीसम्मको जिम्मेवारी बहन गरिसकेका कलौनीले अहिलेसम्म संसदीय चुनाव भने जित्न सकेका छैनन् । उनी वि.सं. २०५१ सालको मध्यावधि निर्वाचनमा डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका थिए भने २०५६ सालमा बैतडी र २०६४ सालमा भएको संविधानसभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका थिए । तर उनी तीनै पटक पराजित हुन पुगे । त्यति मात्र होइन ६५ वर्षीय कलौनी एक पटक राष्ट्रियसभा सदस्यको उम्मेदवार भए पनि पराजित भएका थिए । सुदूरपश्चिमका कलौनी सोही प्रदेशको प्रमुख हुने अनुमान गरिएको थियो । तर सरकारले भने उनलाई कर्णाली प्रदेशको प्रमुखमा सिफारिस गरेको हो ।

कर्णालीमा असन्तुष्टि

प्रदेशबाहिरको व्यक्तिलाई सरकारले प्रदेश प्रमुख बनाउन सिफारिस गरेपछि कर्णालीमा असन्तुष्टि व्यक्त भएको छ । केन्द्रले विगतदेखि नै कर्णालीलाई उपेक्षा गर्दै आएको र यस पटक प्रदेश प्रमुख नियुक्तीमा पनि त्यही दोहोरिएको टिप्पणी हुन थालेको छ ।

सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै आम नागरिकदेखि राजनीतिक दलमा सक्रिय नेताहरू समेत रहेका छन् । कर्णालीमा थुप्रै योग्य व्यक्तिहरू हुँदाहुँदै पनि उनीहरूलाई वेवास्ता गरेर अन्य प्रदेशबाट ल्याइएको गुनासो यहाँका सरोकारवालाहरूको छ । सरकारको नेतृत्व गरिरहेको नेकपाकै नेताहरूले पनि यसप्रति असन्तुष्टि जनाएका छन् ।

दैलेख घर भएका नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले सामाजिक सञ्जालबाटै आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् । सोमवार फेसबुकमा स्टाटस लेख्दै उनले यो निर्णयबाट आफू आश्चर्यमा परेको बताएका छन् । उनले लेखेका छन्, ‘सात प्रदेश प्रमुख नियुक्त गर्दा कर्णालीलाई छुटाएकोमा आश्चर्य लागेको छ ।’ त्यतिमात्र होइन उनले कर्णालीका योग्य व्यक्तिहरूलाई वेवास्ता गरिएकोप्रति व्यंग्य गर्दै लेखेका छन्, ‘अन्तका मेयर हारेकाको योग्यता पुग्दो रहेछ । तर, कर्णालीकालाई योग्यता पुग्न के–के चाहिने रहेछ ?’

खनाल पदमुक्त भएसँगै कर्णालीकै विभिन्न व्यक्तिहरूको नाम प्रदेश प्रमुखका लागि चर्चामा आएका थिए । विशेष गरी नेकपाका नेताहरूको नाम चर्चामा रहे पनि सरकारको सिफारिसमा उनीहरू कोही परेनन् । नेकपाबाट बालाराम शर्मा, चुडामणि शर्मा, कुलदिप भट्ट, विनोद शाह, मायाप्रसाद शर्मा लगायतको नाम चर्चामा थिए । तर सोमवार नेकपाको सचिवालय बैठकले सरकारलाई सात जनाको नाम सिफारिस गर्दा नै उनीहरूको नाम समावेश भएन ।