महरा पुर्पक्षका लागि जेल चलान

काठमाडौं : संसद् सचिवालयमा काम गर्ने एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत काठमाडौंले महरालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो ।
महराविरूद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीवार दायर गरेको मुद्दामा आइतवारदेखि थुनछेक बहस हुँदै आएको थियो । जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले महरालाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो । अदालतको आदेशसँगै महरालाई डिल्लीबजार कारागार चलान गरिएको छ । जिल्ला अदालतमा शुक्रवार महराको बयान भएको थियो । बयानमा महराले पीडित भनिएकी रोशनी शाहीको डेरा रहेको क्षेत्रमा आफू गएको तर, उनको डेरामा प्रवेश नगरेको बयान दिएका थिए । बलात्कार प्रयासको आरोप लागेपछि महराले सभामुख पदबाट राजीनामा दिइसकेका छन् । उनलाई सभामुखको सरकारी निवास बालुवाटारबाट गत असोज १९ गते पक्राउ गरिएको थियो ।
प्रकाशित मितिः १९ कार्तिक २०७६, मंगलवार १२:१०
साझा बिसौनी ।