प्रदेश प्रमुख पदमुक्त
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रमुखलाई पदमुक्त गरेकी छन् । आइतवार साँझ राष्ट्रपति भण्डारीले सबै प्रदेश प्रमुखलाई पदमुक्त गरेकी हुन् ।
मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार भण्डारीले प्रदेश प्रमुखलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी गराएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुखलाई पदमुक्त गरेकी हुन् । ‘आइतवार सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७६÷७÷१७ को निर्णयबाट सिफारिस भइ आए अनुसार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुखलाई पदमुक्त गर्नु भएको छ’, राष्ट्रपति कार्यालयको विज्ञप्तीमा भनिएको छ ।
संसदीय चुनाव सम्पन्न भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले सातै प्रदेशका प्रमुखलाई कामचलाउ प्रधानमन्त्रीको हैसियतमा नियुक्त गरेका थिए । देउवाले प्रदेश १ मा प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश २ मा रत्नेश्वरलाल (कायस्थ), प्रदेश ३ मा अनुराधा कोइराला, गण्डकी प्रदेशमा बाबुराम कुवँर, प्रदेश ५ मा उमाकान्त झा, कर्णाली प्रदेशमा दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेशमा मोहनराज मल्ललाई नियुक्त
गरेका थिए ।
साझा बिसौनी ।