नियम उल्लंघन गरेर सवारी सञ्चालन

सुर्खेत : वीरेन्द्रनगरमा नियम उल्लंघन गरेर सवारी साधन सञ्चालन गरिरहेको पाइएको छ । यातायात व्यवस्था कार्यालय सुर्खेत र जिल्ला ट्राफिक कार्यालय सुर्खेतको संयुक्त पहलमा आइतवार गरिएको अनुगमनका क्रममा ट्राफिक नियम मिचेर सवारी साधन सञ्चालन भइरहेको पाइएको हो ।

अनुगमनको क्रममा सीट क्षमता भन्दा बढी यात्रु राखेको, सवारी चालक अनुमति–पत्र (लाइसेन्स) नभएकाले पनि चलाएको, रूट परमिट नलिएको र ब्लूबुक साथमा नराखेर सवारी सञ्चालन गरेको पाइएको छ । अनुगमनमा सहभागी यातायात व्यवस्था कार्यालयका प्रमुख सुनिल लिम्बुका अनुसार १५ जना क्षमता भएको सवारी साधनमा २६ जनासम्म राखिएको पाइयो । यसरी नियम उल्लंघन गर्नेलाई कारवाही गरिएको पनि उनले जानकारी दिए । ‘पहिलो पटक हामीले नगद जरिवाना गरी सम्झाई–बुझाई गरेर छोडेका छौं’ उनले भने ।

अहिले यात्रुहरू आ–आफ्नो कर्मथलोमा जानेको भिड हुने र सवारी साधनले बढी यात्रु चढाउने गरेका छन् । यातायात व्यवस्थापनका लागि कार्यालयले ट्राफिक र यातायात व्यवसायीसँग समन्वय गरेर पटक–पटक ट्राफिक अनुगमन गर्ने गरेको प्रमुख लिम्बुले जानकारी दिए । उनले यस्तो खालको अनुगमनलाई निरन्तरता दिने पनि बताए । जिल्ला ट्राफिक प्रमुख उदयसिंह सिजापतिले नागरिकको सुरक्षित यात्राका लागि आफूहरूले सचेतना फैलाउनु साथै अटेर गर्नेलाई कारबाही गरिएको बताए । उनले यात्रुहरूलाई पनि धेरै यात्रु भएका सवारी साधनमा नचढ्न र यातायात व्यवसायीलाई धेरै यात्रु नचढाउन आग्रह गरे ।

प्रकाशित मितिः   १८ कार्तिक २०७६, सोमबार ०८:०३