चार वटा टोली परिचालन

दैलेख : दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि ‘साइस्मिक सर्भे’ गरिने भएको छ । चिनियाँ प्राविधिक टोलीले पेट्रोलिय पदार्थको बढी सम्भावना रहेको क्षेत्र श्रीस्थान, नाभिस्थान, पादुकालगायतका क्षेत्रलाई आधार मानी ‘साइस्मिक’ सर्भे गर्न लागेको हो । खानी तथा भूगर्भ विभागका भूगर्भविद् गणेश त्रिपाठीले दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको साइस्मिक सर्भे सुरू गर्न लागिएको बताए । चीनबाट पेट्रोलियम पदार्थ अन्वेषण गर्नका लागि प्राविधिकको चार टोली दैलेख आएको भूर्गभविद् त्रिपाठीले बताए । चार टोलीमध्ये पहिलो टोलीले सर्भे गर्ने र आवश्यक पर्ने नक्सा निर्माण गर्नेछ । त्यसैगरी, दोस्रो टोलीले जिओलोजिकल सर्भे गर्ने र जमिनको सतह मुनीको अवस्थाका विषयमा अनुसन्धान गर्नेछ । तेस्रो टोलीले अन्वेषणका लागि आवश्यक पर्ने औजारहरू मगाउने छ भने चौथो टोलीले जमिन मुनीको सतह कस्तो अवस्थामा छ भनेर ‘साइस्मिक’ सर्भे गर्ने त्रिपाठीले जानकारी दिए ।

यसका लागि लागि डुङ्गेश्वर गाउँपालिका–१ स्थित चुप्रा बजार नजिक अन्वेषण टोलीले क्याम्प निर्माण गरेर बसेको छ । नेपाल सरकार खानी तथा भूगर्भ विभाग र चीन सरकारको चाइना जिओलोजिकल सर्भे कम्पनीबीच पेट्रोलियम पदार्थ अन्वेषणको सम्झौता भएको थियो । चाइना जिओलोजिकल सर्भे र नेपाल सरकारको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण गर्न दुई अर्ब ४० करोडको सम्झौता भएको हो । कामदारको माग साइस्मिक सुरू गर्नका लागि त्रिवेणी ओभरसिज प्रालिले दक्ष तथा अदक्ष गरी ८३ पदमा आवश्यक कामदारको माग गरेको छ । अदक्ष कामदार ५० जनाको माग गरिएको छ । सबै कामदार जिल्लाभित्रकै राखिने कम्पनीले जनाएको छ ।

पहिलो पटकका लागि अदक्ष कामदार ५० जना, डिलर १० जना, सुटर ५ जना, टावल सुटर ५ जना, जीपीएस अपरेटर ५ जना, सर्भेयर ६ जना, ड्रिलिङ फोरम्यान १ जना, लाइन फोरम्यान १ जना गरी ८३ जना दक्ष तथा अदक्ष कामदारको माग गरिएको त्रिवेणी ओभरसिज प्रालिका म्यानेजर सूर्यमणि लामिछानेले बताए ।

प्रकाशित मितिः   १८ कार्तिक २०७६, सोमबार ०८:०१