‘दोहोरी गाएरै रात बिताइदिन्थ्यौं’

खड्कबहादुर चन्द राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सुर्खेत शाखाका अध्यक्ष हुन् । वि.सं. २०४५ साल चैत ११ गते बुबा लोकबहादुर चन्द र आमा नन्दकली चन्दको सन्तानका रूपमा चिङ्गाड गाउँपालिकाको वडा नं. ४ मटेलामा जन्मिएका उनी विगत लामो समयदेखि लोक तथा दोहोरी गीत प्रतिष्ठानमा आवद्ध भएर लोक–संस्कृतिको संरक्षणमा सक्रिय छन् । साथै उनी विभिन्न संघ–संस्थामा आवद्ध भएर सामाजिक कार्यमा पनि उत्तिकै क्रियाशील छन् । कला र सामाजिक कार्यलाई सँगसँगै अघि बढाएका चन्दले हाम्रा सहकर्मी मुना हमालसँग आफ्नो बाल्यकालको सम्झना यसरी साटे:

बाल्यकाल रमाइलोसँग बित्यो । अहिले बाल्यकाललाई सम्झदा साथीभाइहरूसँग खेलेको र रमाएको बढी सम्झना आउँछ  । हाम्रो ठूलो परिवार भएकाले पनि रमाइलो थियो । गाउँघरमा किसान परिवारमा जन्मिएपछि घरको र खेतबारीमा काम गर्नुपर्ने हुन्थ्यो । पढाइसँगसँगै घरमा आमा–बुवालाई सघाउनुपथ्र्यो । विद्यालय जान थालेपछि साँझ र बिहान घरको काम गर्ने र दिउँसोको समयमा पढ्नेनै हुन्थ्यो । घरबाट डेढ घण्टा हिँडेपछि विद्यालय पुगिन्थ्यो । बिहान छिट्टै खाना खाएर तयार भइ विद्यालय हिँड्थ्यौं ।

साँझ विद्यालयबाट फर्किएपछि गाइगोठाला जान्थ्यौं । यो हाम्रो दैनिकीजस्तै थियो । लामो बिदाको समय भयो भने गाई–भैसी लिएर लेक जानुपर्ने हुन्थ्यो । गाई–भैसी लिएर गोठालो जाने प्रायः केटाकेटी नै हुन्थ्यौँ । त्यही दुध दुहेर खिर पकाएर खाएको सम्झना छ । चामल सकियो भने पिठो भए पनि दुधमा पकाएर खान्थ्यौं । सानैदेखि गीत–संगीत मेरो रूचिको विषय हो । सानो उमेरदेखि नै यही विधामा लागिरहेको छु । दुई–तीन कक्षा पढ्दै गर्दा म दोहोरी गाउँथे । दाइहरूसँगै दोहोरी गाउन जान्थें । विशेष गरेर चाडपर्व र विवाह, पूजा, व्रतबन्धका समयमा दोहोरी गाउने गथ्र्यौं । दाइहरू मलाई घरमै लिन जानुहुन्थ्यो । उहाँहरू मलाई लिएर नगए दोहोरीमा जित्न सकिदैन भन्नुहुन्थ्यो ।

म सानो थिएँ । दोहोरी गाउँदा सबैले मलाई बीचमा राख्नुहुन्थ्यो । दोहोरी खेलेर उज्यालो नै बनाउँथ्यौं । गाउँमा बुढापाका रातभरी नसुतेर नै हामीले दोहोरी खेलेको हेरेर बस्थे । तीजमा अझै रमाइलो हुन्थ्यो । त्यस बेलामा पालैपालो गाउँका सबैका घरमा जम्मा भएर गीत गाउने र नाच्ने हुन्थ्यो । एक पटक दोहोरी गाउँदाको रमाइलो घटना अझै पनि सम्झनामा छ । दोहोरी गाउँगाउँदै बिहे गरेर लैजानेसम्मको कुरा भयो । गीतबाट नै बिहेको कुरा चल्न थालेपछि केटी पक्षका बुवा–आमालाई साँच्चिकै लागेछ । उहाँहरूले हामीलाई लखेट्नुभयो । भाग्ने क्रममा केही साथी सिस्नोघारीमा परेछौं । मलाई सबैभन्दा बढी सिस्नोले पोलेछ । तीन दिनसम्म विद्यालय नगएर उपचार गरेर घरमै बसें । अहिले सम्झदा रमाइलो लाग्छ ।

मेरो विद्यालय जीवन पनि रमाइलो भयो । शिक्षक र साथीको प्रिय थिएँ । सानै कक्षादेखि विद्यालयमा हुने अतिरिक्त क्रियाकलापहरूमा सहभागी भइरहन्थें । सांस्कृतिक कार्यक्रम, हाजिरीजवाफ प्रतियोगिता, वक्तृत्वकला, कविता प्रतियोगिताहरूमा म प्रायः प्रथम हुन्थें । कहिलेकाहीँ दोस्रो भएँ हुँला तर म धेरैजसो प्रथम नै हुन्थें । म आफूले गाउने गीत, कविता आफै लेख्ने गर्थें । पढाइमा पनि राम्रै विद्यार्थी थिएँ । पहिलो, दोस्रो, तेस्रो र चौथोंमध्ये एक न एक स्थानमा आइरहन्थें ।

विद्यालयमा पढ्दै गर्दा विद्यार्थी राजनीतिमा जोडिएँ । मेरो बुबा पूर्व प्रधानपञ्च हुनुहुन्थ्यो । तीन कार्यकाल पूर्व प्रधानपञ्च पूरा गर्नुभएको हो । पारिवारिक रूपमा राजनीतिक माहोल भए पनि ठूलो हुँदै गएपछि मैले मावि इकाई कमिटीको अध्यक्ष भएर काम गरें । देशमा सशस्त्र द्वन्द्वको समय थियो । हामी कक्षा ५–६ मा पढ्दै गर्दा नेपाली सेनाले पिपलको बोटमा राखेका झण्डा हटाउन हामी केटाकेटीलाई लगाउने गर्थे । रूखमा चढेर झण्डा निकाल्दा कति बेला गोली हानेर खसाल्ने हुन् कि भने चिन्ता हुन्थ्यो । उनीहरूको व्यवहारले मलाई त्यसबेलामा राजनीतिमा लाग्न प्रेरित गरेको थियो भन्ने लाग्छ ।

मैले तत्कालीन विद्रोही माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको मावि इकाई कमिटीमा आवद्ध भएर विद्यार्थी राजनीति गरें । कक्षा ९ र १० मा पढ्दै गर्दा विद्यार्थी राजनीति गरे पनि त्यसपछि राजनीतिलाई कहिले पनि अंगालिन । आस्था जहाँ भए पनि एसएलसीपछि मैले पढाइ, गीतसंगीत र सामाजिक कार्यलाई मात्र समय दिएँ । म बाल्यकालमा गम्भीर स्वभावको थिएँ । केही न केही नयाँ काम गर्नुपर्छ भनेर सोच्थें । सिर्जनशील स्वभाव थियो । कहिलेकाहीँ सोलार जस्तो बनाइदिएर बत्ती बाल्ने गर्थें । त्यसबेलामा गाउँको परिवेश र नराम्रो विकृतिका विरूद्ध लाग्नुपर्छ भन्ने सोच पनि आउँथ्यो । केही सामाजिक कामहरू गर्नुपर्छ भन्ने लाग्थ्यो । मसँग उमेरका साना साथीहरू पैसा कमाउने भनेर भारत जान्थे । मलाई पनि जाम भन्थे । विदेश जानुभन्दा आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने मेरो सोच थियो ।

म कक्षा ८ मा पढ्दा हामीले मालिका सांस्कृतिक संरक्षण केन्द्र स्थापना गरेर विभिन्न सांस्कृतिक कार्यक्रम गथ्र्यौं । देउसी–भैलो खेलेर जम्मा भएको पैसा सामाजिक काममा लगाउँथ्याँै । यस संस्थाले अहिले पनि कला–संस्कृतिको संरक्षणमा निरन्तर काम गरिरहेको छ । घरमा खेती किसानी प्रमुख पेसा भएकाले खेतबारीमा काम गर्नुपर्ने हुन्थ्यो । मलाई खेतबारीमा काम गर्न मन पथ्र्यो ।nबाल्यकालमा साथीभाइहरूसँग खेल्ने, रमाउने धेरै गरियो । शनिवारको दिन खोलामा माछा मार्न जान्थ्यौं । विषेश गरेर चिङ्गाडखोला पानी खाने खोला थिए । बिदामा खोला जाने पौडी खेल्ने र माछा मार्ने काम हुन्थ्यो । चैत–वैशाखतिर लेकतिर काफल खान जान्थ्यौं । वनमा तरूल खन्न पनि धेरै गइन्थ्यो । गुएला खान जाँदा एक पटक भालुले लखेटेको सम्झना छ । त्यसदिन भर्खर पुगेर टिप्न लागेका थियौं । त्यहाँ भालुको गुड रहेछ । भालु कराउँदै आयो । त्यसपछि भाग्यौं ।

गाउँबाट वीरेन्द्रनगर बजार आउँदा हिँडेर आउनुपर्ने हुन्थ्यो । गाउँबाट ल्याएको सामान बेच्ने र घरका लागि सामान किनेर लैजान्थ्यौं । घ्यू, मह, कुखुरा, अदुवा, जडिबुटी ल्याएर वीरेन्द्रनगर बजारमा बेच्न आउँथ्यौं । वीरेन्द्रनगर बजार आइपुग्न दुई दिन लाग्थ्यो । मेहेली हुँदै वीरेन्द्रनगर आउँदा मेहेलीको आसपास क्षेत्रमा बास बस्थ्यौं । अहिले बाल्यकालका ती दिनहरू सम्झदा रमाइलो लाग्छ । अहिले हामी प्रायः सांस्कृतिक कार्यक्रममा दोहोरी गाउँछौ । कहिलेकाहीँ प्रतियोगितामा सहभागी हुँदा बाल्यकालको सम्झना आउँछ । मैले यो जीवन रहने बेलासम्म लोकसंस्कृतिको संरक्षणमा र सामाजिक कार्यमा लाग्ने प्रण गरेको छु ।

प्रकाशित मितिः   १८ कार्तिक २०७६, सोमबार ०७:५८