खेलकुदमा साढे सत्र करोड बजेट

प्रदेश रंगशालादेखि हाइअल्टीच्यूड बहुउद्देश्यीय रंगशालासम्मको योजना

सुर्खेत : कर्णाली प्रदेश सरकारले खेलकुद विकासका लागि साढे सत्र करोड बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७६÷०७७ का लागि सामाजिक विकास मन्त्रालय अन्तर्गत १७ करोड ७५ लाख रूपैयाँ विनियोजन गरिएको हो । विनियोजन गरिएको बजेटबाट विभिन्न २१ वटा कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । खेलकुद गतिविधि सञ्चालनका साथै पूर्वाधार विकासका लागि सरकारले उक्त रकम विनियोजन गरेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको युवा तथा खेलकुद महाशाखाका प्रशासकीय अधिकृत पदमबहादुर बुढाले जानकारी दिए । उनका अनुसार विभिन्न स्थानमा रंगशाला, कवर्ड हल तथा खेलमैदान निर्माण गर्नका लागि सरकारले रकम विनियोजन गरेको हो ।

सरकारले खेलकुदमा पनि पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ । सोही अनुसार बजेट बाँडफाँड गरिएको छ । खेलकुद मैदान तथा रंगशाला र कवर्ड हल निर्माणका लागि मात्रै १३ करोड २० लाख बजेट छुट्याइएको छ । यसबाहेक खेलकुद सम्बन्धी विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालनको लागि चार करोड ५५ लाख रकम विनियोजन गरिएको अधिकृत बुढाले जानकारी दिए ।

योजना अनुसार प्रदेश राजधानी वीरेन्द्रनगरमा बृहत प्रदेश रंगशाला निर्माण गरिनेछ । वीरेन्द्रनगरमा प्रदेश रंगशाला निर्माणका लागि दुई करोड ५० लाख विनियोजन गरिएको मन्त्रालयले जनाएको छ । यसैगरी हुम्ला जिल्लामा हाईअल्टीच्यूड बहुउद्देश्यीय रंगशाला निर्माणको लागि दुई करोड, कालीकोटको रास्कोटमा रंगशाला निर्माणको लागि एक करोड बजेट सरकारले विनियोजन गरेको छ ।

त्यस्तै अघिल्ला वर्षहरूमा सुरूवात गरिएका योजना पनि कार्यान्वयन गरिनेछ । कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गरिएका खेल मैदान तथा रंगशाला निर्माणका लागि समेत सरकारले यो वर्ष थप दुई करोड रूपैयाँ विनियोजन गरेको छ । डीपीआर तयार भइसकेकाले ती आयोजना निर्माण यसै वर्ष हुने जनाइएको छ । शारदा नगरपालिका–२ खलङ्गा सल्यानमा कवर्ड हल तथा खेलमैदान निर्माणका लागि ३० लाख, भेरी नगरपालिका जाजरकोटमा कवर्ड हल तथा खेलमैदान निर्माणका लागि ३० लाख, खार्पुनाथ–४ हुम्लामा कवर्ड हल तथा खेलमैदान निर्माणका लागि २० लाख, खाँडाचक्र–१ कालीकोटमा कवर्ड हल तथा खेलमैदान निर्माणका लागि २० लाख रूपैयाँ सरकारले विनियोजन गरेको अधिकृत बुढाले बताए ।

त्यस्तै डोल्पाको ठूलीभेरी–३ मा कवर्ड हल तथा खेलमैदानको लागि २० लाख, दैलेख जिल्लामा खेलमैदान तथा कवर्ड हल निर्माणको लागि २० लाख, सानीभेरी रूकुममा समेत कवर्ड हल तथा खेलमैदान निर्माणका लागि २० लाख, जुम्ला जिल्लाका लागि २० लाख र मुगु जिल्लामा समेत खेलमैदान तथा कवर्ड हल निर्माणका लागि सरकारले २० लाख रूपैयाँ विनियोजन गरेको हो । विद्यालय खेलमैदान तथा महिला÷अपाङ्गमैत्री शौचालयसमेत अघिल्ला वर्षहरूमा पहिचान भएका प्रदेशका विभिन्न जिल्लाहरूका ३५ वटा स्थानमा गरी तीन करोड ५० लाख बजेट विनियोजन सरकारले गरेको छ ।

खेलकुद सम्बन्धी अतिरिक्त क्रियाकलाप अन्तर्गत खेलकुद युवा परिषद् गठनका लागि एक करोड १० लाख, युवा तथा खेलकुद सम्बन्धी नीति, ऐन, नियम, कार्यविधि निर्माणका लागि पाँच लाख, युवा तथा खेलकुद सञ्चार रेडियो कार्यक्रमका लागि १० लाख, अपाङ्गता भएकाहरूका लागि खेलकुद प्रतियोगिता सञ्चालनार्थ ५० लाख र मुख्यमन्त्री कप सञ्चालनका लागि एक करोड ४० लाख रकम सरकारले विनियोजन गरेको छ भने प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि ८० लाख, विभिन्न खेलकुद आयोजना, खेलाडी प्रोत्साहन तथा सहयोगका लागि ६० लाख रकम सरकारले विनियोजन गरेको उनले बताए । बुढाका अनुसार कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूमा खेलकुद सम्बन्धी क्रियाकलाप गरी खेलकुदको विकास गर्ने उद्देश्यले सरकारले रकम विनियोजन गरेको हो ।

प्रकाशित मितिः   १८ कार्तिक २०७६, सोमबार ०८:१०