भैलोको रकम आश्रमलाई
सुर्खेत : वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ सुर्खेतका नागरिकले देउसी–भैलो खेलेर संकलन भएको रकम सामाजिक सेवामा लगाएका छन् । उनीहरूले तिहारमा देउसी र भैलो खेली उठेको सम्पूर्ण रकम मानव सेवा आश्रमलाई हस्तान्तरण गरेका हुन् ।
वीरेन्द्रनगर–१२ को जनकल्याणकारी टोल विकास संस्थाले नगद चार हजार ६० रूपैयाँसहित ३ बोरा चामल लगायतका खाद्यान्न सामग्री सहयोग गरेको मानव सेवा आश्रम कर्णाली प्रदेशका संयोजक सिर्जना ओलीले जानकारी दिइन् । देउसी–भैलोबाट संकलित रकम सामाजिक सेवामा लगाउने संस्कार बसाल्नको लागि उक्त रकम आश्रमलाई हस्तान्तरण गरेको संस्थाका अध्यक्ष भंmकराज काफ्लेले बताए ।
उनले नेपाली परम्परा अनुसार देउसी–भैलो खेल्नु राम्रो भए पनि व्यक्तिगत रूपमा वनभोजमा सहभागी हुने र घुमेर उक्त पैसा खर्च गर्नु उचित नभएको बताए । आफूहरूले जस्तै सबैले संस्कृति पनि बचाउने र सामाजिक काममा समेत मन लगाउन भन्नको लागि आश्रमलाई थोरै भए पनि सहयोग प्रदान गरेको उनले बताए । काफ्लेका अनुसार संस्थाले एक दिन मात्रै थोरै समय छुटाएर देउसी–भैलो खेली जम्मा गरेको सम्पूर्ण रकम र खाद्यान्न समेत आश्रमलाई उपलब्ध गराएको हो ।
प्रकाशित मितिः १७ कार्तिक २०७६, आईतवार १०:१८
साझा बिसौनी ।