गाउँका नागरिक स्वास्थ्य सेवाको पहुँच बाहिर

तीन सय वडा स्वास्थ्य संस्थाविहीन

वडामा स्वास्थ्य संस्था नहुँदा नागरिकले सहज रुपमा स्वास्थ्य सेवा लिनबाट वञ्चित भएका हुन् । जसमा अधिकांश ग्रामीण क्षेत्रका छन् । सरकारी तथ्यांक अनुसार कर्णालीका तीन सय २३ वटा वडाहरू अझै पनि स्वास्थ्य संस्थाविहीन रहेका छन् ।

मुना हमाल,
सुर्खेत : कर्णाली प्रदेशको ग्रामीण क्षेत्रका नागरिकले अझै पनि सहज रूपमा स्वास्थ्य सेवा पाउन सकेका छैनन् । भौगोलिक रूपमा समेत विकट यहाँका अधिकांश नागरिकको स्वास्थ्य संस्थामा सहज पहुँचनै छैन । कतिसम्म भने तीन सय भन्दा बढी वडाहरूमा त स्वास्थ्य संस्था समेत छैनन् ।

वडामा स्वास्थ्य संस्था नहुँदा नागरिकले सहज रूपमा स्वास्थ्य सेवा लिनबाट वञ्चित भएका हुन् । जसमा अधिकांश ग्रामीण क्षेत्रका छन् । सरकारी तथ्यांक अनुसार कर्णालीका तीन सय २३ वटा वडाहरू अझै पनि स्वास्थ्य संस्थाविहीन रहेका छन् । प्रदेशमा रहेका सात सय २९ वडामध्ये तीन सय २३ वटा वडा स्वास्थ्य संस्थाविहीन भएको पाइएको हो । स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशका अनुसार कर्णालीमा रहेका नगरपालिकाको एक सय २२ वटा वडा र गाउँपालिकाका दुई सय एक वडा स्वास्थ्यसंस्थाविहीन छन् । कर्णालीमा २५ वटा नगरपालिका र ५४ वटा गाउँपालिका रहेका छन् । वडा तहमा स्वास्थ्य संस्था नहुँदा सामान्य स्वास्थ्य समस्या निम्तिदा पनि जिल्ला सदरमुकाम वा अन्य जिल्लामा पुग्नुपर्ने बाध्यतासँग प्रदेशवासी जुधिरहेका छन् ।

गाउँघर क्लिनिकको भर

स्वास्थ्य संस्था नभएका कतिपय स्थानमा भने गाउँघर क्लिनिक सञ्चालनमा ल्याइएको छ । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत विनोद आर्चायले स्वास्थ्य संस्था नभएका वडाहरूमा गाउँघर क्लिनिकबाट स्वास्थ्य सेवा दिने गरेको बताए । जसले केही मात्रामा भए पनि नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरेका छन् । तर यो पर्याप्त छैन ।
सबै वडाहरूमा स्वास्थ्य संस्था हुनुपर्ने सरकारको नीति रहेको भन्दै अबको पाँच वर्षमा सबै वडाहरूमा स्वास्थ्य संस्था हुने उनको भनाइ छ । कर्णाली विकट भएकाले स्वास्थ्य संस्था नहुँदा नागरिकहरूले सहज रूपमा सेवा पाउन सकेका छैनन् । विभिन्न विकल्पमार्फत सकेसम्म स्वास्थ्य सेवा दिने प्रयास भइरहेको उनको भनाइ छ । ‘स्वास्थ्य संस्था नभएका वडाहरूमा सामुदायिक स्वास्थ्य इकाई छन् । गाउँघर क्लिनिक पनि सञ्चालनमा रहेका छन्’ आचार्यले भने, ‘स्थानीय सरकारले आफैले पनि सामुदायिक स्वास्थ्य इकाई बनाएका छन् । स्वास्थ्य संस्था बनाउन पनि स्थानीय सरकार लागिरहेका छन् । केन्द्र सरकारले पनि सहयोग गरेको छ ।’

केन्द्र सरकारले स्थानीय सरकारलाई स्वास्थ्य संस्थाको भौतिक पूर्वाधारमा सहयोग गर्दै आएको छ । केन्द्र सरकारले स्वास्थ्य संस्थाको भौतिक पूर्वाधारका लागि सहयोग गर्ने गरी स्थानीय सरकारले आफ्नो लगानीमा पनि स्वास्थ्य संस्था बनाउने काम गरिरहेको तथ्याङ्क अधिकृत आचार्यले जानकारी दिए । यसले पनि स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच स्थापित गर्न सघाउ पुग्ने उनको भनाइ छ ।

सामुदायिक नर्स परिचालन

यता कर्णाली प्रदेश सरकारले स्वास्थ्य संस्था नभएका क्षेत्रलाई लक्षित गरी सामुदायिक नर्स कार्यक्रम लागू गर्न लागेको छ । सरकारले स्वास्थ्य संस्था नभएका वडाहरूमा सामुदायिक नर्स कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो । पहिलो चरणमा गाउँपालिकामा रहेका दुई सय एक स्वास्थ्य संस्थाविहीन वडाहरूमा सामुदायिक नर्स परिचालनका लागि तयारी थालेको प्रदेश स्वास्थ्य महाशाखाका प्रमुख बृषबहादुर शाहीले जानकारी दिए । यसका लागि विज्ञापन खोलिसकिए पनि उनले जनाए । शाहीका अनुसार ५९ जना स्टाफ नर्स र एक सय ४२ अनमीका लागि आवेदन खुल्ला गरिएको हो । धेरै जनसंख्या भएको वडामा स्टाफ नर्स र कम जनसंख्या भएको वडामा अनमी परिचालन गरिने तयारी भएको उनले जानकारी दिए ।पहिलो चरणमा गाउँपालिकाहरूमा स्टाफ नर्स र अनमी खटाइँदैछ । निजी स्वास्थ्य संस्थाहरू कम हुने भएकाले पनि गाउँपालिका वडाहरूमा नर्स र अनमी पहिला खटाइने उनले बताए । प्रमुख शाहीले भने, ‘स्टाफ नर्स र अनमीले विशेष गरेर विद्यालय, आमा समूह, गाउँघर क्लिनिकहरूमा केन्द्रित भएर काम गर्नेछन् । बिरामीहरूलाई अस्पतालसम्म रिफर गर्न सहयोग पु¥याउँछन् ।’ उनले यस कार्यक्रमका लागि मन्त्रालयले सात करोड बजेट विनियोजन गरेको पनि जानकारी दिए ।

प्रकाशित मितिः   १७ कार्तिक २०७६, आईतवार १०:२१