यूएसएआईडीसँग साढे ६ करोडको सम्झौता

सुर्खेत : कर्णाली प्रदेशको स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि यूएसएआईडी र कर्णाली प्रदेश सरकारबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले यूएसएआईडीसँग सम्झौता गरेको हो । मन्त्रालयका सचिव मानबहादुर विके र यूएसएआईडी नेपालका मिसन प्रमुख मिस एड्रीयाना हायसले हस्ताक्षर गरेको सम्झौता पत्रमा प्रदेशको स्वास्थ्य क्षेत्रको गुणस्तर सुधारका लागि प्राविधिक सहयोग गर्ने जनाइएको छ ।

मन्त्रालयका सचिव विकेले प्रदेशको स्वास्थ्य क्षेत्रको गुणस्तर सुधारका लागि सम्झौता अनुसारका कार्यक्रमले सघाउ पु¥याउने बताए । स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न विकास साझेदार संस्था यूएसएआईडी नेपाल र संघीय सरकारको अर्थ मन्त्रालयसँग भएकोे द्विपक्षीय सम्झौतालाई कार्यान्वयन गर्न प्रदेशमा पनि सम्झौता पत्रमा हस्ताक्षर भएको उनले जानकारी दिए । सम्झौता अनुसार यूएसएआईडीले कर्णाली प्रदेशमा ६ करोड ६० लाख बजेट खर्च गर्नेछ । वैदेशिक लगानी प्रदेशले संघको अनुमतिविना सिधै ल्याउन नपाइने प्रावधान अनुसार यो कार्यक्रम संघीय सरकारमार्फत नै सर्शत अनुदानमार्फत आएको सचिव विकेले बताए । ‘कर्णालीको स्वास्थ्य सेवा सुधारका लागि नेपाल सरकारको बजेटमार्फत आइसकेको छ । यसलाई प्रभावकारी कार्यान्वयन गराउनका लागि यहाँ पनि सम्झौता पत्रमा हस्ताक्षर भएको हो’ उनले भने ।

सम्झौता पत्र अनुसार यहाँका स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गरिनेछन् । सबै स्थानीय तहलाई समट्ने गरी स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धिका कार्यक्रमहरू संचालन गरिने सचिव विकेले जानकारी दिए । साथै स्वास्थ्य सेवालाई गुणस्तरीय गराउन स्वास्थ्य संस्थाका पदाधिकारीहरूका लागि पनि क्षमता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गरिनेछन् । स्वास्थ्य संस्थाहरूलाई प्रविधिमैत्री गराउन पनि सम्झौतामा सहयोग गर्ने उल्लेख गरिएको छ । उनले मन्त्रालय मातहतका कार्यालयमार्फत कार्यक्रमहरूलाई प्रभावकारी कार्यान्वयन गरिने बताए ।

प्रकाशित मितिः   १७ कार्तिक २०७६, आईतवार १०:०८