बालबालिकाको संरक्षण

कर्णाली प्रदेशबाट वर्षेनी ठूलो संख्यामा बालबालिका हराउने गरेको तथ्यांक छ । जुन प्रत्येक वर्ष बढ्दै गइरहेको पनि छ । कर्णाली प्रदेश प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांक अनुसार पछिल्लो तीन वर्षको अवधिमा मात्रै नौ सय ८४ जना बालबालिका कर्णालीबाट हराएका छन् । आर्थिक वर्ष २०७३÷०७४ यताको अवधिमा ति बालबालिका हराएका हुन् । आर्थिक वर्ष २०७३÷०७४ मा दुई सय ८७ जना हराएका थिए भने आर्थिक वर्ष २०७४÷०७५ मा तीन सय २३ र २०७५÷०७६ मा तीन सय ७६ जना बालबालिका हराएको तथ्यांक प्रहरीसँग छ । यो तथ्याङ्क हेर्ने हो पनि कर्णालीमा बालबालिका हराउनेको दर पनि बर्षेनी बढ्दो छ । हराउनेमा बालकको संख्या बढी रहेको छ । तथ्याङ्कका अनुसार हराउनेमध्ये पाँच सय ११ जना बालक र चार सय ७३ जना बालिका रहेका छन् ।

ठूलो संख्यामा वर्षेनी बालबालिका घर छोडेर हराउने गरेपनि यसलाई नियन्त्रण गर्न कुनै ठोस कदम भने कसैले चालेको छैन । यो केवल तथ्यांक संकलनमै सीमित भएको छ । बालबालिकाहरु हराउनुका अनेक कारण छन् । पहिलो र सबैभन्दा प्रमुख कारण गरिबी रहेको छ । कर्णालीवासीको आर्थिक अवस्था कमजोर छ । तथ्यांक अनुसार यहाँका ५२ प्रतिशत नागरिक नै गरिबीको रेखामुनि छन् । यसको अर्थ दुई छाक टार्नकै लागि समस्या छ । छान र लगाउनकै समस्या भएपछि अन्य आवश्यकताहरु पूरा हुने कुरै भएन । राम्रो शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकताबाटै यहाँका नागरिक वञ्चित हुनुपरिरहेको छ । त्यसैले पनि बालबालिकाहरु घर छोडेर हिड्ने गरेको पाइन्छ । प्रदेशबाट हराउने बालबालिकामध्ये अधिकांश अति विपन्न तथा गरिब परिवारका बालबालिका रहेको विभिन्न अध्ययनले देखाएका छन् । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको कर्णाली प्रदेशको बालबालिकाको अवस्था सम्बन्धी पछिल्लो प्रतिवेदनमा पनि हराएर फेला परेका बालबालिकाहरु आफ्नो जीवन निर्वाह गर्न रोजगारीको खोजिमा हिड्ने गरेको र विभिन्न काममा संलग्न रहेको पाइएको उल्लेख गरिएको छ । कर्णालीका बालबालिकाहरु विशेष गरी रोजगारीका खोजीमा परिवार छोडेर अन्य जिल्ला तथा छिमेकी मुलुक भारतमा जाने गरेको पाइएको हो ।

हराएका बालबालिकाहरु अन्यत्र गएर श्रमिकको रुपमा लगाइएका छन् । श्रम शोषणमा परेका छन् । हिंसामा परेका छन् । आर्थिक अभावकै कारण घर छोड्नुपर्ने अवस्थाको अन्त्य गर्न बालबालिकाका अभिभावक मात्रै होइन राज्यको पनि दायित्व हो । त्यसैले बालबालिकाहरुलाई उनीहरुको आधारभूत आवश्यकता पूरा गर्नेतर्फ ध्यान दिन जरुरी छ । जसले घर छोडेर हिड्ने अवस्थाको अन्त्य गर्न सक्दछ ।

प्रकाशित मितिः   १७ कार्तिक २०७६, आईतवार ०९:५९