सार्वजनिक शौचालयको शिलान्यास

सुर्खेत : वीरेन्द्रनगरका दुई स्थानमा सार्वजनिक शौचालय निर्माण गरिने भएको छ । ती दुवै शौचालयको शिलान्यास गरिएको छ । दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्ने उद्देश्य अनुरूप वीरेन्द्रनगर नगरपालिका सुर्खेत, संयुक्त राष्ट्र संघ विकास कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा अन्तरनिर्भर समाज सुर्खेतले वीरन्द्रनगरको वडा नं. ६ मा रहेको बसपार्क नजिक तथा वडा नं. ८ बुलबुले प्रवेशद्वार नजिक निर्माण गरिने शौचालयको शिलान्यास गरिएको हो ।

शिलान्यास कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, वडा नं. ६ का वडा अध्यक्ष मोतीप्रसाद कँडेल, वडा नं. ८ का वडा अध्यक्ष थमप्रसाद गौतम, संयुक्त राष्ट्र संघ विकास कार्यक्रम फिल्ड कार्यालय सुर्खेतका फिल्ड कोर्डिनेटर रफिक अन्सारी, अन्तरनिर्भर समाजका कार्यकारी व्यवस्थापक विवेककुमार शाहीलगायतको उपस्थिति रहेको थियो ।

वीरन्द्रनगर नगरपालिका कर्णाली प्रदेशको राजधानी समेत भएको कारण बढ्दो जनघनत्वलाई मध्यनजर गरी नगरलाई स्वच्छ र सफा बनाउने कार्यमा सहयोग पु¥याउने लक्ष्यअनुरूप उक्त कार्यक्रम लागू गरिएको अन्तरनिर्भर समाजका कार्यकारी व्यवस्थापक विवेककुमार शाहीले जनाए । वीरेन्द्रनगर नगरपालिकाको ३९ प्रतिशत तथा यूएनडीपीको ६१ प्रतिशत साझेदारीमा करिब एक करोड ३० लाखको लगानीमा शौचालय निर्माण गर्न लागिएको हो । यो कार्यक्रम अन्तर्गत वीरेन्द्रनगर नगरपालिकाभित्र पाँच स्थानमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गर्ने योजना रहेको जनाइएको छ ।

प्रकाशित मितिः   १७ कार्तिक २०७६, आईतवार ०९:५८