महराविरूद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा, साढे सात वर्ष कैद हुनसक्ने

काठमाडौं, १४ कार्तिक ।

निवर्तमान सभामुख कृष्णबहादुर महराविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। सरकारी वकिल कार्यालयले जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेको हो।

आज उनको मुद्दामात्र दर्ता भएको छ। समय अभावले थुनछेक बयान र बहस भने आज हुन सकेन। बहसपछि धरौटीमा रिहा गर्ने वा पुर्पक्षको लागि थुनामा राख्ने अदालतले निर्णय गर्ने छ।

प्रहरीले महरामाथि अनुसन्धान गरी कैद तथा जरिवाना हुनुपर्ने निष्कर्षसहितको प्रतिवेदन शुक्रबार बुझाएको थियो।

२० दिन लामो अनुसन्धानबाट महराले संसद सचिवालयकी एक कर्मचारीलाई जबरजस्ती करणी उद्योग गरेको पुष्टि भएको प्रहरीले जनाएको थियो।

प्रतिवेदनमा महरालाई मुलुकी फौजदारी संहिता २०७४ को बलात्कार प्रयाससम्बन्धी कसूरमा कैद तथा सजायको माग गरिएको थियो। स्रोतका अनुसार अनुसन्धान प्रतिवेदनमा सार्वजनिक पदमा रहेर महरा बलात्कारजस्तो जघन्य अपराधमा संलग्न भएकाले त्यसउपर पनि कारबाही माग गरिएको थियो।

प्रतिवेदन अध्ययनपश्चात सरकारी वकिल कार्यालयले बिहीबार उनीविरूद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गर्ने निर्णय गरेको थियो।

मुलुकी अपराध संहितामा जबरजस्ती करणीमा पीडितको उमेर हेरेर सजाय तोक्ने प्रावधान छ।

अठार वर्ष वा अठार वर्षभन्दा बढी उमेरकी युवती वा महिला भए सात वर्षदेखि दस वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। जबरजस्ती करणी उद्योग गरेको भए त्यसको आधा सजाय हुने व्यवस्था मुलुकी अपराध संहितामा छ।

महरालाई त्यसको आधा सजाय अर्थात् साढे तीनदेखि ५ वर्षसम्म सजाय मागदाबी गर्न सकिन्छ।

महरा सार्वजनिक पदाधिकारी भएकाले डेढी सजाय थप हुन्छ।

करणी उद्योगमा साढे तीनदेखि साढे पाँच वर्षसम्म कैद हुन्छ। डेढी भएकाले साढे सात वर्षसम्म कैद हुन सक्छ।

सरकारी वकिल कार्यालयले यी दुवै कसूर जोडेर पाँचदेखि ७ वर्षसम्म कैद सजाय हुनुपर्ने मुद्दा अदालतमा लगेको छ।

महराले प्रहरीलाई आफूले संसद कार्यालयकी ती कर्मचारीमाथि बलात्कार प्रयास नगरेको बयान दिएका छन्। उनले महिलाको घरनिरै पुगेपनि भित्र नपसि फर्किएको वयान प्रहरीलाई दिएका थिए। प्रहरीले भने ती कर्मचारीको घरबाट महराको चस्मा र जुत्ताको तलुवा बरामद गरेको थियो। महराले बयानमा घटनास्थलमा भेटिएको चस्मा र तलुवा आफ्नो नभएको भनेका थिए। तर वयानको क्रममा सोधिएको अर्को प्रश्नमा भने आफ्नो पुरानो चस्मा देखाएर फसाउन खोजिएको बताएका थिए।

यो घटना बाहिर आएपछि महराले सभामुखबाट राजीनामा दिएका थिए।

उनको पार्टी नेपाल कम्युनिष्ट पार्टीले भने उनलाई सभामुख र सांसद दुवैबाट राजीनामा दिन भनेको थियो। उनले सांसद पदबाट राजीनामा दिएका छैनन्। जाहेरीपछि महरालाई असोज १९ गते प्रहरीले पक्राउ गरेको थियो।

प्रकाशित मितिः   १४ कार्तिक २०७६, बिहीबार १७:३४