कला संस्कृतिका धरोहर

‘लाल पाक्यो बयर…..
हा… है… रुन्छ मन एकलो भएर…..
कुनै समय हरेक नेपालीको मुख मुखमा झुन्डिएको गीत हो यो । यो गीत सुर्खेतीको मात्र नभइ आम नेपालीको मन मस्तिष्कमा बस्न सफल भएको थियो । जुन गीत अहिले पनि त्यत्तिकै लोकप्रिय छ । वरिष्ठ कलाकार भीमबहादुर कार्कीको सुरिलो स्वरमा भरिएको यो गीतले त्यतिबेला चर्चा परिचर्चा निकै पायो । २०२९ सालमा उनले गाएको गीत ‘लाल पाक्यो वयर, रुन्छ मन एकलो भएर’ भन्ने गीतबाटै कार्की नेपाल प्रथम पनि भएका थिए । यो उनको ऐतिहासिक सफलता र सुर्खेतीको चिनारी पनि हो । उनको यस्तै सफलता र आम नेपालीको माया ममताका कारण अझै पनि यसरी गीत गाउने जोस जाँगर भने मरेको छैन । सुमधुर स्वरका धनी कार्की सुर्खेतको मात्र नभै राष्ट्रकै गहना हुन् । लोक कला संस्कृतिको संरक्षण, सम्वद्र्धन गर्नमा उनको महŒवपूर्ण योगदान रहेको छ । सुर्खेती माटोलाई देशमा मात्र नभएर अन्तर्राष्ट्रियस्तरमा चिनाउनको लागि उनले खेलेको भूमिका अतुलनीय रहेको छ । सानैदेखि लोक संस्कृतिका पारखी कार्की जीवनमा कला क्षेत्रको बाटोमा समातेर आफूलाई सन्तुष्टि भएको बताउँछन् । यससँगै आफूले यस क्षेत्रमा डो¥याएका व्यक्तिहरू कालाकारिताको क्षेत्रमा राम्रो गरेको देख्दा उनी खुशी पनि छन् ।

df

उनले बाल्यकालमा गीत गाउन, नाँचमा खुबै रुचि राख्ने गर्थे । लोक संस्कृति भनेपछि उनी हुरुक्कै हुन्थे ।

उनले ‘सुर्खेत बुलबुल ताल…’ ‘हाँस्ने खेल्ने मनमै थियो…’ ‘सबै र फूल सुकेर गयो…’ ‘बासै कलीलै…’ र ‘कस्तो मेरो अभागी कर्म…’ लगायतका ६ वटा भन्दा धेरै गीतहरू रेकर्ड गराइसकेका छन् । जुन गीतमा स्थातीयस्तरको कला र संस्कृति झल्किएका छन् । यी गीतहरू गाउँदा अझै पनि कार्की प्रफूल्लित मात्र हुँदैनन्, उनी आफूले गीत गाउँदाको समयलाई सम्झिदा टोलाउँछन् । सुर्खेती लोक कला संस्कृतिको पहिचान, संरक्षणमा उनको भूमिका प्रशंसनीय छ । जीवनको पाँच दशक भन्दा धेरै समय कलाकारितामा बिताएका कार्कीको यो उमेरमा अझै पनि यसै क्षेत्रमा केही गर्ने अठोट छ । राष्ट्रियस्तरमा सुर्खेतको कलाकारितालाई चिनाएका कार्कीले अझै पनि यसलाई निरन्तरता दिने आफ्नो रुची रहेको बताए । उनले राम्रा–राम्रा अवसरहरू पाउँदा समेत कलाकारितालाई छोडेनन् । उनले कलाकारितालाई पैसासँग कहिले पनि दाजेर हेरेनन् । उनी भन्छन्, ‘मलाई कलाकारिता क्षेत्रमा लागेर कहिल्यै पैसाको लोभ भएन, कलाकारिता लाग्नु मेरो रुचि थियो पैसा कमाउने उद्देश्य थिएन । यसैका कारण कार्की सुर्खेती लोक संस्कृतिको धरोहर बन्न सफल भए । अहिले उनी विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा गीत गाउने, आध्यात्मिक प्रवचन दिने र भजन कृतनमा संलग्न हुने गर्छन् । उनी भन्छन्, ‘मान्छे आखिर मेरेर के नै लागू छ र कालले कसैलाई पनि तेरो मेरो, छिटो ढिलो भन्दैन त्यसैले बाँचुञ्जेल कलाकािरता क्षेत्रबाट नै धर्मकर्ममार्फत् सन्देश प्रवाह गर्छु ।’ भजन, कृतन कार्यक्रममा सहभागी हुन पाउँदा हर्षित हुने गर्छन् उनी ।
२००६ सालमा गोठीकाँडामा जन्मिएका कार्की घरका नौ दाजुबहिनी मध्येका कान्छा छोरा हुन् । उनका बुबा गाउँका मुखिया थिए । उनलाई केही पनि अपुग थिएन् । उनको कलाकारिता विद्यालयस्तरदेखि सुरु भएको हो ।उनको कलाकारितातर्फको रुचि धेरै थियो । तर घरपरिवार उनको रुचिको बाधक थिए । कार्कीले गोठीकाडाँमा अध्ययन गर्दादेखि नै घरमा थाहा नदिएर नै कलाकारिता सुरु गरेका थिए । विद्यालयमा हरेक शुक्रवार–शुक्रवार कार्यक्रम हुने गथ्र्यो । त्यसको नेृतत्व उनले गर्दथे । विद्यालयमा गीत गाउने, नाँच्नेमा जहिले पनि उनी प्रथम हुन्थे । उनको सुमधुर स्वर भएकै कारण गीत गाउनमा त झन् उनी कसैलाई भेट्न दिदैंनथे । विद्यालयको हरेक क्रियाकलापमा सधैं कार्कीकै नेतृत्व रहने गथ्र्याे । विद्यालयको प्रार्थना गर्नका लागि समेत उनैलाई नै जिम्मेवारी दिइने गरिन्थ्यो । नियमित बिहान गाउनुपर्ने राष्ट्रिय गान ‘गाउँछ गीत नेपाली, ज्योतिको पंखा उचाली, जय जय हे नेपाल सुन्दर शान्त विशाल’ गाउन शिक्षकहरूले उनैलाई लगाउने गर्थे । उनी ३ कक्षा पढ्दादेखि नै गायन क्षेत्रमा लागेका थिए । उनी भन्छन्, ‘कलाकारितामा झुकाव भएकै कारण बुबाआमा थाहा नपाउने गरी एक्लै गीत गुनगुनाउने र नाच्न सिक्ने गरेको अनुभव पनि सुनाए । उनका बुबाले जर्मनमा बनेको हार्मोनियम घरमा ल्याएर राखेका थिए । उनले लुकीलुकी आफै गीत गाउँदै हार्मोनियम बजाउन सिक्ने गर्थे । थाहा पाएपछि बुबाले गाली गर्नुहुन्थ्यो, तर उनले आफ्नो साधना गर्न छोडेनन् ।
वि.सं. २०२६ सालमा उनको आमाको निधन भयो । त्यसको एक वर्ष नपुग्दै २०२७ सालमा उनको बुबाको पनि निधन भयो । बुबाआमाको शेषपछि उनलाई खुलेर कला क्षेत्रमा लाग्न कसैले रोकेन । बुबाको मृत्युको एक वर्षपछि उनले आफ्नै घरमा स्वतन्त्र कलाकार समूह सञ्चालन गरे । त्यस समयमा बालकृष्ण मानन्धर, प्रेमदेव गिरी, टेकराज भारती, टिकाभक्त भारती, गोपाल बस्नेत लगायतका साथीहरूसँग मिलेर कार्कीको अध्यक्षतामा स्वतन्त्र कलाकार समूह गठन गरी सञ्चालन गरेका थिए । त्यस समूहबाट केन्द्रबाट गायन, बाद्यवादन, हार्मोनियम बजाउन र नाच्न सिकाउने गरिन्थ्यो । त्यसबेला गाउनेलाई गाइने र बजाउनेलाई वादी भन्ने प्रचलन भएका कारण उनीहरूलाई पनि समाजले त्यही संज्ञा दिने गथ्र्याे । तर उनीहरूले अरुले जे भने पनि त्यसको प्रवाह नगरेर लोक कला संस्कृतिको संरक्षणमा लागे । त्यसपछि उनको समूहले अञ्चल, क्षेत्रीय र राष्ट्रियस्तरका सांस्कृतिक कार्यक्रमहरूमा भाग लिने अवसर पायो । कार्कीले पहिलो पटक २०२८ सालमा नेपालगन्जमा अञ्चलस्तरीय सांस्कृतिक कार्यक्रममा भाग लिएका थिए । सो प्रतियोगिताबाट तितो अनुभव लिएर उनी सुर्खेत फर्किए र अझ बढी साधना गर्न थाले ।

त्यसबेला हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा रेडियो नेपालको आयोजनामा राष्ट्रिय नाँचघरमा लोक गीत सम्मेलन हुन्थ्यो । सम्मेलनमा अञ्चल अनुसार सहभागी गराइन्थ्यो । कार्कीले अञ्चलबाट नभएर जिल्लाबाट सहभागी गराउनुपर्ने प्रस्ताव राखे । जिल्ला प्रशासन कार्यालयमार्फत् कलाकार छनौट गरेर पठाउने जिम्मेवारी प्रमुख जिल्ला अधिकारीलाई हुन्थ्यो । त्यसबेला बन्धु पन्त सुर्खेतका प्रमुख जिल्ला अधिकारी थिए । पन्त बेला–बेलामा उनको स्वतन्त्र कलाकार समूहमा जाने गर्थे । उनले भने, ‘प्रजिअ पन्तले मलाई नै लोक गीत सम्मेलनमा भाग लिने कलाकार छान्नका लागि जिम्मेवारी दिए, तर मैले प्रमुख जिल्ला अधिकारीलाई प्रतिस्पर्धा गराएर सहभागी छनौट गर्न
आग्रह गरें ।’ पछि कार्कीको नेतृत्वमा लोक गीत सम्मेलनमा भाग लिनका लागि ६ जनाको सहभागी टोली काठमाडौं जाने अवसर पाए । अफसोच त्यसवर्ष राजा महेन्द्रको मृत्यु भएको कारण त्यो सम्मेलन हुन सकेन ।
फेरि अर्को वर्ष २०२९ सालमा उनले भाग लिने अवसर पाए । पहिलो पटक प्रतियोगितामा भाग लिएर काठमाडौं जाँदा अहिलेको जस्तो स्रोत साधन थिएन । हिँडेर नेपालगन्जसम्म जानुपर्ने र काठमाडौं पुग्नलाई भारत हुँदै जानुपथ्र्यो । उनीहरू त्यस समयमा ७ दिन लगाएर काठमाडौं पुगेका थिए । मेहेनतका साथ गएकाले काठमाडौं पुगेर प्रतियोगितामा प्रथम पनि भए । उनकै रचना रहेको गीतमा उनकै स्वरमा ‘लाल पाक्यो बयर… हा… है… रुन्छ मन एकलो भएर’ गीतको बोलमा उनी नेपाल प्रथम भए । जुन गीत रेडियो नेपालमा रेकर्ड पनि गरिएको छ । उनले गाएको यो गीत अहिले पनि सुर्खेतीको मनमा मात्र नभएर आम नेपालीको ढुकढुकीमा रहेको छ । उनी भन्छन्, ‘म नेपाल प्रथम हुँदा धेरै खुशी भए त्यो भन्दा बढी सुर्खेती लोक कला संस्कृतिलाई उनले राष्ट्रव्यापी परिचय बनाउन पाए । यस्तै–यस्तै सफलताका कारण कला क्षेत्रमा लागकोेमा उनलाई पछुतो छैन ।
वि.सं. २०४२ सालमा पनि उनको समूह राष्ट्रिय प्रतियोगितामा प्रथम हुन सफल भएको थियो । त्यसबेला उनको १२ जनाको समूह सुर्खेतबाट कार्यक्रममा भाग लिएको थियो । उनले गाएको गीतमा नृत्य गरेर सुर्खेती समूह प्रथम हुन सफल भएको थियो । त्यसैगरी २०४५ सालमा नेपालमा सम्पन्न सार्क सम्मेलनमा समेत उनकै समूहले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने अवसर पाएको थियो । यसको नेतृत्व पनि कार्कीले गरेका थिए । देउती बज्यै सांस्कृतिक कला परिवारको अध्यक्ष भएर कलासंस्कृति संरक्षणको सुरुवात गरेका उनी अहिले सुर्खेतका विभिन्न कला क्षेत्रसँग सम्बन्धित संघ–संस्थाहरूको सल्लाहकार भइ यसलाई निरन्तरता दिएका छन् । बाल्यकालमा उनकी आमाले उनलाई जहिले पनि टोपी लगाउन आग्रह गर्थिन् भने बुबाले पाइन्ट लगाउन बन्देज गर्थे । उनले भने, ‘मलाई ढाकाको टोपी लगाएको राम्रो देखिन्छ भनेर आमाले भन्नुहुन्थ्यो । बुबाले पाइन्ट लगाउन दिनुहुन्थेन् ।’ उनको परिवारमा पाइन्ट लगाउने उनी मात्र थिए ।
वि.सं. २००६ चैत २७ गते गढी ४ गोठिकाडाँमा स्व. पिता मुखिया मनहर्क कार्की र माता देवकुमारी कार्कीको कोखबाट ९ भाइबहिनी मध्ये कान्छा छोराका रूपमा जन्मेका कार्की बाल्य अवस्थामा मिलनसार स्वभावका थिए । उनले बाल्यकालमा गीत गाउन, नाचमा खुवै रुचि राख्ने गर्थे । लोक संस्कृति भनेपछि उनी हुरुक्कै हुन्थे उनी । पछिल्लो समय लोकगीतको नाममा पश्चिमेली संस्कृतिले गर्दा लोक संस्कृतिको संरक्षण हुन नसकेको उनको बुझाइ छ । उनी अहिले पनि सबैलाई लोक संस्कृति बचाउन अनुरोध गर्दै हिँड्छन् । कलाकारहरू पीडित भएकोले सरकारले कलाकारहरूको संरक्षणमा ध्यान नदिएकोमा उनको गुनासो छ । ‘पछिल्लो समय लोक संस्कृति लोप हुँदै गएको छ, यसको संरक्षण र सम्वद्र्धन हुन सकेको छैन् उनी Bhimभन्छन्, ‘यसका लागि हामी सबै एक भएर लाग्न आवश्यक छ ।’ आफूहरूको योगदानको कारण सुर्खेती कलासंस्कृति मुलुकभर नै अहिले पनि अब्बल दर्जामा रहेको कार्की बताउँछन् ।
धन नकमाए पनि यस क्षेत्रमा लागेर ख्याती कमाउन पाएकोमा गर्व गर्छन् उनी । आफूले सिकाएका कलाकारहरूले पनि राष्ट्रकै शिर उचो बनाउन सफल भएको प्रति उनी सन्तुष्टि व्यक्त गर्छन् । प्रशान्ति वृद्धाश्रमको सल्लाहकार समेत रहेका कार्कीले त्यहाँ हरेक शनिवार आयोजना हुने भजन कृतन कार्यक्रमको संयोजन समेत गर्दै आएका छन् । अझैपनि दुई–तीन वटा गीतहरू रेकर्ड गर्ने सोच बनाएका कार्कीको आधा दर्जन बढी गीतहरू रेकर्ड गरिएका छन् ।

प्रकाशित मितिः   २९ असार २०७३, बुधबार ०४:११