चुनौतीका पहाड छिचोल्दै
उनको दुवै खुट्टा चल्दैनन् । ह्वीलचेयरको साहाराले हिँड्डुल गर्छन् । घरमा पनि उनी प्रायः ह्वीलचेयरमै बसिरहेको भेटिन्छन् । विगत एक दशकदेखि ह्वीलचेयर उनको शरीरकै ‘अभिन्न अङ्ग’ बनिसकेको छ । ह्वीलचेयरकै साहारामा जिन्दगी डो¥याइरहेका राजन कँडेलका कुरा सुन्दा लाग्छ उनी आत्मविश्वासका खानी हुन् । उनी भन्छन् ‘अपाङ्गता हुँदैमा जीवन समाप्त हुँदैन, हिँड्ने बाटो मात्रै फरक हुने हो ।’
२०६३ साल साउन ५ गते । उनको जीवनमा एउटा ठूलो दुर्घटना निम्तिएको दिन । त्यही दुर्घटनाले आज उनलाई ह्वीलचेयरको साहारमा बाँच्नुपर्ने बनाएको छ । उनी स्तानकोत्तर अध्ययन गर्दै थिए । शोधपत्र मात्रै बाँकी थियो । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कान्ति छात्रवासमा बस्थे । रातको करिब नौं बजे उनी छतबाट लड्न पुगे । चिप्लिएर भुइँमा पछारिए । बेहोस् भएका उनलाई अस्पताल पु¥याएपछि मात्रै होस खुल्यो ।
‘हिँड्न त सक्दैन यसले के गर्न सक्छ र ? कठै, विचराको जिन्दगी नै सकियो भनेको सुन्थें । त्यतिबेला मन दुख्थ्यो तर हाम्रो सामाजिक अवस्था र चेतनाको स्थितिबारे जानकार भएकाले पनि यसतर्फ ध्यान दिइन बरु मैले केही गरेरै देखाउनुपर्छ भन्ने आँट सिर्जना हुन्थ्यो ।’
दुर्घटना हुँदा उनको टाउकोमा बेस्सरी चोट लागेको थियो । कानबाट रगत बगेको थियो । चिकित्सकहरूले पनि उपचारका क्रममा टाउकोमा ध्यान दिए । किनभने कानबाट रगत बग्नु अत्यन्तै खतराजन्य अवस्था थियो । उनको टाउकोको समस्या त समाधान भयो तर कम्मरभन्दा मुनीको भाग नचल्ने भयो । दुवै खुट्टाले काम गर्दैनन् ।
दुवै खुट्टा चल्न नसक्ने भएको सुन्दा उनी छाँगाबाट खसे जस्तै भए । अब त केही गर्नै सकिन्न कि भन्ने पनि सोचे । तर यस्तो सोचलाई उनको आत्मविश्वासले जित्यो । उनी आफै पढेलेखेका थिए । अपाङ्गता भएर पनि जीवनमा सपाङ्ग व्यक्तिहरूलेभन्दा बढी प्रगति गरेका व्यक्तिहरूको बारेमा उनले थुप्रै पढेका थिए । त्यसैले पनि उनले चित्त बुझाए । सोचे, ‘मेरो दुई वटा खुट्टा पो चल्दैन त, दुवै हात चल्छ, मस्तिष्क चल्छ भने मैले किन केही गर्न नसक्ने ?’ २० दिन अस्पताल बसेपछि फर्किएर उनले आफ्नो शोधपत्र पूरा गरे । स्नातकोत्तर उत्तीर्ण पनि गरे ।
दैलेखको चामुण्डामा २०३९ सालमा जन्मिएका राजन पढाइ पूरा गर्नकै लागि काठमाडौं गएका थिए । साउन ५ को घटनाले अपाङ्गता हुन पुगे पनि उनले जीवनदेखि हार खाएनन् । केही गर्न सक्छु भन्ने विश्वास उनमा थियो । त्यसैले वि.सं. २०६४ सालमा काठमाडौंबाट सुर्खेत फर्के । दैलेख जान सक्ने अवस्था थिएन । बरु सुर्खेतमै बसेर शिक्षण पेसा अङ्गाल्ने योजना बनाए । शिक्षण उनको पहिलेदेखिकै रुचि थियो । भन्छन्, ‘यदि म अपाङ्ग नभएको भए पनि शिक्षण पेसामा नै हुन्थें, अपाङ्गता भएर पनि यही पेसामा छु त्यसैले सन्तुष्ट छु ।’ सुर्खेत फर्केपछि उनले सुरुमा आदर्शराज सेकेण्डरी बोर्डिङ्ग स्कुलमा पढाए । उनले क्याम्पसमा पढाउनका लागि पनि प्रयास गरेका थिए । तर तत्कालीन क्याम्पस प्रमुख लगायतले ह्वीलचेयरमा हिँड्नेले पढाउन सक्दैन भनेर उनलाई अवसर दिइएन ।
तर उनी क्याम्पस प्रवेश गरेरै छोडे । त्रिभुवन विश्वविद्यालयका तत्कालीन रजिस्ट्रार विवेक चापागाईंसहितको टोली सुर्खेत आएको थियो । राजनले आफूले पढाउन सक्ने कुरा उनीहरूसँग राखे । ‘मेरा समकालीन साथीहरूले पढाउन सक्छन् भने मैले किन नसक्ने ? म पनि पढाउन चाहन्छु भनेर कुरा राखें उहाँहरूले सहयोग गर्ने बचन दिनुभयो । संयोगले मलाई पढाउने गुरु विष्णुहरी शर्मा सानोठिमी क्याम्पसमा जानु भयो र उहाँको सहयोगमा म क्याम्पस छिरें ।’ २०६५ देखि सुर्खेत क्याम्पस शिक्षामा अङ्ग्रेजी विषय अध्यापन गर्दै आएका छन् ।
अध्यापनका क्रममा उनले समकक्षी शिक्षक र विद्यार्थीहरूबाट पनि सहयोग
पाए । ‘ह्वीलचेयर जान सक्ने कक्षा थिएनन्, विद्यार्थीहरूले नै मलाई बोकेर कक्षामा लैजान्थे । अरु शिक्षकहरूले पनि मलाई सहयोग गर्नुभयो’ आफूले पाएको सहयोग सम्झिए उनले । अध्यापनमा उनलाई खासै समस्या भएन । उनको रुचि पनि अध्ययापनमै भएकाले पनि उनी यसमा रमाए । सबैको सहयोग पनि पाए ।
उनलाई सधैं आफूले उदाहरणीय काम गर्नुपर्छ भन्ने लाग्थ्यो । अरुले भन्दा राम्रो गर्नुपर्छ भन्ने सोच्थे । त्यसै गर्दै पनि गए । हुन त अपाङ्गता नभएको भए अझ धेरै गर्न सक्थें भन्ने त लाग्छ उनलाई तर यसैको पिर लिएर बस्दैनन् । जुन अवस्थामा छु त्यसैमा राम्रो गर्नुपर्छ भन्ने उनको धारणा छ । आफ्नै आम्दानीबाट उनले वीरेन्द्रनगरमा घर बनाएका छन् । परिवार उनैले पालेका छन् । उनलाई जस्तोसुकै दुःख र कष्टमा पनि साथ दिने श्रीमती छिन् । साथीभाइहरूले पनि परेकोबेला सहयोग गर्छन् । हिम्मत नहारेर अघि बढे अपाङ्गता भएका व्यक्तिहरू पनि सुखसयलको जिन्दगी जीउन सक्छन् भन्ने गतिलो उदाहरण बनेका छन् राजन ।
प्राध्यापन सँगसँगै उनी सामाजिक कार्यमा पनि सक्रिय छन् । विभिन्न सङ्गठन र संस्थाहरूमा नेतृत्व प्रदान गरिरहेका छन् । नेपाल इंग्लिस ल्वांग्वेज टिचर एसोशियन
(नेल्टा) सुर्खेतको उपाध्यक्ष पदमा रहेर काम गरिरहेका छन् । त्यसैगरी नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन इकाई समिति सुर्खेत क्याम्पस शिक्षाको अध्यक्ष र नववौद्धिक एकता बचत तथा ऋण सहकारी संस्थाको समेत अध्यक्षको रूपमा उनले जिम्मेवारी सम्हालिरहेका छन् । भन्छन्, ‘मैले गर्नुपर्ने जति काम त मैले गरिरहेकै छु, अपाङ्गता हुँदैमा मलाई यस्ता काम गर्न कुनै बाधा छैन ।’
समाज जतिसुकै शिक्षित भए पनि अपाङ्गता भएकाहरूप्रति हेर्ने दृष्टिकोण र गर्ने व्यवहारमा अझै सुधार आउन सकेको छैन । राजनले पनि यस्तो भोगेका छन् । ‘हिँड्न त सक्दैन यसले के गर्नसक्छ र ? कठै, विचराको जिन्दगी नै सकियो भनेको सुन्थें । त्यतिबेला मन दुख्थ्यो तर हाम्रो सामाजिक अवस्था र चेतनाको स्थितिबारे जानकार भएकाले
पनि यसतर्फ ध्यान दिइन बरु मैले केही
गरेरै देखाउनुपर्छ भन्ने आँट सिर्जना हुन्थ्यो’ उनले भने ।
अपाङ्गता भएकाहरूलाई हेर्ने सामाजिक दृष्टिकोणमा परिवर्तन जरुरी रहेको उनी बताउँछन् । अपाङ्गता भएका व्यक्तिहरू माग्ने हुन भन्ने सोचाइ अझै पनि कायमै छ । त्यसको अन्त्य हुनुपर्ने राजन बताउँछन् । ‘राज्यले नै यो अपाङ्ग र असक्त छ सहयोग गर्नु भनेर माग्ने प्रमाणपत्र दिएर पठाइदिने गरेको छ, त्यसको अन्त्य हुनुपर्छ अपाङ्गता भएकाहरूलाई बरु अवसर दिनु राज्यको कर्तव्य हो’ उनले भने ।
शैक्षिक संस्था, सरकारी कार्यालय, यातायात र सडक अपाङ्गमैत्री नभएको गुनासो भने छ राजनसँग । सडकमा ह्वीलचेयरमा हिँड्दा ठूला गाडीहरूको हेपाइ भोग्नुपरेको उनको अनुभव छ । ‘एक त सडक नै साँघुरा छन्, हामी ह्वीलचेयरमा हिँडिरहेका हुन्छौं ठूला गाडीले साइड नै दिँदैनन् । दुर्घटनाको जोखिम पनि बढी हुन्छ ।’ उनले भने । सवारी चालकहरूलाई ट्राफिक प्रहरीले यसतर्फ सचेत गराउनुपर्ने उनले बताए । त्यसैगरी अपाङ्गता भएकाहरूलाई शिक्षामा सहज पहुँच हुनुपर्ने बताउँछन् ।
दुःख त कसको जिन्दगीमा पर्दैन र ? सबैले भोगेकै हुन्छन्, कसैले बढी कसैले कम । राजनले पनि भोगे । तर आफूलाई हिँडाउने दुवै खुट्टा नचल्दाको पीडालाई भुलेर उनले खुशीको जिन्दगी बाँचिरहेका छन् । सङ्घर्ष गर्यो, हिम्मत हारेन र आँट ग¥यो भने अपाङ्गता भएका व्यक्तिहरूको जिन्दगी पनि सुन्दर हुनसक्छ । राजनलाई पनि यस्तै
लाग्छ । त्यसैले त उनी भन्ने गर्दछन्, ‘अपाङ्गता हुनु भनेको जीवनको समाप्त होइन, हिँड्ने बाटो मात्रै फरक भएको हो ।’
साझा बिसौनी संवाददाता ।