हिम्मत नहारेकी हरिमाया

जीवन सङ्घर्षको खुला मैदान हो । हरिमाया शर्माको जीवन भोगाइले यसै भन्छ । आफ्नो जीवनका ३४ औं बसन्तसम्म आइपुग्दा उनले चुनौतीका थुप्रै पहाड छिचोलिन् । पाइलापिच्छे भेटिने काँडाहरू पन्छाउँदै जिन्दगीमा फूलहरू फुलाउने उनको प्रयास जारी छ । उनी भन्छिन्, ‘जीवन भनेकै सङ्घर्ष हो, त्यसैले सङ्घर्ष गर्दै अघि बढ्नुपर्छ सफल भइन्छ ।’ वि.सं. २०३९ सालमा दैलेखको खुर्सानीबारीस्थित एउटा सामान्य परिवारमा जन्मिएकी हुन् उनी । घरको आर्थिक अवस्था मजबुत त थिएन तर उनको परिवार खुशी र सन्तुष्टीको जिन्दगी बाँचिरहेको थियो ।Kari maya 2
दुई दाजुभाइ, चार दिदीबहिनी र बाबाआमाको साथमा आफ्नो सुन्दर भविष्यको परिकल्पना गरिरहन्थिन् । उनका दाइ भाउजु नै शिक्षक भएका कारण पनि उनको भविष्यको लक्ष्य सरकारी जागिर या त शिक्षक बन्ने थियो । जे बने पनि सरकारी जागिर खाने उनको त्यो सपना पूरा हुन भने सकेन । उनले भनिन्, ‘मेरो सपना राम्रो विषय पढेर सरकारी जागिर खाने थियो तर, समय र परिस्थितिले जीवनको बाटो अन्तैतिर मोडिदियो ।’ अन्ततः उनी राजनीतिमा प्रवेश गरिन् । हरिमायाले यस्तो राजनीतिक यात्रा रोजिन जहाँ काँडा मात्र होइन बम र बारुदसँग पैंठेजोरी खेल्दै हिँड्नुपथ्र्यो ।
उनका दाइ शिक्षक थिए, गाउँमा राजनीति गर्थे । दाइको राजनीतिले विस्तारै परिवारमा नै राजनीतिक वातावरण बन्न थाल्यो । हरिमायालाई लाग्न थाल्यो कि समाज परिर्वतन त राजनीतिकबाट मात्रै सम्भव छ । उनलाई पनि विद्यार्थी राजनीतिले छुन थालिसकेको थियो । उनका दाइ तत्कालीन नेकपा माओवादी पार्टीमा प्रवेश गरिसकेका थिए । पार्टीमा प्रवेशपछि उनीहरूले गाउँमा राम्रो काम पनि गरेर देखाए । तर, गाउँ समाजले उनीहरूले गरेको कामलाई गलत भने । उनीहरूले समाज परिवर्तन आफ्नै घरदेखि गर्नुपर्छ भन्ने सोचले महिनावारी हुँदा गोठमा बस्न हुँदैन भन्ने उदाहरण दिए । तर, गाउँ समाजले उनीहरूले छोएको खान हुँदैन भन्नसम्म पछि परेनन् । शर्मा सम्झिन्छिन्, ‘महिनावारी हुँदा हामी घरभित्र नै बस्न थाल्यौं तर, गाउँ समाजले हामीले छोएको खान हुँदैनसम्म भने तर, हामीले हिम्मत हारेनौं ।’
उनका दाइ पूर्ण रूपमा माओवादी पार्टीमा प्रवेश गरिसकेका थिए । दाइको कारण घरपरिवारलाई प्रहरीहरूले मानसिक तनाब नै दिन थालिसकेको थियो । अझ हरिमाया दैलेख बजारमा बस्ने र विद्यालय जाने बाटो प्रहरीचौकी नजिकैबाट भएकाले दिनहुँ प्रहरी हरिमायालाई जिस्याउने, तेरो दाइ काहाँ गएको छ ? भन्दै मानसिक तनाब दिन थालेको थियो । दाइ भूमिगत भएपछि प्रहरीले हरिमायालाई गिरफ्तार गरेर तीन दिनसम्म थुनेर यातना दियो । उनी भन्छिन्, ‘दाइ माओवादीमा भूमिगत नै हुनुभयो त्यसपछि प्रहरीले हामीलाई मानसिक रूपमा तनाब दिन मात्र होइन मलाई तीन दिनसम्म यातना दिएर थुन्यो ।’ हरिमायाको सपना धेरै पढ्ने र सरकारी जागिर खाने सपनालाई लत्याएर भूमिगत नै हुन बाध्य भइन् । दिनहुँ प्रहरीको त्यो मानसिक तनाव सहनै नसकेपछि पढाइ, घरपरिवार सबै छोडेर भूमिगत हुनुप¥यो । उनले भनिन्, ‘प्रहरीले दिएको तनाब मात्र नभइ आफ्नै ज्यानको असुरक्षा भएपछि म भूमिगत भएकी हुँ ।’ उनी भूमिगत हुँदा त्रिभुवन उच्च मावि दैलेखमा कक्षा ११ मा पढ्दै थिइन् ।
उनी राजनीतिमा प्रवेश गरे पनि पढाइ सकेर प्रवेश गर्ने सोच थियो । तर, प्रहरीको दिनहुँको यातना सहन नसकेर आफ्ना सपनालाई मारेर भूमिगत भइन् । २०५८ सालमा भूमिगत भएकी हरिमाया कहिले जंगलको बास त कहिले गोठको बास बस्दै दिन बिताइन् । हरिमायाको सङ्घर्षका दिन भूमिगत पछि नै सुरु भए । कहिले खाएर त कहिले नखाएर हिँड्नुपर्ने । कति बेला आफू माथि आक्रमण हुन्छ त्यो त्राससँगै युद्धमा होमिनु पथ्र्याे । युद्धको क्रममा आफूसँगै रहेका साथीहरू मारिँदा पनि मृत्युको प्रवाह नगरी युद्धमा लड्नु पथ्र्यो ।
२०५९ साल भदौ २७ गते उनको दाइ नारायण शर्मालाई तत्कालीन शाही नेपाली सेनाले गिरफ्तार गरी डोल्पामा हत्या गरे । दाइको प्रेरणाले नै उनी राजनीतिमा प्रवेश गर्न मद्दत पुगेको थियो । दाइ हत्यापछि उनको लागि प्रेरणा दिने कोही भएन । यदि दाइ नगुमाएको भए राजनीतिक क्षेत्रमा आफूले अझ धेरै प्रगति गर्न सक्थें जस्तो लाग्छ उनलाई । हरिमायाको जीवनमा एकपछि अर्को गर्दै आफन्तको शोक पर्दै गयो । दाइ गुमाएको घाउ पुरिन नपाउँदै त्यही साल माघ २७ गते उनकी बहिनी सीता शर्मालाई जाजरकोटमा सेनाले नै हत्या ग¥यो । जीवनमा उनले यतिसम्म पीडा सहनुप¥यो कि एकपछि अर्काे गर्दै आफन्त गुमाउनुप¥यो । दाइ र बहिनी गुमाउँदाको पीडा सेलाउन नपाउँदै २०६१ साल साउन २७ गते नै उनका बुबा कविराज शर्मालाई छोरा–छोरी माओवादीमा गए भन्दै हात खुट्टा काटेर हत्या गरे । हरिमायाका लागि दिन पनि रात जस्तै भयो । उनलाई लाग्न थाल्यो मेरै जीवनमा मात्र किन यस्तो घटना आउँछ ? किन मैले मात्र आफन्त एकपछि अर्काे गर्दै गुमाउनुपर्छ ? यस्तै प्रश्नहरू मनमा उब्जने गर्थे । तर, उनलाई त्यसको उत्तर दिने कोही थिएन । उनी मनले मनैलाई प्रति प्रश्न गर्ने गर्थिन् ।

Hari maya 3
२०५८ सालमा उनका भिनाजुलाई माओवादीको सुराकी भन्दै बेपत्ता पारे । उनी भन्छिन्, ‘भिनाजुको त अहिलेसम्म अत्तो पत्तो लागेको छैन ।’ बुबा, दाइ, भिनाजु र बहिनीलाई गुमाउँदाको पीडा हरिमायालाई मात्र थाहा छ । उनको त्यो पीडा कसैले बुझ्न सक्दैन । ‘मुटु माथि ढुङ्गा राखी हाँस्नु प¥याछ…’ भने झै हरिमायाको मन पनि त्यस्तै भयो । एकातर्फ एकपछि अर्को गर्दै आफन्तहरू गुमाउँदाको पीडा अर्कोतर्फ युद्धमा कहाँ कतिबेला आफ्नै ज्यान जाने हो भन्ने त्रास र पनि उनले हरेश भने खाइनन् । उनले पीडा नै पीडाको बीचमा पनि जीवनको आफ्नो उद्देश्यलाई कति पनि विचलित हुन दिइनन् । उनको जीवनमा पीडाहरूकै बीचमा अलिकति भए पनि खुशी आयो । त्यो खुशी ऋषि गौतम (राहुल) ले दिएका थिए । राहुलले सुर्खेतबाट हरिमायालाई विवाहको लागि प्रस्ताव पार्टीद्वारा दैलेख पठाएपछि हरिमाया सुर्खेत आइन् । राहुलको पहिलो श्रीमतीलाई पनि प्रहरीले नै २०५६ सालमा वेपत्ता पारेको थियो । उनको पहिलकी श्रीमतीबाट एउटा छोरी थिइन् । हरिमायालाई यो कुरा सबै थाहा थियो । तर, पनि उनी विवाहको लागि राजी भइन् । उनले भनिन्, ‘मलाई राहुलको श्रीमती बेपत्ता पारेको र छोरी रहेको सबै थाहा थियो तर, पनि समाज परिवर्तन गर्न र राहुलको छोरीलाई आमाको ममता दिनको लागि मैले विवाहको लागि राजी भएँ ।’ राहुलको छोरी ज्योति गौतमलाई अहिले पनि उनले दाङमा राखेर पढाइ रहेकी
छिन् । माइतीका आफन्त धेरै गुमाएकी हरिमाया विवाह पछि पनि पार्टीकै सिद्धान्त र उद्देश्यमा लागि रहिन् । जतिको उनको दाइको प्रेरणा उनलाई थियो त्यत्तिकै प्रेरणा राहुलबाट पनि पाइन् । राहुलको प्रेरणाले उनलाई अगाडि बढ्न सहज वातावरण बनाइदियो । उनले भूमिगत हुँदा नै युद्ध पत्रकारिता गरिन् । युद्धविराम भएपछि राहुलसँग खुशीको जीवन बिताइरहेकी हरिमायाको जीवनमा फेरि अर्काे वज्रपात आइप¥यो । २०६६ साल फागुन २७ गते राहुलको सुर्खेत बसपार्कमा हत्या भयो । उनी भन्छिन्, ‘राहुललाई बसले ठक्कर दिएर मृत्यु भएको होइन कसैले उहाँको राजनीतिको अग्रसरतालाई देख्न नसकेर हत्या गर्न लगाइएको थियो ।’ माइतीका धेरै आफन्त गुमाएकी हरिमायालाई श्रीमान् गुमाउँदाको पीडा सहनै नसक्ने भयो । उनलाई लाग्न थाल्यो मेरो जीवनमा मात्र किन यस्तो हुन्छ ? मैले मात्र किन आफन्तहरू गुमाउनुपर्छ ?
राहुलको हत्यापछि उनले जीवनमा धेरै दुःख कष्ट सहनुप¥यो । यदि राहुलको हत्या नभएको भए आज हरिमाया राजनीतिमा धेरै माथि पुगी सक्थिन् । उनी भन्छिन्, ‘राहुल नै मेरो राजनीतिमा अघि बढ्ने प्रेरणा हुनु हुन्थ्यो ।’ उनको जीवनमा श्रीमान् अभावमा जुनसुकै काममा पनि बाधा आइपर्ने महसुस गरिन् । श्रीमान्को मृत्युपछि उनको मन नै परिवर्तन भयो । कसैसँग नबोल्ने, टोलाउने, धेरै मान्छे बोले भने रिस उठ्ने गथ्र्यो उनलाई । राहुलको मृत्यु प्रश्चात् दैनिक कामकाजमा फर्किन केही समय लाग्यो । राहुलको मृत्यु पश्चात् घरमा एक्लै त्यस पनि दुई ज्योति र रियाको साथमा राजनीति गर्न उनलाई निकै गाह्रो भयो । घरपरिवार चलाउनुपर्ने । छोरीहरूको लालन–पालन र पढाइ त छँदै थियो । सँगसँगै राजनीति गर्नु कम चुनौतीपूर्ण थिएन । तर यी सबै कामलाई हरिमायाले निरन्तरता दिइन् । पार्टीको काममा गाउँतिर जानुपर्दा छोरीलाई कहिले आफन्तकोमा, कहिले छिमेकीको राखेर जाने गर्छिन् । उनी विद्यार्थी सङ्गठनको सदस्य, महिला सङ्गठन हुँदै अहिले पार्टीको केन्द्रीय महाधिवेशन आयोजक समितिको सदस्य र अखिल नेपाल महिला संघ क्रान्तिकारीको ६ नम्बर प्रदेशको संयोजकको जिम्मेवारीमा पुगेकी छिन् । त्यसैगरी स्थानीय शान्ति समितिको सदस्य लगायत विभिन्न संघ–संस्थाहरूमा आवद्ध छिन् । घर व्यवहारदेखि पार्टी र संघ–संस्थाहरूमा समेत काम गर्न सफल भएकी छिन् । महिलाहरूले चाहेभने जस्तोसुकै परिस्थितिमा पनि सङ्घर्ष गरेर सफलता प्राप्त गर्न सक्दछन् भन्ने उदाहरण बनेकी छिन्, हरिमाया । उनी भन्छिन्, ‘पुरुषप्रधान समाज र पितृसत्तात्मक सोचका कारण महिलाहरू पछि परेका छन्, अवसर पाउने हो भने उनीहरूले पुरुषहरूलेभन्दा राम्रो काम गर्न सक्दछन् ।’ घरव्यवहार चलाउनेदेखि पार्टी राजनीतिसम्म उत्तिकै सक्रिय हरिमाया राजनीतिमै अघि बढ्न चाहन्छिन् । ‘अहिलेसम्म जे जति गरियो राजनीतिमै गरियो’ उनले भनिन्, ‘बाँकी जीवन पनि राष्ट्र र जनताको सेवाका लागि समर्पित गर्न चाहन्छु ।’ सङ्घर्षबाट खारिएर आएकी उनी सङ्घर्षलाई सफलताको मार्ग ठान्छिन् । भन्छिन्, ‘जीवन सङ्घर्ष हो, सङ्घर्ष गर्दै अघि बढ्नुपर्छ सफल अवश्य भइन्छ ।’

प्रकाशित मितिः   २९ असार २०७३, बुधबार ०३:५७