दैलेखमा नेकपाको समानान्तर कमिटि
दैलेख : दैलेखका स्थानीय तहमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को समानान्तर कमिटी गठन भएको छ । शनिवार पूर्वएमाले र पूर्वमाओवादीका केही असन्तुष्ट नेताले समानान्तर कमिटी घोषणा गरेका छन् । ‘हामीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटी तथा ११ वटै स्थानीय तहका कमिटी घोषणा गरेका छौँ’, नेकपा कर्णाली प्रदेश कमिटी सदस्य अम्मरबहादुर थापाले भने, ‘जिल्ला अध्यक्ष र सचिवबाट पार्टी केन्द्रीय कमिटीको निर्देशन विपरित काम भयो, पुराना नेताको योगदान र संघर्षको कुनै कदर भएन ।’ तीनै तहका कमिटी गठनको क्रममा केही नेताले व्यक्तिगत रूपमा मनोमानी गरेको उनको आरोप छ ।
गत मंगलवार जिल्ला अध्यक्ष रविन्द्रराज शर्मा, सचिव प्रेमबहादुर कटुवाल र केही प्रदेश र जिल्ला कमिटी सदस्यको उपस्थितीमा दुई प्रतिनिधिसभा, चार प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटी, ११ स्थानीय तह तथा ९० वडा कमिटी घोषणा भएको थियो । केही नेताले व्यक्तिगत स्वार्थमा कमिटी गठन गरेको भन्दै असन्तुष्ट पक्ष विरोधमा उत्रिएको हो । पार्टी केन्द्रको नीति र निर्देशन विपरीत जिल्ला अध्यक्ष र सचिवले एकता प्रक्रिया एकलौटी गरेको प्रदेश कमिटी सदस्य पार्वतीकुमारी विशुन्केको आरोप छ । ‘पार्टीका जिल्ला इन्चार्ज लक्ष्मीप्रसाद पोखरेल, सह–इन्चार्ज राजबहादुर बुढा, प्रदेश कमिटी सदस्यहरूसँग कुनै पनि छलफल नगरी घोेषणा गरिएको कमिटी मान्य हुँदैन’, उनले भनिन् ।
असन्तृष्ट समूहको नेतृत्व नेकपा कर्णाली प्रदेश कमिटीका सदस्य अम्मरबहादुर थापाले गरेका छन् । पूर्वएमालेका थापालगायत असन्तुष्ट पक्ष पार्टी अध्यक्षले मनोमानी ढंगबाट संगठन विस्तार गर्न खोजेको भन्दै आक्रोशित छन् । इन्चार्ज लक्ष्मीप्रसाद पोखरेल, सह–इन्चार्ज राजबहादुर बुढा, प्रदेश कमिटी सदस्य पार्वतीकुमारी विशुन्के, टेकबहादुर खाण, सावित्री मल्ल, गोपाल नेपाली, मायाराम अधिकारी लगाएत असन्तुष्ट समुहका हुन् । असन्तुष्ट पक्षले कार्तिक १५ गतेसम्मको अल्टिमेटम दिएको छ । पार्टी नेतृत्व नसच्चिए पुनः भेला गरि जिल्लाका सबै कमिटी गठन गर्ने असन्तुष्ट पक्षले जनाएको छ ।
प्रकाशित मितिः १० कार्तिक २०७६, आईतवार ०८:२४
साझा बिसौनी ।