फूल छोडेर प्लाष्टिकको माला
सुर्खेत : वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ६ हुलाक अगाडि व्यापार गर्दै आएकी बेञ्जु थापाले पसलभरी प्लाष्टिकको माला बिक्रीको लागि राखेकी छन् । हरेक वर्षजस्तै उनलाई यो वर्ष पनि मालाको व्यापार गर्न भ्याई–नभ्याई छ । ग्राहकले सोधेको प्रश्नको उत्तर दिनमै उनी व्यस्त देखिन्छिन् । ‘हरेक वर्ष मालाको व्यापार फस्टाएको छ’ उनले भनिन्, ‘फूलको माला हुँदा हुँदै पनि प्लाष्टिकको मालामा ग्राहकको आकर्षण बढ्दो छ ।’
बुलबुले गिफ्ट कर्नर सञ्चालन गर्दै आएकी थापाले हरेक वर्ष यसरी नै तिहारमा मालाको व्यापार गर्ने गरेको बताइन् । उनका अनुसार यो वर्ष मात्रैे सात लाख रूपैयाँको माला खरिद गरी विक्रीको लागि राखिएको छ । बेन्जुले दिनमा करिब साठि हजार भन्दा बढिको मालाको मात्रै व्यापार गर्ने गरेको बताइन् । उनले छिमेकी देश भारतको कानपुर, लखनऊबाट प्लाष्टिकको माला खरिद गरी विक्रीको लागि राखेकी हुन् ।
अरूबेला भन्दा लक्ष्मी पुजाको दिनमा बढि व्यापार हुने गरेको बेन्जुको भनाइ छ । लक्ष्मी पूजाको दिनमा करिब डेढलाख भन्दा बढिको मालाको व्यापार हुने उनले बताइन् । आफूले थोक तथा फुटकरमा मालाको व्यापार गर्ने गरेको समेत उनले बताइन् । बेञ्जु मात्रै होईन अर्की व्यवसायी लक्ष्मी आचार्यले समेत यो वर्ष तिहारमा करिब दुई लाख पचास हजारको माला मात्रै खरिद गरी बिक्रीको लागि राखेकी छन् । कस्मेटिक पसल सञ्चालन गर्दै आएकी आचार्यले दिनमा चालिस हजार सम्मको मालाको व्यापार गर्दै आएको बताइन् ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर बजार यतिबेला प्लाष्टिकको मालाले झिलिमिली भएको छ । यमपञ्चक सुरू भएदेखि नै पसलअगाडि मालाहरूको लाईन देख्न सकिन्छ । त्यति मात्रै होईन तिहार भित्रीनै लागेको अनुभुती दिनेगरी तिहारका पूजा सामाग्री समेत विक्रीको लागि राखिएका छन् । भाइमिठाई, लक्ष्मी पुजाको सामाग्री, टिका तथा विभिन्न खानेकुराका परिकारहरूले यतिबेला बजार झिलीमिली देखिएको छ । त्यसमा झन् छिमेकि राष्ट्र भारतबाट आयातित प्लाष्टिकको मालाले बजार पहेँलै देखिन्छ । बजारमा किनमेल गर्नेहरूको चाप पनि उत्तिकै देख्न सकिन्छ । बजारको भिडभाडले तिहार आएको झल्को दिन्छ ।
पछिल्लो समय आयातित प्लाष्टिकको मालाका कारण मखमली, हजारी लगायत स्थानीय फूलको माला लोप हुने अवस्थामा पुगेको छ । घरमा फुलेको हजारी, मखमली छोडि बजारमा पाईने प्लाष्टिकको माला लगाउने परम्पराले नेपालीको पहिचान गुम्ने खतरा भएको वीरेन्द्रनगर नगरापालिका वडा नं. ९ का सरोज नेपालीले बताए । उनले देखासिखी गर्ने नेपालीको बानीले संस्कृती धरापमा पर्ने बताए । यसको लागि स्थानीय तथा प्रदेश सरकारले फूल व्यवसायलाई प्रोत्साहन गर्नु पर्ने भनाइ नेपालीको छ ।
प्रकाशित मितिः १० कार्तिक २०७६, आईतवार ०८:२७
साझा बिसौनी ।