‘कर्णालीमा चिनियाँ लगानी भित्र्याउँछौं’

सुर्खेत : संघीय सरकारले अधिकार दिएन भन्दैमा योजना ल्याउन नछोड्ने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् । दश दिने तिब्बत भ्रमण सकेर फर्किएका मुख्यमन्त्री शाहीले विहीवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर यस्तो बताएका हुन् ।

उनले सुर्खेत–हिल्सा सडक खण्डको विषयमा बोल्दै बाहिरी राष्ट्रसँग सिधै प्रदेश सरकारले सम्झौता गर्नको लागि अधिकार नभएपनि संघ सरकारको ध्यानाकर्षणको लागि आफूले कुरा उठाउँदै आएको बताए । सुर्खेत–हिल्सा सडक खण्डको प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको बताउँदै आफूले पहल नगरेको भए अझै त्यो काम नहुने बताए । ‘संघको अधिकार क्षेत्र हो भन्दैमा योजना नै नल्याउने हो भने प्रदेशको विकास सम्भव छैन’ उनले भने ‘आफ्नो प्रदेशका आवश्यकता के हो भन्ने कुरामा संघलाई झकझकाउनु पर्छ ।’ उनले संघीय सरकारसँग पहल गरेरै कर्णालीमा चिनियाँ लगानी भिœयाउने विश्वास समेत व्यक्त गरेका छन् ।

आफ्नो दश दिने भ्रमणले ठुलो सिकाई भएको भन्दै मुख्यमन्त्री शाहीले कर्णालीको समृद्धिका लागि एकिकृत बस्ती विकास योजना आवश्यक भएको बताए । वर्षौदेखि कर्णालीका हिमाली जिल्ला र तिब्बतबीच व्यापारिक सम्बन्ध रहेको भन्दै उनले आफ्नो दश दिने भ्रमणले सम्बन्ध अझै प्रगाढ भएको बताए । यस्तै उनले कर्णाली करिडोर र सुर्खेत–हिल्साको नामको विषयमा विवादित नहुन सबैलाई आग्रह समेत गरेका छन् । ‘जसरी भएपनि कर्णालीको विकास गर्ने हो’ मुख्यमन्त्री शाहीले थपे ‘नामको पछाडि नलागौं । जसरी भएपनि ८ घण्टामा हिल्सा पुग्ने काम कर्णाली करिडोरबाटै हुन्छ ।’

प्रकाशित मितिः   ८ कार्तिक २०७६, शुक्रबार १२:१३