‘कर्णालीले पर्यटनबाटै लाभ लिन सक्छ’
सुर्खेत : उपराष्ट्रपति नन्दबहादुर पुनले कर्णाली प्रदेशले पर्यटन विकासमार्फत आर्थिक समृद्धि प्राप्त गर्न सक्ने बताएका छन् । विहिवार सुर्खेत आएका उनले काँक्रेविहारको अवलोकन गर्दै यस्तो बताएका हुन् । साथै पुनले नेपाली भाषा र संस्कृतीको उद्गम स्थलको रूपमा सिंजा सभ्यता भएपनि लोप हुँदै गएकोमा चिन्ता व्यक्त गरे । पछिल्लो समय हराउँदै गएको सिंजा सभ्यतालाई जोगाउने कार्यमा सम्पूर्ण कर्णालीबासी लाग्नुपर्ने पुनको भनाई रहेको थियो । कर्णालीलाई मात्रै नभई नेपाललाई नै सिंजा सभ्यताको चिनारीको रूपमा अगाडि बढाउनुपर्ने उनले बताए । ‘म कर्णालीको पर्यटन प्रवद्र्धनको लागि यो भ्रमणमा आएको हुँ’ उनले भने ‘यहाँ थुप्रै पर्यटकिय स्थलहरू रहेका छन् । जसलाई विकासको आवश्यकता रहेको छ ।’
नेपाली भाषा तथा संस्कृतीको उद्गम स्थल जुम्लाको सिंजासम्म पुगेर त्यहाँको सभ्यतालाई नजिकबाट हेर्नेको लागि समेत आफू भ्रमणमा आएको पुनले बताए । काँक्रेविहारको अवलोकन गर्न पुगेका उपराष्ट्रपति पुनलाई वीरेन्द्रनगर नगरपालीकाको आयोजनामा स्वागत समेत गरिएको थियो । नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालसहितले उनलाई स्वागत गरे ।
शुक्रवार उपराष्ट्रपति पुन हुम्लाको सिमीकोटमा विद्यालय उद्घाटनको लागि जाने कार्यक्रम रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख पुर्णचन्द्र जोशीले जानकारी दिए । जोशीका अनुसार पुन शुक्रवार नै जुम्लाको कनकासुन्दरी गाउँपालिकाले आयोजना गरेको कर्णाली प्रदेश स्तरिय प्रथम बृहत सिंजा महोत्सव २०७६ को उद्घाटन समारोहमा सहभागी हुनको लागि जुम्ला जाने कार्यक्रम रहेको छ ।
प्रकाशित मितिः ८ कार्तिक २०७६, शुक्रबार १२:१०
साझा बिसौनी ।