यस्ता छन् कर्णालीका पर्यटन योजना

चालु आर्थिक वर्षमा ४६ करोड ९० लाख बजेट विनियोजन

सीता वली, 
सुर्खेत : कर्णाली प्रदेश सरकारले प्रदेशको पर्यटन प्रवद्र्धनका लागि ४६ करोड ९० लाख बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७६÷०७७ का लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजनासहित उक्त बजेट विनियोजन गरेको हो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेश अन्तर्गत पर्यटन प्रवद्र्धनका लागि छुट्याइएको बजेट कार्यान्वयन गर्न विभिन्न दश वटा शीर्षकमा योजनाहरू छनौट गरिएको मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायले जानकारी दिए  ।

उनका अनुसार कर्णाली प्रदेशका दशवटै जिल्लाहरूमा हेलिप्याड निर्माणका लागि सरकारले एक करोड ५० लाख बजेट विनियोजन गरेको छ । प्रदेशका १५ वटा स्थानमा हेलिप्याड निर्माण हुन लागेको हो । त्यस्तै कर्णाली प्रदेशका दशवटै जिल्लाहरूमा पर्यटकीय पदमार्ग निर्माणका लागि समेत सरकारले ११ करोड ४० लाख बजेट विनियोजन गरेको रोकायले बताए । ४३ वटा पदमार्ग निर्माण गर्ने सरकारको योजना रहेको छ ।

त्यस्तै प्रदेशका दशवटै जिल्लाहरूमा पर्यटन सडकका लागि १५ करोड रूपैयाँ सरकारले विनियोजन गरेको छ । पर्यटन सडक समेत प्रदेशका सबै जिल्लाहरूमा निर्माण गरिने रोकायले बताए । उक्त कार्यक्रम अन्तर्गत ३५ वटा पर्यटन सडक निर्माण गर्ने योजना सरकारको रहेको छ । धार्मिक तथा ऐतिहासिक स्थलहरू निर्माण योजनालाई पनि प्रदेश सरकारले प्राथमिकतामा राखेको छ । पर्यटकीय महत्वका धार्मिक तथा ऐतिहासिक स्थल निर्माणका लागि समेत आठ करोड बजेट विनियोजन गरिएको सूचना अधिकारी रोकायले साझा बिसौनीलाई जानकारी दिए । कर्णाली प्रदेशका दशवटै जिल्लाहरूका विभिन्न स्थानमा गरी उक्त धार्मिक तथा ऐतिहासिक स्थलहरू ३५ वटा निर्माण गर्ने योजना सरकारले बनाएको उनले बताए ।

रोकायका अनुसार प्रदेशका सुर्खेत, सल्यान, दैलेख र कालीकोट गरी चारवटा जिल्लाहरूमा नौ वटा पार्क तथा स्वागतद्धार समेत सरकारले निर्माण गर्ने योजना बनाएको छ । जसका लागि तीन करोड रूपैयाँ विनियोजन भएको छ । जुम्ला, जाजरकोट, डोल्पा, दैलेख, रूकुम, सुर्खेत, सल्यानलगायत प्रदेशका सबै जिल्लाहरूमा ६ करोडको लगानीमा २२ वटा होमस्टे तथा सामुदायिक लज निर्माणको तयारी पनि सरकारले गरेको उनले बताए ।

यसैगरी प्रदेशमा पर्यटन प्रवद्र्धन शीर्षकमा एक करोड रूपैयाँ बजेट विनियोजन भएको छ । जुन कार्यक्रम २० पटक सम्म प्रदेशका सबै जिल्लाहरूमा गर्ने योजना सरकारको रहेको छ । यो योजना अन्तर्गत पर्यटकीय स्थलहरूको प्रचार प्रसारलाई प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ ।सांस्कृतिक पर्यटन प्रवद्र्धन कार्यक्रमको लागि समेत सरकारले एक करोड बजेट विनियोजन गरेको छ । उक्त कार्यक्रम प्रदेशका सबै जिल्लाहरूमा १४ पटक गर्ने सरकारको योजना रहेको छ । ‘पर्यटनलाई प्रवद्र्धन गर्नको लागि केही प्रचार–प्रसारको समेत आवश्यकता पर्दछ’ उनले भने, ‘कर्णाली प्रदेशमा भएका विभिन्न पर्यटकीय स्थलहरू प्रचार–प्रसारको अभावमा लुकेर बसेका छन् । जसलाई प्रचार गरी पर्यटक भित्र्याउन सकिन्छ ।’ कर्णाली प्रदेशमा पर्यटन भित्र्याउन सकेको खण्डमा सबैको लागि फाईदा हुने समेत उनले बताए ।

गत वर्ष कर्णाली–रारा पर्यटन वर्ष घोषणा गरेको प्रदेश सरकारले यस वर्ष भने त्यस्तो कुनै ठोस कार्यक्रम ल्याएको छैन । पाँच लाख पर्यटक कर्णालीमाभित्र्याउने लक्ष्यसहित २०७५ साललाई पर्यटन वर्षको रूपमा घोषणा गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली मुगुको रारा पुगेर उक्त कार्यक्रमको घोषणा गरेका थिए । तर उक्त पर्यटन वर्ष उद्घाटनको खर्च पारदर्शी हुन नसक्दा सरकार नै अख्तियार दुरूपयोग अनुसन्धान आयोगको छानविनमा परेको छ ।

प्रदेश सरकारले पर्यटन विकासलाई प्राथमिकतामा राखे पनि कुनै ठोस कदम भने चाल्न सकेको छैन । पुरातात्विक महत्वको काँक्रेविहारदेखि नेपालकै सबैभन्दा ठूलो रारा ताल लगायत दर्जनौं आकर्षक पर्यटकीय गन्तव्य कर्णालीमा छन् । तर तिनको प्रचार प्रसार र प्रवद्र्धन गर्न नसक्दा आकर्षक गन्तव्य बन्न भने सकेका छैनन् । यद्यपी सरकारले पर्यटन प्रवद्र्धनमार्फत् कर्णालीलाई समृद्ध बनाउने योजना भने हरेक वर्ष दोहो¥याउने गरेको छ ।

प्रकाशित मितिः   ७ कार्तिक २०७६, बिहीबार ०९:२५