लगानी भित्र्याउन मुख्यमन्त्रीको जोड
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चिनियाँ लगानी भित्र्याउन विशेष जोड दिएका छन् । दश दिने तिब्बत भ्रमण सकेर स्वदेश फर्किएका उनले तिब्बत भ्रमणका क्रममा कर्णालीको पूर्वाधार विकासमा लगानी भित्र्याउनेबारे छलफल गरेका थिए ।
विशेष गरेर सुर्खेतको चक्रपथ र सुर्खेतदेखि बर्दिया जोड्ने सुरूङ्गमार्ग निर्माणमा लगानी भित्र्याउन विशेष पहल गरेको मुख्यमन्त्री शाहीले बताए । ‘मैले विशेष गरि कर्णाली प्रदेशको राजधानी सुर्खेतको रिङरोड र सुर्खेतदेखि बर्दियासम्मको सुरूङ्गमार्गको निःशुल्क सर्वे गरिदिन त्यहाँको सरकारसँग छलफल गरें’ मुख्यमन्त्री शाहीले भने, ‘त्यहाँको सरकार सकारात्मक छ । यस बिषयमा वातावरण बनाएर संघीय सरकारले अनुमति दियो भने त्यहाँको सरकारको लगानीमा रिङरोड बनाउने भन्ने कुरा भएको छ ।’
त्यस्तै सुर्खेत–बर्दिया सुरूङ्ग मार्गको विषयमा पनि छलफल भएको मुख्यमन्त्री शाहीले बताए । उक्त छलफल पनि सकारात्मक भएको उनको दावी छ । ‘एकिकृत बस्ती विकासको बारेमा संघीय सरकारले अनुमति दिएमा र सम्झौता गर्ने स्थिति बनेमा बनाइदिन सक्छौं भन्ने तरीकाले त्यहाँका कम्पनीहरूले इच्छा देखाएका छन्’ शाही भन्छन्, ‘यो कर्णाली प्रदेशमा एकिकृत बस्ती विकास आवश्यक पनि छ । यस विषयमा कसरी, कुन मोडलमा काम गर्ने भन्ने कुराको वातावरण बन्यो भने त्यहाँको सरकारले आफ्नो अनुभवसहित हाम्रो प्रदेशमा काम गर्ने इच्छा देखाएको छ ।’ संघीय सरकारले त्यसको अनुमति दिनुपर्ने हुन्छ । ‘हामीले वातावरण बनायौं भने संघीय सरकारले अनुमति दिएमा त्यो सम्भव पनि छ । प्रदेशले आफै सम्झौता गर्न मिल्दैन’ उनले थपे ।
यसैगरी कर्णाली प्रदेश र सान्ताउ प्रदेशबीच भगिनी सम्बन्ध बनाउने बारेमा पनि दुई पक्षबीच कुराकानी भएको छ । यो पनि संघीय सरकारले अनुमति दिएमा संभव छ । ‘हामीले वातावरण बनाउने हो । त्यो भएन भने पनि वीरेन्द्रनगर र त्यहाँको सान्ताउ सिटीबीच भगिनी शहरको सम्बन्ध बनाउने कुराको पनि छलफल भयो’ शाहीले भने । यसका साथै तिब्बतका विभिन्न कम्पनीहरूसँग कर्णाली प्रदेशमा लगानी गर्ने विषयमा कुराकानी भएको उनले जनाए । साथै उनीहरूको चासो पर्यटन, पूर्वाधार, कृषी, एकिकृत बस्ती विकास र जडिबुटीमा रहेको पनि मुख्यमन्त्री शाहीले बताए । समग्रमा आफ्नो तिब्बत भ्रमण सफल र फलदायी भएको उनको दावी छ ।
तिब्बत सरकारले हिमालयसँग जोडिएका विभिन्न देशहरूको सहभागीतामा बीआरआई सम्बन्धि तीन दिने कार्यक्रमको आयोजना गरेको थियो । बंगलादेश, नेपाल, पाकिस्तान, म्यान्मार, मंगोलीया लगायतका देशका मन्त्री, मुख्यमन्त्री लगायतका सरकारका प्रतिनिधिहरूको सभागीता रहेको उक्त कार्यक्रममा कर्णालीबाट मुख्यमन्त्री शाही सहभागि भएका थिए ।
प्रकाशित मितिः ७ कार्तिक २०७६, बिहीबार ०९:१९
साझा बिसौनी ।