बिमा प्रभावकारी बनाउ

सरकारले स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ । जस अन्तर्गत् बिमा गरेका नागरिकलाई एक लाख रुपैयाँ बराबरको औषधि उपचार निःशुल्क हुन्छ । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बिमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सक्नेछन् । त्यस्तै, सरकारले तोकेको निःशुल्क औषधी प्राप्त गर्न सक्नेछन् । नेपालको संविधानले ‘नागरिकको स्वास्थ्य बिमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने’ प्रावधान गरेको छ । सोही प्राबधानलाई सरकारले कार्यान्वयनमा ल्याएको हो ।

विशेष गरेर यो आर्थिक रुपमा विपन्न समूदाय लक्षित कार्यक्रम हो । स्वास्थ उपचार नपाएरै ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य गर्ने लक्ष्य सरकारको छ । न्युन आर्थिक अवस्था भएका नागरिकले औषधोपचार गर्न घरवारै बेच्नुपर्ने वा औषधोपचार गर्न नसकी देहत्याग गर्नु पर्ने अवस्था रहँदै आएको छ । यो समस्या समाधानको लागि हाल विश्वका विभिन्न देशमा स्वास्थ्य बिमाको अवधारणा कार्यान्वयन गर्ने अभ्यास बढ्दो छ । नेपालले पनि त्यसलाई अनुसरण गरिसकेको छ । तर यसको कार्यान्व्यनको पाटो भने त्यति प्रभावकारी हुन सकिरहेको छैन ।

सुर्खेतसहित कर्णाली प्रदेशमा पनि स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी भइरहेको छैन । बिमा गरेवापत निःशुल्क पाउने भनिएको उपचार पनि नपाएको विरामीहरुको गुनासो छ । बिमा गर्दा भनिएजस्तै निःशुल्क उपचार पनि नपाउने र प्रक्रिया पनि निकै झण्झटिलो भएको उनीहरु बताउँछन् । स्वास्थ्य बिमा गरेकाले एक हजार एक सय ३३ प्रकारका औषधि निःशुल्क पाउँछन् । तर सबै औषधि स्वास्थ्य संस्थामा उपलब्ध नहुँदा विरामीले सबै सेवा भने पाउन सकेका छैनन् । त्यति मात्रै होइन औषधि भएपनि थोरै मात्र निःशुल्क दिएर अरु औषधि फार्मेसी र बाहिरका मेडिकलबाट किन्न लगाउने गरेको गुनासो समेत आउने गरेको छ । अर्कोतर्फ कर्णालीका सबै नागरिकको पहुँच पनि स्वास्थ्य बिमा कार्यक्रममा पुग्न सकेको छैन । करिब १७ लाख जनसंख्या भएको कर्णालीका ४३ हजार चार सय १७ घरपरिवार यो कार्यक्रममा आवद्ध छन् । स्वास्थ्य बिमा बोर्ड कर्णालीका अनुसार प्रदेशमा एक लाख ८६ हजार चार सय ७१ अथार्त २० प्रतिशतले स्वास्थ्य बिमा गरेका छन् ।

स्वास्थ्य बिमा योजना सकारात्मक हुँदा हुँदै पनि कार्यान्वयन पक्ष फितलो र झण्झटिलो हुँदा नागरिकले लक्ष्यअनुसारको सेवा पाउन सकेका छैनन् । योजना जतिसुकै राम्रो भएपनि त्यसले प्रतिफल दिन सकेन भने त्यो असफल भएर जान्छ । त्यसैले स्वास्थ्य बिमा कार्यक्रमलाई सबैको पहुँचमा पुर्याउन र यसको प्रक्रियालाई सहज तथा सजिलो बनाउनतर्फ सम्बन्धित सबैको ध्यान पुग्न जरुरी छ ।

प्रकाशित मितिः   ७ कार्तिक २०७६, बिहीबार ०९:११