स्वास्थ्य बिमाको सेवा झन्झटिलो

निःशुल्क पाउनुपर्ने औषधि पनि किन्नुपरेको सेवाग्राहीको गुनासो
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका लागि पुगेका सेवाग्राही । (तस्विरः साझा बिसौनी)

मुना हमाल
सुर्खेत : वीरेन्द्रनगर–६, सुर्खेतका ७२ वर्षीय ललित भण्डारी स्वास्थ्य बिमा गरेपछि प्राप्त परिचयपत्र लिएर प्रदेश अस्पताल कालागाउँमा उपचारका लागि पुगे । ‘स्वास्थ्य बिमा नियमावली २०७५’ उनलाई उनले एक लाख रूपैयाँसम्मको स्वास्थ्य उपचार निःशुल्क पाउनुपर्ने हो । तर भण्डारीले भने स्वास्थ्य बिमा गरेको परिचयपत्र देखाउँदा पनि दुई हजार सात सय रूपैयाँ बराबरको औषति भने फार्मेसीबाट किन्नुप¥यो । ‘बिमा गरेपछि उपचारमा एक लाखसम्म निःशुल्क हुन्छ भन्थे’ उनले भने, ‘तर थोरै औषधि निःशुल्क दिएपनि २७ सयको औषधि फार्मेसीबाट किनेँ ।’ परिचयपत्र देखाएपछि सामान्य औषधि निःशुल्क दिने तर आवश्यक औषधि नदिने भन्दै उनले गुनासो गरे ।

यस्तै वीरेन्द्रनगर–१४, गढीका ७६ वर्षीय टोपबहादुर हमालले पनि स्वास्थ्य बिमा गराएका छन् । जसअनुसार उनले पनि निःशुल्क स्वास्थ्यउपचार पाउनुपर्ने हुन्छ । तर उपचारका लागि अस्पताल पुग्दा उनले पैसा तिरेरै औषधि किन्नुपरेको सुनाए । कतिसम्म भने कतिपय औषधि नै अस्पतालभित्र नपाइएर बाहिरका मेडिकलबाटै किन्नुपरेको अनुभव उनीसँग छ । ‘घन्टौँसम्म पर्खिएर पुरै निःशुल्क उपचार पनि पाइदैन’ हमालले भने, ‘महंगो मूल्य हालेर बाहिरका मेडिकलमा औषधि किन्नुप¥यो ।’ नाम लेखाउन र चेकजाँच गर्न निःशुल्क भएपनि औषधि भने प्राय नीजि मेडिकलबाट लिनुपर्ने बाध्यता रहेको उनको भनाई छ ।

भण्डारी र हमाल मात्र होइन स्वास्थ्य बिमाको परिचयपत्र लिएर उपचारका लागि स्वास्थ्य संस्था पुगेका प्रायः सबैको यस्तै गुनासो हुने गरेको छ । बिमा गर्दा भनिएजस्तै निःशुल्क उपचार पनि नपाउने र प्रक्रिया पनि निकै झण्झटिलो भएको उनीहरू बताउँछन् । ‘परिचयपत्र देखाएर मात्रै पनि पुग्दैन’ हमाल भन्छन्, ‘फेरी अस्पतालबाट प्रमाणित गराउनुपर्ने, छाप लगाउनुपर्ने लगायत अनेक झन्झट बेहोर्नुपर्ने रहेछ ।’ ज्येष्ठ नागरिकहरूको सुविधाका लागि भने सरकारले स्वास्थ्य बिमा गरेपनि स्वास्थ्य संस्थाबाट उपचार लिँदा सहज नभएको बिमितहरूको गुनासो रहेको छ ।

यता कर्णाली प्रदेश अस्पतालले भने जनशक्तिको अभावले सहज रूपमा सेवा दिन नसकेको जनाएको छ । स्वास्थ्य बिमा गरेकाहरूको उपचारका लागि छुट्टै व्यवस्था गर्न नसकेका कारण समस्या भएको अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले बताए । ‘एक जना डाक्टरले ८० जना बिरामी हेर्नुपर्ने बाध्यता छ’ उनले भने, ‘त्यसकारण पनि सेवा दिन केही कठिनाइ भएको हो ।’ साथै उनले अब स्वास्थ्य बिमा गरेकाहरूको लागि मात्र छुट्टै कक्षको स्थापना गर्ने तयारी अस्पतालले गरेको समेत जानकारी दिए । ‘हामीसँग अहिले बिरामीको तुलनामा अत्यन्तै न्युन मात्रै जनशक्ति छ’ उनले थपे, ‘त्यसकारण समस्या भएको हो, सेवा सहज बनाउन आवश्यक थप कर्मचारी माग गरेका छौं । विस्तारै हामी सेवालाई सहज र प्रभावकारी गराउँछौँ ।’

स्वास्थ्य बिमा गरेकाले एक हजार एक सय ३३ प्रकारका औषधि निःशुल्क पाउँछन् । तर सबै औषधि स्वास्थ्य संस्थामा उपलब्ध नहुँदा विरामीले सबै सेवा भने पाउन सकेका छैनन् । त्यति मात्रै होइन औषधि भएपनि थोरै मात्र निःशुल्क दिएर अरु औषधि फार्मेसी र बाहिरका मेडिकलबाट किन्न लगाउने गरेको गुनासो समेत आउने गरेको छ ।

स्वास्थ्य बिमा कार्यक्रममा कर्णालीका ४३ हजार चार सय १७ घरपरिवार आवद्ध छन् । स्वास्थ्य बीमा बोर्ड कर्णालीका अनुसार प्रदेशमा एक लाख ८६ हजार चार सय ७१ अथार्त २० प्रतिशतले स्वास्थ्य बिमा गरेका छन् । त्यसमध्ये ५९ हजार चार सय ५१ जनाले स्वास्थ्य सेवा लिएको कार्यालयले जनाएको छ । दैलेख र सल्यान बाहेक प्रदेशका आठ वटा जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागु भएको छ । सुर्खेतमा २१ हजार आठ सय ५० जनाले सेवा लिएका छन् । यी आठ जिल्लामा २४ वटा सेवाप्रदायक स्वास्थ्य संस्था छन् । कार्यालयका प्रमुख अर्जुन पण्डितले सुचिकृत स्वास्थ्य संस्था कम हुनु र ति स्वास्थ्य संस्थामा जनशक्ति कम हुनुले पनि सेवा सहज हुन नसकेको बताए । ‘केही प्रक्रियामा पनि जानुपर्छ । बिरामीको बढी चापले गर्दा पनि सोचे अनुसार तत्तकाल उपचार पाउन सकिदैन । फेरी हामीसँग कम स्वास्थ्य संस्था छन् । बिस्तारै सहज हुँदै जान्छ भन्ने हामीले अपेक्षा लिएका छौँ ।’

प्रकाशित मितिः   ६ कार्तिक २०७६, बुधबार ०८:३०