कार्यविधि बनाइँदै

सुर्खेत : कर्णाली प्रदेशमा प्रदेश बाल अधिकार समिति गठन सम्बन्धी कार्यविधि निर्माण हुने भएको छ । मंगलवार सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले एक कार्यक्रमको आयोजना गरी उक्त कार्यविधिबारे छलफल समेत गरेको थियो । प्रदेश बाल अधिकार समिति गठन, संचालन तथा व्यवस्थापन कार्यविधि–२०७६ निर्माण हुन लागेको हो । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले तयार गरेको उक्त कार्यविधि अनुसार बालबालीकाको संरक्षणका लागि एक उच्चस्तरीय समिति समेत निर्माण गरिने व्यवस्था रहेको छ । उक्त समितिको अध्यक्ष सामाजिक विकास मन्त्री रहने गरी समिति निर्माण गर्ने र प्रदेशमा बालबालिकाको संरक्षण गर्नको लागि निर्माण गरिएको कार्यविधिले कर्णालीका बालबालिको संरक्षण गर्ने सामाजिक विकास मन्त्रालयका बालअधिकार अधिकृत डम्बरबहादुर रोकायले बताए । उनले कार्यविधिमा टेकेर बालबालीकाको क्षेत्रमा राम्रो काम गर्न सकिने समेत बताए ।

छलफलमा सहभागी आवाज संस्थाकी निशा पौडेलले कार्यविधिले  द्वन्द्व पीडितलाई समेट्न नसकेको बताईन् । त्यस्तै सामाजिक विकास मन्त्रालय उच्च शिक्षा शाखाका प्रमुख जवारलाल हमालले कार्यविधिमा थुप्रै दोहोरो अर्थ लाग्ने शब्दहरू भएकोले कानुनले एउटै अर्थ दिनुपर्ने बताए । कार्यक्रममा सहभागी अधिकांशले कानुन निर्माण गर्ने कुरामा हतार नगरिकन कर्णालीका बालबालिकाहरूले यथार्तमा न्याय पाउने गरी निर्माण गर्न सुझाव दिएका थिए ।

कार्यविधिको छलफल कार्यक्रममा भाग लिँदै सामाजिक विकास मन्त्रालयका सचिव डा. मानबहादुर बि.क.ले बालबालिका सम्बन्धी ऐन आवश्यक भएको बताए । उनले यो कार्यविधिलाई थुप्रै तहमा छलफल गराएर मात्रै मन्त्रीपरिषद्मा लैजाने बताए ।

प्रकाशित मितिः   ६ कार्तिक २०७६, बुधबार ०८:२७