खस सभ्यताको प्रचार गर्न महोत्सव

जुम्ला : खस सभ्यताको प्रचार र संरक्षण गर्न जुम्लामा महोत्सव आयोजना गरिने भएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिकाले धार्मिक तथा पर्यटकीय क्षेत्रको पहिचान गर्न तीन दिने पर्यटन तथा सांस्कृतिक महोत्सव गर्ने भएको हो ।
प्रचार प्रसारको अभावमा सिंजा खस सभ्यता ओझेलमा परेको भन्दै महोत्सव गर्न लागिएको गाउँपालिकाका अध्यक्ष नरवीर रावतले बताए । ‘सिंजाको मौलिक संस्कृति, परम्पराको संरक्षण र प्रर्वद्धधन गर्ने उद्धेश्यसहित कार्तिक ८ देखि १० गतेसम्म महोत्सवको गर्न लागेका छौँ’, उनले भने । महोत्सवमार्फत सिंजाका ऐतिहासिक कुरा झल्काउने कनकासुन्दरी मन्दिर, पाण्डपगुफा, विराट दरबार, लामाथाडा, लासिपाटन, धोबीघाट, सिउबाघ, गौरीनौधारा लगायत दर्जनौं धार्मिक तथा प्रर्यटकीय स्थलको प्रचार हुने अपेक्षा गरिएको छ ।

महोत्सवमा खाना, सिंगारू नाँच, धाउसिला नाँच, चम्फा नाँच, बालोनाँच, ढालनाँच, मगंल झोडा, पञ्चेबाजा, बालो नचाउने लगायतका परम्परागत सांस्कृतिक झाँकी प्रर्दशन गरिने छ । चौथो गाउँसभाको निर्णयानुसार कनकासुन्दरीस्थित पर्यटकीय क्षेत्रको प्रचारका लागि महोत्सव गर्न लागिएको हो । गाउँपालिका उपाध्यक्ष उर्मिला खत्री (भण्डारी) का अनुसार सिंजा सभ्यता र यसको महŒवबारेमा अध्ययन गर्न चाहने व्यक्तिलाई महोत्सवले सहयोग गर्नेछ । महोत्सवमा सिंजाको मौलिक पहिरन, पुरूषको पहिरनमा दोचा, दोफर, (जुत्ता मोजा) उनीको सुरूवाल, उनीको बख्खु (दौरा सुरूवाल) उनीको पाखा कोट, भाँउरोको गान्दो, ढाँका टोपी लगायत पहिरन लगाउने छन् । महिलाहरूले पनि आफ्नै मौलिक पहिरनमा ठेटुवाको गावन, टुन्डेलाको फरिया, लहरे डौठो, फर्का बादको डौठो, कालो काम्लो, कुकुर छाप डौठो, ठेटुवाको घाग्रो, झम्के बुलाखी, फुली, कल्ली, बाला, ज्याले, एक्गेडे माला, ठिमुराको माला, पातेमुन्ना, चाँडीको डरको माला, छिपो लगायत पहिरन लगाउने जाइएको छ ।

जुम्ला जिल्ला खस भाषाको जननी थलो हो । सिंजा इतिहासदेखि वर्तमानसम्म नेपाली भाषा, सभ्यता र संस्कृतिको जननी थलोका रूपमा यो ठाउँ परिचित छ । त्यसका साथै सिंजा बौद्ध धर्मको संवर्द्धक र सम्भारक थलो रहेको इतिहासले देखाएको छ । यस क्षेत्र देउडा संस्कृतिको भूमि पनि हो ।

प्रकाशित मितिः   ६ कार्तिक २०७६, बुधबार ०८:२३