ओली–प्रचण्ड दुरी

काठमाडौं : पार्टी एकता गरेको १७ महिनामै दुरी बढेपछि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष
आ–आफ्नै रणनीति बनाउन लागि परेका छन् । एकता प्रक्रियाबाट अलग हुँदा नकारात्मक सन्देश जाने र तत्काल विभाजनको पनि सम्भावना नदेखेपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रणनीति बदलेका हुन् । ओलीले नेताहरूको कार्यविभाजन गर्दा आफ्नो अनुकूल बनाउने, रिक्त सभामुख चयनमा प्रचण्डलाई विश्वासमा लिएर जाने योजना बनाएका छन् भने प्रचण्डले पार्टीको संगठन, प्रतिपक्षीसँगको सम्बन्ध विकास र अन्र्तराष्ट्रिय सम्बन्ध मजबुत बनाउने रणनीति लिएका छन् ।

एकता भएको छोटो अवधिमै अध्यक्ष तथा प्रधानमन्त्री ओलीको ‘कार्यशैली’लाई लिएर सतहमा देखिने गरी दुरी बढेपछि प्रचण्डले नयाँ रणनीति तय गरेका हुन् । प्रचण्ड निकट स्थायी कमिटी सदस्य लेखराज भट्टले पछिल्ला दिनमा प्रचण्डले पार्टीको संगठनलाई चुस्त र व्यवस्थित राख्नेगरी काम गरिरहेको बताए । नेता भट्टले अध्यक्ष प्रचण्डले तीनवटा विषयलाई रणनीतिक रूपमा अघि बढाएको जानकारी दिए । उनका अनुसार पार्टी एकतापछिको भद्रगोल संरचनालाई व्यवस्थित गर्ने, राष्ट्रिय सहमतिका लागि प्रतिपक्षी कांग्रेससँग सहकार्य गर्ने र अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउने दिशामा प्रचण्ड सक्रिय भएका छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा उनले दिएका पाँच सुझाब कार्यान्वयन गराएपछि मात्रै पार्टीमा आफू बलियो हुन सक्ने प्रचण्डको विश्लेषण छ । ‘नेताहरूबीचमा सम्बन्ध बिगारेर, दूरी बढाएर भन्दा पनि जनता र पार्टी, सरकार र जनताबीचको सम्बन्धलाई बलियो बनाउँदै जनताकै काम गरे आफ्नो जनमत सुदृढ हुने उहाँको बुझाइ रहेको छ’, भट्टले भने, ‘प्रचण्डले अबका दिनमा असन्तुष्टि भन्दा पनि पार्टी एकता गर्दा भएका सहमति सम्झाउने प्रयास मात्रै गर्नु हुनेछ ।’ उनले एकताका क्रममा भएका सहमति र सम्झौतालाई सम्झाउँदा त्यसले पार्टीमा राम्रै प्रभाव पार्ने र त्यो पारदर्शी पनि हुने बताए ।

उता प्रधानमन्त्री ओली भने प्रचण्ड असन्तुष्टिपछिको अवस्था विश्लेषण गरेर नयाँ रणनीति बनाउन थालेका छन् । तर, बाहिरबाट हेर्दा प्रचण्ड र ओलीले आइतवार र सोमवार बालुवाटारमा भेटवार्ता गरेर कुनै दुरी नबढेको सन्देश दिन खोजेका छन् । ओलीलाई भेट्न शनिवार बालुवाटार नगएका प्रचण्ड आइतवार भने ओलीसँग बालुवाटारमा गएर झण्डै दुई घण्टा छलफल गरे । त्यसपछि सोमवार पनि ओली र प्रचण्डबीच आधा घण्टा छलफल भयो ।

प्रकाशित मितिः   ६ कार्तिक २०७६, बुधबार ०८:२१