संघर्ष गर्दै, सफलता चुम्दै

                 डा. सुशीलकुमार शाही

महाबु गाउँपालिका–५ दैलेखका डा. सुशीलकुमार शाही वि.सं. २०३५ साल असारमा जन्मिएका हुन् । बुवा पदमबहादुर शाही र आमा लालकौडाकुमारी शाहीको कोखबाट उनको जन्म भयो । आठ भाइबहिनीमध्ये घरको जेठो छोरा उनी सानैदेखी अनुशासीत थिए । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपप्रध्यापक हुँदै हाल उनी विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्ट(मुसुम)का निर्देशक छन् ।

बालापनमा भने उनले भविष्यका लागि कहिल्यै सपना बुनेनन् । उनका बुवा सरकारी जागीरे भएकोले उनलाई पनि लोकसेवा आयोग पास गरोस् भन्ने चाहन्थे । जागीर भन्दा समाज र देशका लागि केही गर्नुपर्छ भन्ने उनको मनमा हुटहुटि चलिरहन्थ्यो । आफ्ना लागि भन्दा अरुका लागि केही गर्नु महानता भएको बताउने डा. शाहीले हाम्रा सहकर्मी सीता वलीसँग आफ्नो पेशागत जीवनको कथा यसरी साटे :

अहिले त गाउँबाट सरकारी विद्यामलयमा पढेर आएका विद्यार्थीहरू अङग्रेजीमा कमजोर नै हुन्छन् । त्यो बेलामा झन् कस्तो हालत थियो होला ? म पनि गाउँकै विद्यालयमा पढेको मान्छे । अङ्ग्रेजीमा खासै उत्कृष्ट थिईनँ । विद्यालय पनि परिवर्तन गर्दै पढेको हुँ । श्री भगवती माध्यमिक विद्यालय काँशीकाँधमा कक्षा सात सम्म पढेँ । एसएलसी भने श्री विजय माध्यमिक विद्यालय दुल्लु दैलेखबाट वि.सं. २०५२ सालमा गरेको हँु । त्यसपछि प्रविणता प्रमाणपत्र तह(प्लस टू)मा राजनिती शास्त्र पढेँ, तत्कालिन त्रिभुवन उच्च माध्यमिक विद्यालय दैलेखमा । त्यो बेलामा मध्यपश्चिमाञ्चल विश्वविद्यालयको अहिलेको रजिस्टार यामबहादुर कार्कीले मलाई पढाउनु भएको हो ।

एसएलसी पास हुनुभन्दा अघि पढाईमा पनि म खासै उत्कृष्ट होइनँ । सामाजिक कामहरूमा रुचि थियो । त्यसैमा सक्रिय थिएँ । तर एसएलसी पास गरेपछि भने अत्याधिक अध्ययनशील बानी म मा विकास भएको हो । (प्लस टू) पढ्दा–पढ्दै मैले सनराईज बोर्डिङ स्कुलमा समेत अध्यापन गराउने अवसर पाएको थिएँ । त्यो बेलादेखि अङ्ग्रेजीमा मेरो प्रगति भएको हो । मलाई कार्की सरले पढाइमा राम्रो गर्ने भएदेखि जिल्ला छोड्ने सल्लाह दिनुभयो र म दैलेख जिल्लामै राम्रो अङग्रेजी शिक्षक बन्ने उदेश्यले वि.सं. २०५४ सालमा सुर्खेत झरी साविकको बहुमुखी क्याम्पसबाट अङग्रेजीमा आईए
पास गरें ।

सुर्खेतबाट पनि म केही वर्षपछि काठमाडौं हानिएँ । बि.ए. पनि अङग्रेजी विषयमै त्रिभुवन विश्वविद्यालयबाट पास गरें । आरआर क्याम्पसबाट एम.ए. गरेपछि मैले पोखरा विश्वविद्यालयबाट एमफिल समेत गरें । एमफिल गरेलगत्तै पी.एच्.डी. गर्ने सल्लाह प्रोफेसर मोहन लोहनी, श्रीधर लोहनी, पदम देबकोटा सरहरूले दिनुभयो । घरको आर्थीक अवस्था बलियो थिएन । धेरै भाईबहिनी भएको कारण मेरो पढाईमा धेरै खर्च गर्न सक्ने अवस्था थिएन । मलाई धेरै संघसंस्थाहरूबाट समेत पढाईमा सहयोग मिल्यो । त्यसपछि मैले सन् २०१३ मा पीएचडी गरें । साँच्चै गाउँको अङ्ग्रेजीले मलाई प्रोफेसर बनाउने कुरै थिएन । मैले धेरै दुःख गरेको हुँ । म दिनमा करिब ८÷९ घण्टा पढ्थेँ । लगातार पढ्ने बानीले मलाई यो स्थानसम्म ल्याएको हो ।

संघर्ष गर्दै, सफलता चुम्दैसंघर्ष गर्दै, सफलता चुम्दैघरबाट पढ्नको लागि हिँडेको म करिब १४ वर्षपछि पीएचडी सकेर गाउँमा फर्किएँ । गाउँमा नजानुको थुप्रै कारणहरूमध्ये मेरो पढाई पनि थियो । निरन्तर पढ्नुपर्ने भएकोले पनि म गाउँमा गइनँ । अर्कोकुरा म गाउँमा हुँदा द्वन्द्वको प्रभाव पनि थियो । दशैंको समयमा म गाउँमा गएको बेलामा पैसा सबैको हातमा भएपनि दशंैमा खाने खसी थिएन । कृषी सबैभन्दा सम्मानित र समाज विकासमा मेरुदण्ड भएकोले मैले कृषी सहकारी स्थापना गर्ने निर्णय गरें । मेरै अध्यक्षतामा समाज विकास कृषी सहकारी संस्था स्थापना भयो । हालसम्म पनि त्यो संस्था क्रियाशिल छ । मैले संस्था स्थापना गर्दा गाउँबाट ७५ वटा बाख्रा जम्मा गरी शिवपुरी बाख्रा फर्म स्थापना गरें । केही पैसा आँफूले जम्मा गरी स्थापना गरेको हुँ । हाल उक्त सहकारीमा करिब चार सय भन्दा बढि बाख्राहरू छन् । सहकारीको लागि जग्गा र घर समेत मैले मेरै दिएको छु । जसका कारण गाउँमा धेरैले रोजगारी समेत पाएका छन् ।

मलाई त्रिभुवन विश्वविद्यालयमा अध्यापन गराउन मन थियो । एकजना अमरराज जोशी सरले भने मलाई मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्थापना भएको छ । त्यहाँ जाँदा उपयुक्त हुन्छ भन्ने सल्लाह दिनुभयो । त्यो बेलामा मैले पदमलाल देवकोटा सरसँग कुरा राखेँ । सरले पनि अङग्रेजीमा पीएचडी गरेको तिम्रो भविष्य राम्रै छ भन्नुभयो । मैले म.प. विश्वविद्यालयमा मानविकी तथा समाजशास्त्र संकायमा २०७१ सालदेखि अध्यापन गराउन थालेँ । करिब साढे दुई वर्ष ‘पार्ट–टाईम’ अध्यापन गराएँ ।

उपकुलपति प्रा. डा. उपेन्द्रकुमार कोईराला सर पनि सुर्खैत आएपछि मलाई झनै सहयोग भयो । त्यो बेलामा यामलाल कँडेल सरले पनि मलाई सहयोग गर्नुभएको हो । मैले केही समयपछि करारमा नियुक्ति पाएँ । करारमा नियुक्ति पाएका एक वर्षपछि व्यवस्थापन संकायको अङग्रेजी उपप्रध्यापकमा विज्ञापन आह्वान भयो । मैले सबैभन्दा राम्रो अंक प्राप्त गरी सफल भएँ । मैले विश्वविद्यालयको प्राय सबै संकायमा अध्यापन गराउने अवसर पाएको थिएँ । त्यो बेलामा विद्यार्थीहरूले मलाई धेरै माया दिनुहुन्थ्यो । त्यो माया देख्दा यो क्षेत्रमा अझै हौसला बढ्छ ।

मैले आजसम्म जति गरें त्यतिले मन अझै सन्तुष्ट छैन । मेरो समाजको संस्कार, आर्थीक स्थिती र राजनितीक परिवर्तन गर्ने शिक्षा मैले किन आर्जन गरिनँ जस्तो महशुष हुन्छ । यद्यपी धेरै विद्यार्थीहरूको भविष्य कोर्ने काम समेत यो पेशाबाट भएको छ । मलाई एकदमै खुशी पनि लाग्छ । मैले मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टको निर्देशक पद पाएको केही हप्ता मात्रै भएको छ । यसमा मैले १० वर्षे रणनिती बनाएर अगाडि बढेको छु । भर्खरै मात्रै मैले भारतको एक ईन्ष्टिच्युटसँग एउटा सम्झौता गरेको छु । यसले हामी सबैको भलो गर्नेछ ।

मैले थुप्रै कृतीहरू पनि लेखेको छु । ‘हन्टिङ मेलोडिज’ भन्ने मेरो लेखले कर्णालीको ईतिहाँस बोकेको छ । उपन्यासको ५० प्रतिशत अंशले मेरो जीवनको वास्तविकता पनि बोकेको छ । अन्य थुप्रै कृतीहरू समेत मैले प्रकाशित गरेको छ । जीवनमा आइपरेको दुःखको क्षण भन्नुपर्दा करिब दश वर्षको हुँदासम्म मैले नराम्रो सपना देख्थेँ । राती ठुला–ठुला अजिङ्गरहरूसँग लड्नुपर्ने त्यो सम्झँदा डर लाग्छ । मेरो दुःखको क्षण पनि त्यहि हो कि तनाबमा बाँच्नुपर्ने । खुशीको क्षण भन्नुपर्दा देशमा जब प्रजातन्त्र आयो देशले र जनताले स्वतन्त्रता पाए भन्ने मलाई लाग्यो । त्यसले धेरै खुशी दियो ।

प्रकाशित मितिः   ६ कार्तिक २०७६, बुधबार ०८:१८