कार्यालय छ, सेवा आधा मात्रै

लाइसेन्स प्राप्त गर्न नेपालगन्ज धाउनुपर्ने बाध्यता कायमै

मुना हमाल,
सुर्खेत : सुर्खेतमा यातायात व्यवस्था कार्यालय स्थापना भएको लामो समय बितिसक्दासम्म पनि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) दिने काम भने सुरू हुन सकेको छैन । कार्यालय स्थापना भएपनि पूरा सेवा नदिदा सवारी चालक अनुमति–पत्र लिन नेपालगन्ज जानुपर्ने बाध्यता भने कायमै रहेको छ ।

वीरेन्द्रनगरमा रहेको यातायात व्यवस्था कार्यालयलाई सवारी चालक अनुमति–पत्र अर्थात लाइसेन्स वितरण गर्ने अधिकार दिइएको छ । तर कार्यालयले उक्त सेवा शुरू गर्न भने सकेको छैन । पाएको अधिकार कार्यान्वयन नहुँदा प्रदेश नं. ५ को नेपालगन्जमा जानुपर्ने बाध्य नहटेको हो । कार्यालयले लाइसेन्स वितरण नगर्दा आफूहरूले नेपालगन्ज गएर लाइसेन्स लिनुपर्ने बाध्यता रहेको सेवाग्राहीले गुनासो गरेका छन् । वीरेन्द्रनगर–७ की मौसमी शाहीले सबै कार्यालय आफ्नै प्रदेशमा स्थापना भएपछि बाहिर जानुपर्ने बाध्यता हट्ने अपेक्षा भएपनि अहिलेसम्म यातायात कार्यालयले लाइसेन्स वितरण गर्न समेत नसकेको बताईन् । जसले गर्दा आफूहरू नेपालगन्ज जानुपर्ने बाध्यता नहटेको उनको भनाइ छ ।

लाइसेन्स प्राप्त गर्न कर्णालीवासीले निकै झन्झटिलो प्रक्रिया अपनाउनुपर्ने बाध्यता रहेको छ । ‘लाइसेन्स बनाउन जान चार–पाँच पटक धाउनुपर्छ । चार–पाँच महिना नै लाग्छ । खर्चका हिसाबले पनि बढी लाग्छ’ शाहीले भनिन्, ‘सुर्खेतबाटै लाइसेन्स वितरण भइदिए सजिलो हुन्थ्यो ।’ सुर्खेतबाट लाइसेन्स वितरण नहुँदा कर्णालीबासीले सास्ती भोगेका छन् भने अर्कोतर्फ कर्णालीले पाउनुपर्ने राजश्व पनि बाहिरिएको छ । हाल जुम्लाबाट लाइसेन्स वितरण गरिएपनि सबै जिल्लाका सेवाग्राहीलाई त्यहाँ जान पायक पर्दैन । चौकुने गाउँपालिकाका जगत ढकालले यहाँबाट लाइसेन्स वितरण नहुँदा नागरिकले सास्ती पाउनुका साथै कर्णालीको राजश्व पनि बाहिरिएको बताए । साबिकको कर्णालीका जिल्लाबाहेक दैलेख, रूकुमपश्चिम, जाजरकोट, सल्यान र सुर्खेतका नागरिकहरू अझै पनि लाइसेन्स बनाउन नेपालगन्ज जाने गर्दछन । देश संघीय संरचनामा गइसकेपछि पनि आफ्नै प्रदेशमा पाउनुपर्ने सेवा सुविधा अर्को प्रदेशमा गएर लिनुपरेकाले आफूहरू सेवासुविधाबाट बन्चित हुनुपरेको उनको भनाई छ ।

यातायतात व्यवस्था कार्यालयले आवश्यक पूर्वाधार र जनशक्तिको अभावले लाइसेन्स वितरण गर्न नसकेको जनाएको छ । अहिले कार्यालयले लाइसेन्स नवीकरण, सवारी साधन जाँच, रूटपर्मिट लगायतको काम गर्दै आएको छ । ६ बर्षअघि स्थापना भएको यातायात सेवा कार्यालय प्रदेश सरकारले गरेको ‘ओएनएम’ पछि यातायात व्यवस्था कार्यालय भएको छ । यातायात सेवा कार्यालय हुँदा नै लाइसेन्स वितरण गर्ने अधिकार पाएपनि आवश्यक पूर्वाधार र जनशक्तिको अभावले वितरण गर्न नसकिएको कार्यालयका प्रमुख सुनिल लिम्बुले जानकारी दिए । ‘पुर्वाधार र जनशक्तिको आभावले गर्दा उक्त सेवा दिन नसकिएको हो’ उनले भने, ‘अब जतिसक्दो छिटो लाइसेन्स सुर्खेतबाट वितरण गर्ने तयारीमा छौं ।’ कार्यालयले निजी कम्पनीसँग समन्वय गरेर लाइसेन्स वितरण गर्ने तयारी गरिरहेको उनले जनाए । अब छिटै निजी कम्पनिसँग सम्झौता गरेर लाइसेन्स वितरणको तयारी भएको प्रमुख लिम्बुले जानकारी दिए । यसका लागि कार्यालयले बुद्ध मोटर ड्राइभिङ सेन्टरसँगग समन्वय गरिरहेको छ ।

‘कर्णालीमा प्राविधिक जनशक्तिको अभाव छ । यहाँ कर्मचारी आउनै मान्दैनन् । हामीले जनशक्तिको पदपूर्ति भएपछि अब नीजि कम्पनीसँग सम्झौता गरेर भएपनि लाइसेन्स वितरण गर्ने तयारी गरेका छौँ’ उनले भने । सकेसम्म तिहारलगत्तैबाट लाईसेन्स वितरणको कार्य सुरूवात गर्ने तयारी रहेको कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः   ४ कार्तिक २०७६, सोमबार ०९:३०