हाम्रो अबको लक्ष्य र अठोट
महाकवि लक्ष्मीप्रसाद देवकोटाले चन्द्रमा छुने सपना नदेखेको भए चन्द्रमामा पुग्ने चेष्टा मानवले गथ्र्यो कि गर्थेन ? यो बहसको विषय हुन सक्ला । देवकोटाले चन्द्रमामा पुग्ने आफ्नो सपनालाई कवितामार्फत् भए पनि सार्वजनिक गरे । उनले आफै त चन्द्रमा छुने मौका पाएनन्, तर मानवले अहिले उनको त्यो सपना पूरा गरिदिएको छ ।
हरेक कार्यमा सफलता प्राप्त गर्न सपना देख्नु पर्दछ । हामीले पनि आजभन्दा सात वर्ष पहिला एउटा सपना देख्यौं । हाम्रो सपना सुर्खेतबाट एउटा पत्रिका प्रकाशित गर्नु थियो । सुरुवातमा नै दैनिक पत्रिका सञ्चालन गर्ने रहर नभएको होइन । तर अनेकौं चुनौतीका कारण मासिकबाट हाम्रो यात्रा सुरु भयो । दैनिक प्रकाशनको यात्रामा पुग्नका लागि मासिक र साप्ताहिकको खुड्किला पार ग¥यौं । दुई वर्ष पहिला दैनिक प्रकाशन गर्ने आँट ग¥यौं । दैनिक प्रकाशन गर्नु सहज थिएन । कारण हामीले जिल्लामा सञ्चालन भइरहेका अन्य सात वटा दैनिक पत्रिकासँग प्रतिस्पर्धा गर्दै आफूलाई सवल र सक्षम बनाउनुपर्ने अवस्था थियो । हामीले हिम्मत हारेनौं । आफ्नो सपना पूरा गर्न दैनिक प्रकाशनको यात्रा आरम्भ ग¥यौं ।
पत्रकारितालाई ढाल बनाएर आफ्नो स्वार्थ पूरा गर्न खोज्नेहरुसँग हामी टाढा छौं । पत्रिकालाई कसैको मुखपत्र बन्न दिनुहुन्न भन्नेमा पनि हामी सचेत छौं । हरेक नागरिकको आवाज बन्नका लागि हामीले प्रयास जारी राखेका छौं ।
साझा बिसौनी मासिक, साप्ताहिक र दैनिक हुँदै ६ वर्ष पूरा गरेर आजदेखि सातौं वर्षमा प्रवेश गरेको छ । यस्तै दैनिक प्रकाशन सुरु गरेको आज (बुधवार) दुई वर्ष पूरा भएको छ । दुई वर्ष पहिला दैनिक प्रकाशन सुरु गर्दा जुन उत्साह हामीमा थियो, त्यो भन्दा बढी उत्साह र जाँगर आजको दिनमा पैदा भएको छ । जिल्लामा स्थापित भइसकेका अन्य सात वटा पत्रिकासँग प्रतिस्पर्धा गर्दै अगाडि बढ्ने काम हाम्रो लागि त्यति सहज थिएन । हामीले दैनिक प्रकाशनको सुरुवात गर्ने तयारी गरिरहँदा धेरैले सुर्खेतमा पत्रिका सञ्चालन गर्न कठिन भएको र विज्ञापन बजार पनि सानो भएको भन्दै दैनिक प्रकाशन गर्न असम्भव भएको सल्लाह नदिएका होइनन् । तर हामी आउन सक्ने हरेक चुनौतीको सामना गर्न तयार भयौं ।
आजको दिनसम्म आउँदा हामीले आफ्नो जिम्मेवारी र समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात् गर्ने अधिकतम प्रयास गरिरहेका छौं । पत्रिका प्रकाशन गरेर मात्र हुँदैन, त्यसलाई आम पाठकको रुचि अनुसार निरन्तर रूपमा प्रकाशन गर्नु आवश्यक हुन्छ । हाम्रो अठोटका कारण नै आजको दिनसम्म पत्रिकाले कसैको दबाब र रवाफमा पर्नु परेको छैन । पत्रकारितालाई ढाल बनाएर आफ्नो स्वार्थ पूरा गर्न खोज्नेहरूसँग हामी टाढा छौं । पत्रिकालाई कसैको मुखपत्र बन्न दिनुहुन्न भन्नेमा पनि हामी सचेत छौं । हरेक नागरिकको आवाज बन्नका लागि हामीले प्रयास जारी राखेका छौं ।
पत्रिका प्रकाशनमा काम गर्ने व्यक्तिहरूको आस्थालाई आधार मानेर पत्रिकालाई पनि त्यही राजनीतिक दलसँग जोड्ने गरिन्छ । यो परिपाटी अहिले पनि छ । पत्रिकामा काम गर्ने व्यक्ति कुनै विचारमा आस्था राख्न सक्छ, तर कुनै एउटा मात्र विचार, आस्था, दल र समूहको स्वार्थमा पत्रकारितालाई केन्द्रित गर्नु हुन्न भन्ने मान्यतामा हामी अडिग छौं । आजसम्मको दौडानमा हामीले यो मान्यतालाई व्यवहारमा नै उतारेका छौं । आगामी दिनमा समेत यसको मूल्याङ्कन गर्ने जिम्मा तपाईं पाठकहरूलाई नै छोडेका छौं । सामाजिक उत्तरदायित्वसहितको पत्रकारिता हाम्रो मूल मन्त्र हो । यही मान्यताका आधारमा हामी अबको यात्रामा अगाडि बढ्ने अठोट गर्दछौं । जस्तोसुकै कठिन अवस्था आए पनि हामी सत्यलाई ढाकछोप र तोडमोड गर्नेछैनौं । यो वा त्यो बहानामा कुनै विचार र आस्थालाई फाइदा पुग्ने गरी हामी प्रयोग हुनेछैनौं । समाजलाई उत्प्रेरणा दिने खालका शिक्षा र विकासका मुद्दालाई हामी प्राथमिकता दिने प्रण गर्दछौं । सुर्खेतमा मात्र नभएर दैलेख र कालिकोटमा समेत हाम्रो पहुँच बलियो बन्दै जानुले पनि हामीलाई थप हौसला मिलेको छ । अब छिमेकी जिल्ला जाजरकोटमा समेत हामी विस्तार हुने योजनामा छौं । पाठकको माग अनुसार पत्रिका पु¥याउन नसकिएको अवस्था अहिले पनि छ । अब यसलाई सुधार गर्दै सबैको हातमा पत्रिका पु¥याउनेतर्फ हाम्रो ध्यान केन्द्रित हुनेछ ।
पाठकहरूकै माग र सुझावका आधारमा हामी पत्रिकामा प्रकाशन हुने सामग्रीहरूलाई आउँदा दिनमा परिमार्जन गर्दै लैजाने छौं । जसरी अघिल्लो वर्ष सुर्खेतमा सञ्चालन भएको अखण्ड मध्यपश्चिमको आन्दोलनमा हामीले जनभावनालाई आत्मसात् ग¥यौं । जनताको पक्षमा आफ्ना सामग्रीहरू खरो रूपमा प्रस्तुत ग¥यौं । आउँदा दिनमा प्रदेश नम्बर ६ को राजधानी सुर्खेतलाई बनाउनुपर्ने नागरिकको भावनालाई साथ दिने हाम्रो कार्यभार हुनेछ । सुर्खेतलाई प्रदेशको राजधानी बनाउने अभियानमा हामी नेतृत्वदायी भूमिका निर्वाह गर्दै राजधानी बन्नका लागि चाहिने सम्भावनाहरूको खोजीमा समेत क्रियाशील हुनेछौं । अर्कोतर्फ सुर्खेत प्रदेशको राजधानी बन्दा त्यसलाई धान्न सक्ने मिडिया हाउस आवश्यक छ । सुर्खेतमा आजसम्म रंगिन पत्रिका प्रकाशन हुन नसक्नु विडम्बना हो । पाठकको चाहना र जिल्लाको आवश्यकतालाई मध्यनजर गर्दै रंगिन पत्रिका प्रकाशन गर्ने सोच हामीमा पैदा भएको छ । हामी निकट भविष्यमा नै हामी यो लक्ष्य पूरा गर्ने अठोटका साथ अगाडि बढिरहेका छौं । यस्तै रेडियो तथा टेलिभिजन सञ्चालन गरेर जनतालाई प्रभावकारी सूचना प्रवाह गर्ने सशक्त मिडिया हाउसको रूपमा स्थापित हुने हाम्रो दीर्घकालीन लक्ष्य रहेको छ । अन्त्यमा, सत्यता र तटस्थताको पक्षमा लड्ने हाम्रो अभियान जारी नै रहनेछ । धन्यवाद ।
साझा बिसौनी संवाददाता ।