सहिद परिवारको अपेक्षा, राजधानी नगुमोस्

1

साझा बिसौनी दैनिक
सुर्खेत, २८ असार ।
वीरेन्द्रनगर–३ निवासी टीकाराम गौतम न कुनै पार्टीको नेता थिए न त कुनै दलको सक्रिय सदस्य । उनी सामान्य मजदुरी गर्थे । अघिल्लो वर्ष साउनमा अखण्ड मध्यपश्चिमको माग गर्दै सुर्खेतमा भएको प्रदर्शनमा सहभागी भए । सोही क्रममा साउन २५ गते उनको छातीमा प्रहरीको गोली लाग्यो । परिवारसँग साँझ घर फर्कने बाचा गरेका उनी घर फर्कन पाएनन् । मध्यपश्चिम टुक्राएको मन नपराएका उनले प्रदेशको राजधानी सुर्खेत हुनुपर्छ भन्ने माग पूरा गराउन आफ्नो ज्यान नै दिए ।
अघिल्लो वर्ष साउनमा मध्यपश्चिमका जिल्लाहरू टुक्र्याइएको विरोध गर्दा वीरेन्द्रनगर–७ का युवा यामबहादुर बिसीले पनि ज्यान गुमाए । सुदूरपश्चिममा गाभिएका जिल्लाहरू फिर्ता हुनुपर्ने र प्रदेशको राजधानी सुर्खेत नै हुनुपर्ने आवाज बुलन्द गरेकै कारण उनको पनि छातीमा गोली हानियो । उनी घटनास्थलमै ढले । गुमेका १० जिल्लाहरू त फिर्ता भए, तर उनी कहिल्यै नफर्कने गरी बिदा भए । सुर्खेती जनता र यस क्षेत्रले आफ्नो गुमेको पहिचान र भू–भाग त फिर्ता पायो । तर बिसी परिवारले भने असल छोरा सदाका लागि गुमाउन पुग्यो । प्रहरीले आन्दोलनमाथि दमन गर्दै अन्धाधुन्दा गोली प्रहार गर्दा दुई जना र मंगलगढी नजिकको भागदौडमा परेर वीरेन्द्रनगर–४ का गोपालसिं रजवारको पनि मृत्यु भयो ।
आन्दोलनमा ज्यान गुमाएका तीनै जनाको कुनै व्यक्तिगत स्वार्थ थिएन । आफ्नो वा परिवारको स्वार्थपूर्तिका लागि उनीहरू सडकमा ओर्लिएका थिएनन् । उनीहरू केवल सिङ्गो मध्यपश्चिम अखण्ड भएको र त्यसको राजधानी सुर्खेत कायम भएको हेर्न चाहन्थे । सुर्खेत राजधानी हुनपर्ने माग गर्दै हजारौं नागरिक सडकमा आएपछि उनीहरूले पनि त्यसमा साथ दिए । राजधानीको माग गर्दा गौतम, बिसी र रजवारले आफ्नो ज्यान गुमाउनुप¥यो । उनीहरूले बगाएको रगतको बलमा गुमेका जिल्लाहरू प्राप्त भए । तर जसको रगतसँग साटेर छैठौं प्रदेश स्थापना भयो, आज उनीहरू नै ओझेलमा परेका छन् । आन्दोलनकै बलमा दलहरू नयाँ प्रदेश घोषणा गर्न बाध्य भए । प्रदेश घोषणा भएपछि विजय जुलुस निस्के, सबैले आन्दोलनमा ज्यान गुमाएकाहरूलाई सहिद घोषणा गराउने प्रतिबद्धता जनाए । शालिक निर्माण र चौकमा नामाकरण गर्ने उद्घोष पनि भयो । तर आन्दोलनले सफलता प्राप्त गरेको एक वर्ष पुग्नै लाग्दा आन्दोलनमा ज्यान गुमाएकाहरू न सहिद भए, न त उनीहरूका शालिक नै बने । बरु मृतकका आफन्तहरूलाई सुर्खेत राजधानी नहुने हो कि भन्ने चिन्ता बढेको छ ।
आन्दोलनमा ज्यान गुमाएका तीनै जनाको परिवारलाई अहिलेसम्म कसैले सम्झेका छैनन् । मृतकका आफन्तहरूले आफूहरूको अपमान भएको गुनासो गरेका छन् । आन्दोलनका नेतृत्वकर्ता र राज्य दुवै पक्षबाट आफूहरूलाई बेवास्ता गरिएको उनीहरूले पीडा पोखे । आन्दोलनका क्रममा ज्यान गुमाएका टीकाराम गौतमका पत्नी दुर्गादेवी गौतमले भनिन्, ‘आन्दोलमा हामीले घरको मूली गुमायौं, श्रीमान्को रगतले नै यो क्षेत्रले छैठौं प्रदेश पायो । तर जसको रगतले नयाँ प्रदेश स्थापना भयो, आज उनीहरूलाई नै अपमान गरिंदैछ ।’ ‘आन्दोलन सफल नहुँदासम्म सबैले घरमै आएर धेरै आश्वासन दिए, जब हामीले मृतकको दाहसंस्कार ग¥यौं त्यसपछि भने कोही पनि फर्केर आएका छैनन्’ आन्दोलनमा मारिएका गौतमका छोरा अमृत गौतमले भने, ‘अहिलेसम्म सहिद घोषणा गरिएको छैन, शालिक बनाउँछौं भन्थे त्यो पनि छैन ।’ राज्य र दलहरूबाट आफूहरूलाई उपेक्षा गरिएको यो परिवारको गुनासो छ । दुर्गादेवीले भनिन्, ‘हाम्रो चाहना सुर्खेत राजधानी होस् भन्ने हो, तर अहिलेकै अवस्थामा त हामीलाई आशंका छ । अरु कुरा जे सुकै होस्, कुनै पनि हालतमा सुर्खेत राजधानी बन्नुपर्छ ।’
गौतमको परिवारलाई मात्र होइन, बिसी परिवारलाई पनि छोरा गुमेको पीडासँगै सुर्खेत राजधानी नहुने हो कि भन्ने पिरलो छ । यो परिवार यतिबेला दोहोरो पीडामा छ । सरकारले राहत स्वरूप दिएको १० लाख रूपैयाँ लिएर बुहारी (मृतक यामबहादुरकी श्रीमती) घरबाट निस्किएपछि उनीहरू पीडित बनेका हुन् । मृतक बिसीका बुबा शेरबहादुर बुढाले भने, ‘मेरो छोरो रहरले सडकमा गएको थिएन, सुर्खेत राजधानी हुनुपर्छ भन्थ्यो । उसको रगत खेर नजाओस्, यहाँका पार्टी र जनताले यो कुरा नबिर्सुन् ।’ हालसम्म सहिद घोषणा नगरिएको र राजधानी पनि नबनेको भन्दै उनले दुःख पोखे । ‘मेरो एउटा छोरो गुम्यो, अब यस क्षेत्रका अरु हजारौं छोराछोरीले दुःख नपाउँन्’ मृतक बिसीकी आमा इन्द्रमाया बुढाले भनिन्, ‘उतिबेला सहिद बनाउँछौं, शालिक बनाउँछौं भने, तर अहिलेसम्म हामीलाई भेट्नसमेत कोही आएका छैनन् ।
हामी त छाती फुलाएर हिँड्न सक्नुपर्ने हो, अब सबै मिलेर सुर्खेतलाई राजधानी बनाउनेतर्फ लागौं ।’ छोरा गुमाउनुको पीडा हुँदाहुँदै सुर्खेत राजधानी बनेको खण्डमा सबैभन्दा ठूलो खुशी प्राप्त हुने यो परिवार बताउँछ । इन्द्रमाया भन्छिन्, ‘हाम्रा आफन्तको रगत खेर नजाओस्, तत्काल मृतकलाई सहिद घोषणा गरियोस् ।’
आन्दोलनको सफलतामा जस लिनका लागि प्रतिस्पर्धा नै गरेका यहाँका राजनीतिक दल र नागरिक आन्दोलन सङ्घर्ष समितिले प्रभावकारी भूमिका निर्वाह नगर्दा आन्दोलनमा आफन्त गुमाएकाहरू निराश बनेका छन् । आन्दोलनमै ज्यान गुमाएका रजवारको परिवार पनि यतिबेला निराश बनेको छ । मृतक रजवारकी बुहारी अञ्जुले भनिन्, ‘रगतको अवमूल्यन भयो, अहिले सबै मौन बसेका छन् । सामूहिक मुद्दामा उहाँहरूको ज्यान गएको हो, अब सबै मिलेर राजधानी बनाउने अभियानमा लागौं ।’ आन्दोलन सफल भएको एक वर्ष पुग्नै लाग्दा मृतकका आफन्तहरू भने सुर्खेतलाई यो प्रदेशको राजधानी बनाउने अभियानलाई सशक्त बनाउनुपर्ने बताउँछन् । सुर्खेतमा राजधानी बनाउनका लागि सबै सम्भावनाहरू रहेको र अब राजनीतिक इच्छाशक्ति बलियो हुनुपर्ने उनीहरूको भनाइ छ । सुर्खेतमा राजधानी स्थापना भए मात्र आफ्ना आफन्तले बगाएको रगतको सम्मान हुने भन्दै उनीहरूले यसमा साथ दिन सबैसँग आग्रह गरेका छन् ।

प्रकाशित मितिः   २९ असार २०७३, बुधबार ०३:२४