साझा बिसौनी दैनिकसँगको मेरो सहयात्रा

dinesh
दिनेश गौतम

सधैं कुनै विषयमा आफ्ना कुराहरू, आफ्ना विचारहरू, आफ्ना धारणाहरू, आफ्ना मनोकांक्षाहरू, आफ्ना अनुभवहरू आफैमा मात्र लुकाइरहनुपर्ने हुँदैनन् । ती कुनै न कुनै रूपमा समाजसँग सम्बन्धित हुन्छन् र समाजसँग सम्बन्ध राख्ने सम्पूर्ण पक्षसँग त्यसलाई साक्षात्कार गराउनु जरुरी हुन्छ । त्यस्ता कुराहरू अन्यपक्ष समक्ष व्यक्त गर्नु आवश्यक हुन्छ । यसको लागि एउटा उपयुक्त माध्यम हो, स्तम्भलेखन । स्तम्भलेखन विचारको प्रवाह हो, स्तम्भलेखन असहज व्यवहारप्रतिको आपत्ति हो र सहज व्यवहारको प्रशंसा पनि ।
साझा बिसौनी दैनिकले छैठौं वर्ष पूरा गरी सातौं वर्ष प्रवेश गरेको अवसरमा मैले मेरो स्तम्भ लेखनको यात्रालाई सरसर्ती स्मरण गरी आफ्नो अनुभूतिलाई शब्दमार्फत् व्यक्त गर्ने प्रयास गरेको छु । किनभने मेरो स्तम्भलेखनको औपचारिक सुरुवात साझा बिसौनी दैनिकबाटै भएको हो ।
पहिले–पहिले पनि कहिले काहीं सुर्खेतबाट प्रकाशित पत्रिकामा लेख रचना लेख्दै आएको थिएँ । तर मैले औपचारिक रूपमा वि.सं. २०७२ वैशाख १४ बाट साझा बिसौनी दैनिकमा हरेक सोमवार स्तम्भ ‘पर्यालोचन’ सुरु गरें । पर्यालोचनको अर्थ समालोचना हुन्छ । आफूले देखेका, भोगेका, सुनेका, बुझेका कुराहरूलाई सुक्ष्म विश्लेषण गर्ने र त्यसका सकारात्मक पक्षको प्रशंसा गर्दै नकारात्मक कुराहरू सुधारको लागि आव्हान गर्ने मेरो प्रयत्न थियो त्यतिबेला पनि र अहिले पनि त्यही प्रयत्न कायम छ ।
यसबीचमा करिब १५ महिना बितिसकेको छ र मैले आफ्नो स्तम्भको नामलाई न्याय गर्न सकेको महसुस आफूले गरेको छु । कहिले काहीं त्यस्तो विशेष अवस्थामा बाहेक राष्ट्रिय राजनीतिमा घटित घटनाहरूभन्दा पनि स्थानीयस्तरमा भइरहेका गतिविधिहरूको बारेमा लेख्नुमा आदत बसिसकेको छ । राम्रा कुराहरू छन् भने स्थानीय क्षेत्रमा त्यसको प्रशंसा हुनैपर्दछ र केही नराम्रा कुराहरू पनि छन् त्यसको आलोचना गर्न पनि सक्नुपर्दछ । मैले आफ्नो स्तम्भ लेखनको दायरा यसलाई नै मानेकाछु । खासगरी विचार भन्दा पनि घटनाको विश्लेषण गर्न रुचिको विषय बन्न पुगेकोछ । यो लेखन निरन्तर रहिरहनेछ, जतिञ्जेल त्यसको लागि सक्षम भइनेछ भौतिक तथा मानसिक रूपमा ।
अहिलेसम्म करिब १५ महिनाको अवधि छोटो भए पनि स्तम्भ लेखनसँग सम्बन्धित मेरा तितामिठा घटना स्मृतिमा ताजै छन् । यिनलाई बिर्सन सकेको छैन र बिर्सन आवश्यक पनि छैन । यस्ता घटना लेखनलाई झनै तिर्खादै र निर्खादै लैजानको लागि थप ऊर्जाको स्रोत हुन् । केही समय अगाडि मध्यपश्चिम क्षेत्रीय अस्पतालमा पुग्दा त्यहाँको औषधि वितरण कक्षमा बस्ने एक कर्मचारीले टाढाको गाउँबाट आएकी वयोवृद्धा महिलालाई गरेको अपमान मेरो लागि लेखनको गतिलो विषय बन्न पुग्यो । मैले ‘यतिसम्म बेहाल ः क्षेत्रीय अस्पताल’ शीर्षकमा स्तम्भ लेखेकै दिन दिँउसो त्यो घटनासँग सम्बन्धित ती कर्मचारी मलाई ‘लेख्न सिकाउन’ घरमै आइपुगे । उनका अनुसार, उनी यहाँको कुनै ठूलै नेताको छोरा थिए, त्यसैले उनलाई जे पनि गर्न छुट थियो सायद । त्यो कुरालाई मैले अतिरञ्जित गर्न चाहिँन र त्यो सामथ्र्यबाहिरको कुरा पनि थियो । उनले ती महिलासँग बोलेका शब्दहरू मैले रेकर्ड नै गरेको थिएँ र जस्ताको त्यस्तै लेखिदिएको थिएँ । म भन्दिनँ, मैले त्यो कुरा स्तम्भ लेखेर कुनै ठूलो काम गरें तर अहिले क्षेत्रीय अस्पतालमा उनी मानिसहरूसँग कुरा गर्दा थोरै पनि होसियार हुन्छन् होला । यो भन्दा ठूलो आत्मसन्तुष्टी के हुनसक्छ र एउटा लेखकको लागि ? यो घटना मेरो लेखनको फरक र जटिल अनुभवको रूपमा रहेको छ । त्यसपछि मलाई स्थानीय घटनासँग जोडिन निकै रुचि भयो । खासगरी नगरको सरसफाइ, ट्राफिक व्यवस्थापन, सडकको अवस्था र विभिन्न कार्यालयहरूमा हुने असभ्य व्यवहार जस्ता विषयहरू रुचिका विषय बन्न पुगे । यस्तै विषयमा लेख्दै गएँ , निरन्तर लेख्दै गएँ । अहिले पनि लेख्दैछु र यो क्रम जारी नै रहनेछ ।
यसबाहेक समृद्ध देशको चाहना, यस क्षेत्रको विकासको सवालमा पनि लेख्नको लागि रुचिका विषय बन्न पुगे । पहिला–पहिला पत्रिकाको मध्यपृष्ठ मानिसहरू राशीफल हेर्नको लागि मात्र फर्काउँथे तर अहिले समय फेरिएको छ । पाठकहरू अर्काको विचारहरू पढ्न सक्ने भएकाछन् । उनीहरू यस्ता विषयमा रुचि दिन सक्छन् । नयाँ मान्छेहरू चिनिने क्रममा जो मसँग परिचय हुन पुगेका छन् । त्यसमध्ये अधिकांशले मेरो परिचय ‘पत्रिकामा लेख्ने मान्छे’ भन्ने बुझेका छन् । स्तम्भ लेखनकै कारण धेरै व्यक्तिहरूसँग सम्बन्ध स्थापना भएको छ । स्तम्भ लेखनकै कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमहरूसँग अद्यावधिक हुन सकिएको छ । स्तम्भ लेखनकै कारण लेखनशैलीमा विस्तारै परिपक्व बन्दै गएको छ । समग्रमा मेरो व्यक्तिगत अनुभवमा स्तम्भ लेखनकै कारण एउटा फरक परिचय बन्न पुगेको छ ।
मलाई स्तम्भ लेखनका लागि अवसर दिने साझा बिसौनी दैनिकप्रति आभारी छु । छोटो समयमा नै यस पत्रिकाले जुन ख्याती कमाएको छ त्यसले गर्दा साझा बिसौनीको स्तम्भकारको रूपमा आफ्नो परिचय दिन पाउँदा खुशी लाग्छ । मोफसलमा रहेर पनि नियमित स्तम्भ सञ्चालन गर्ने र जिल्लाकै लेखकहरूलाई स्तम्भ लेखनका लागि प्रेरित गर्ने यस पत्रिकाको कार्य स्रहानीय छ । लेखकहरूलाई पारिश्रमिक दिने साझा बिसौनीको सुरुवात प्रशंसायोग्य छ ।
अन्त्यमा, साझा बिसौनी दैनिक छैठौं वर्ष पूरा गरी सातौं वर्ष प्रवेश गरेको अवसरमा यस दैनिकको थप सफलताको शुभकामना ।

प्रकाशित मितिः   २९ असार २०७३, बुधबार ०३:४७