६ सय सहसचिव र उपसचिव माग
सुर्खेत : लोकसेवा आयोगले ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा विज्ञापन खुलाएको छ । ती पदका लागि ६ सय संख्याको विज्ञापन बुधवार प्रकाशन गरिएको हो । आयोगका अनुसार यति ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा विज्ञापन खुलाइएको यो पहिलो पटक हो ।
दुई वर्षदेखि आयोगले ती पदमा विज्ञापन खुलाएको थिएन । आयोगले बढुवा र प्रतियोगिता गरी दुई प्रणालीबाट विज्ञापन खुलाएको छ । बढुवामा पनि दुई प्रणाली अपनाइएका छन् । जसमा कार्यसम्पादन मूल्यांकन र अनुभव तथा कार्यसम्पादन तथा अनुभवलाई आधार बनाइएको छ । प्रतियोगितामा पनि दुई प्रणाली नै अपनाइएका छन् । जसमा आन्तरिक र खुला प्रतियोगितालाई आधार बनाइएको छ ।
खुला प्रतियोगितमा सहसचिवमा ४१ र उपसचिवमा २२ पदमा विज्ञपान माग गरेको छ । निजामती सेवा बाहिर रहेकाले खुला प्रतियोगितामा ती पदमा आवेदन दिन चाहे उपसचिव पदमा संगठित संस्थामा कम्तीमा पाँच वर्ष अधिकृत तहमा काम गरेको अनुभव र सहसचिव पदमा कम्तीमा सात वर्ष अधिकृत तहमा काम गरेको अनुभव हुनुपर्ने व्यवस्था राखिएको आयोगले जनाएको छ ।
निजामती सेवा बाहिर रहेका व्यक्तिले सहसचिव र उपसचिवमा आवेदन दिन चाहे भने उमेरको हद ४५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ । सरकारी स्कुल, कलेज, संस्थान, सामुदायिक कलेज, सामुदायिक स्कुल लगायत संगठित संस्थामा अधिकृत तहमा कम्तीमा पाँच र सात वर्ष काम गरेकाले उपसचिव र सहसचिवमा आवेदन दिन सक्ने व्यवस्था गरिएको आयोगले जनाएको छ ।
आयोगले कार्तिकको अन्तिम बुधवार ठूलो संख्यामा अधिकृत तहमा विज्ञापन निकाल्ने तयारी गरेको छ । यसैगरी मंसिरको अन्तिम बुधवार नायब सुब्बा र खरिदार तहमा विज्ञापन खुलाउनेछ । स्थानीय तहका लागि सुरू गरिएको कर्मचारी भर्ना प्रक्रिया अन्तिम चरणमा पुगेका बेला लोकसेवा आयोगले संघका लागि नयाँ भर्ना प्रक्रिया सुरू गर्ने तयारी गरेको छ । आयोगले करिब पाँच हजार रिक्त दरबन्दीमा नयाँ भर्ना प्रक्रिया सुरू गर्ने तयारी गरेको छ ।
संघीय तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि नै उपसचिव र सहसचिव पदका लागि आयोगमा विवरण पठाएको हो । मन्त्रालयका अनुसार संघका लागि करिब पाँच हजार रिक्त पद छन् । समायोजन प्रक्रिया टुंगिएपछि आयोगले नयाँ भर्ना प्रक्रिया सुरू गरेको हो । आयोगले प्रशासन, लेखा, इन्जिनियरिङ, परराष्ट्रलगायतका सेवामा विज्ञापन खुलाएको हो । मन्त्रालयले तीन तहका सरकारका लागि एक लाख ३१ हजार कर्मचारीको समायोजनको काम पूरा भएको बताएको छ । मन्त्रालयका अनुसार संघमा स्वीकृत ४८ हजार चार सय नौ दरबन्दीमा ३९ हजार नौ सय ६० कर्मचारीको समायोजनको काम पूरा भएको छ । आयोगले गत असारदेखि स्थानीय तहका लागि करिब नौ हजार रिक्त दरबन्दीमा कर्मचारी भर्ना प्रक्रिया अघि बढाएको छ ।
कार्तिकभित्र रिक्त रहेका स्थानीय तहमा नयाँ कर्मचारी सिफारिस गर्ने तयारी गरिएको आयोगले जनाएको छ । निजामती सेवा ऐन २०४९ अनुसार आयोगले विज्ञापन खुलाएको हो । निजामती सेवा ऐन २०४९ लाई विस्थापित गर्न बनेको संघीय निजामती सेवा ऐन हाल संसद्को राज्य व्यवस्था समितिमा विचाराधीन अवस्थामा छ ।
नयाँ ऐन नआएकाले आयोगले करिब १८ वर्ष पुरानो प्रशासन कानुन अनुसार सहसचिव र उपसचिव पदमा खुला प्रतिस्पर्धाका लागि विज्ञापन आह्वान गरेको हो । निजामती सेवा ऐन २०४९ मा सहसचिव र उपसचिवमा खुला प्रतिस्पर्धाका लागि १० प्रतिशत कोटा छुट्याउनुपर्ने व्यवस्था छ । नयाँ कानुनमा सहसचिव र उपसचिवमा खुला प्रतिस्पर्धामा कस्तो व्यवस्था राख्ने भन्नेबारे राज्य व्यवस्था समितिमा बहस र छलफल भइरहेको छ ।
प्रकाशित मितिः १ कार्तिक २०७६, शुक्रबार १०:४६
साझा बिसौनी ।